पर्बतको जलजलामा नि:शुल्क मुटु तथा मृगौला रोग परिक्षण

पर्वत । जलजला गाउँपालिकामा सञ्चालन भएको एक दिने स्वास्थ्य शिविरमा ७ सय ५० को स्वास्थ्य परीक्षण भएको छ । छिमेकी जिल्ला म्याग्दी तथा बाग्लुङका सर्वसाधारणको समेत स्वास्थ्य परीक्षण गरिएको ‘मुटु जोगाउँ’ संस्थाका महासचिव शेरबहादुर रानाले जाकारी दिए । शिविरमा ४ सय ६७ जनाको ईसीजी, २६३ जनाको ईकोकार्डियोग्राफी तथा करिब ७ लाख ५० हजार बराबरको निशुल्क औषधीसमेत बितरण गरिएको उनले जानकारी दिए ।

शिविरमा त्रिवि शिक्षण अस्पतालका बरिष्ठ मृगौलारोग बिशेषज्ञ प्रा.डा.दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. अभिषेक मास्केले मृगौला रोगको परिक्षण गरेका थिए भने प्रा.डा. शाहका अनुसार लगभग ६५ जनामा मृगौलाको समस्या देखिएको थियो ।

त्यस्तै सो शिविरमा मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक बरिष्ठ मुटुरोग बिशेषज्ञ प्रा.डा. रत्नमणि गजुरेल, सीटिभीएस डिपार्टमेन्ट हेड बरिष्ठ मुटुरोग बिशेषज्ञ प्रा.डा.अनिल भट्टराई, उप-प्रा. डा. प्रभात खाकुरेल, उप-प्रा.डा.सूर्य देवकोटा, डा. युना श्रेष्ठ, डा. मदन ज्ञवाली, डा. सुदिप पराजुली तथा मेडिकल अफिसर डा. संगम शाह, डा. श्रेया श्रेष्ठ तथा डा. प्रतिकमणि गजुरेलको उपस्थिति रहको थियो । प्रा.डा.अनिल भट्टराईले १७ जना जटिल मुटुरोगको समस्या देखिएको हुँदा मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरिएको जानकारी दिए ।

जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सो शिविरमा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले स्वागत गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले गाउँपालिकाको बासिन्दालाई लक्षित गरि यो शिविर आयोजना गरिएको भएता पनि अन्य जिल्ला समेतका बासिन्दाले सेवा पाएकोमा यो शिविर फलदायी रहेको मन्तव्य राखेका थिए ।

गाउँपालिकाका अध्यक्षले शिविर सञ्चालन गर्न सहयोग गर्ने मुटु जोगाउँ संस्था, त्रिवि शिक्षण अस्पताल, मणिपाल अस्पताल पोखरा, नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराईड सेन्टर काठमाण्डौ तथा औषधि उपलब्ध गराउने सम्पूर्ण औषधी कम्पनीहरुलाई समेत धन्यबादसहित मायाको चिनो प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

पर्बतको जलजलामा नि:शुल्क मुटु तथा मृगौला रोग परिक्षण