काठमाडौं । नेपाली दूरसञ्चार क्षेत्रमा विवादित छवि बनाएका सतीशलाल आचार्यका कारण प्रधानमन्त्री बालेन्द्र शाहदेखि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन सञ्चारमन्त्री जगदीश खरेलदेखि उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका जिम्मेवार अधिकारीहरू विवादमा पर्ने भएका छन् ।
स्मार्ट टेलिकममा छानबिन सुरु भएपछि एनसेलका हाकिमहरू सुटुक्क विदेश
नेपाल दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आइसकेको दूरसञ्चार प्रदायक कम्पनी स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन तथा सम्पत्ति व्यवस्थापन प्रक्रियामा रहेकै बेला लिलाम सकारका नाममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले लिलाम गरी एनसेल आजिआटाका नाममा लैजाने चलखेल पछि सतीशलालले सत्तासँग सेटिङ गरेर अनुसन्धान प्रभावित बनाउने चलखेल गरेका छन् ।
प्रधानमन्त्री शाहले सरकारको जिम्मेवारी लिएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लिएका एक्सनमा परेको स्मार्ट–एनसेल लिलाम सकार प्रकरणमा सतीशलालको सेटिङले काम गरेन भने केही दिनमै उच्चपदस्थहरू पक्राउ पर्ने अनुमान हुँदै गर्दा एनसेल उच्च अधिकारीहरू भने सुटुक्क विदेश पुगेका छन् । पुरानो सरकारसँग सेटिङमा अनियमितता गरेको आशंकामा स्मार्ट टेलिकममाथि छानबिन गर्न बैंकमा छापा हानेको सीआईबीले तत्कालीन सञ्चारमन्त्री खरेल, प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारी र एनसेलका उच्च अधिकारीहरू समेत तानिने भएपछि अनुसन्धान प्रभावित भएको भन्दै आलोचना हुन थालेको छ ।
सीआईबीले गत ३१ वैशाखमा एनसेल कम्पनीको कार्यालयमा छापा मारेर केही महत्वपूर्ण कागजात, ल्यापटप र कम्प्युटरहरू नियन्त्रणमा लिएपछि एनसेल उच्च अधिकारीहरूलाई सतीशलालकै संरक्षणमा विदेश भगाइएको आरोप लागेको छ । सीआईबीले छानबिनलाई फराकिलो बनाउँदै लगेपछि एनसेलमा छापा मार्नुअघि नै बैंकलाई पत्र लेखेर एनसेलका सीईओ माइकल फोलेले रकम फिर्ता गर्न माग गर्दै नेपाल छाडेपछि अनुसन्धान झन् पेचिलो बनेको पाइएको छ ।
सरकारी सम्पत्ति छलछामपूर्ण ढंगले लिलामको नाममा हत्याउने प्रयास भएको भन्दै सीआईबीले बैंकका उच्च अधिकारीलाई पक्राउ गरेपनि सम्पत्तिको सुरक्षा गर्नुपर्ने जिम्मेवारी भएको तत्कालीन सरकारका मन्त्री तथा उच्चपदस्थ अधिकारी, प्राधिकरणका अध्यक्षलगायत एनसेलका उच्च अधिकारी फुकाफाल हुनुले अनुसन्धान प्रभावित भएको आशंका गरिएको छ ।
पछिल्लो राजनीतिक परिवर्तनपछि सत्ताको आडमा राज्यका निकायहरूबीच सेटिङ गरेर स्मार्ट टेलिकमको छानबिन नै प्रभावित पार्ने आचार्यकै कारण नेता, उच्चपदस्थ र एनसेलमाथिको छानबिन रोकिएको छ भने बैंकका उच्च अधिकारी पनि रिहा भएका छन् । सीआईबीले स्मार्ट टेलिकम बिक्री प्रकरणको छानबिन सुरु गरेपछि विदेशी लगानीको दूरसञ्चार प्रदायक कम्पनी एनसेलमा कार्यरत विदेशी हाकिमहरूले नेपाल छाडेका छन् ।
स्मार्ट टेलिकमको नाममा भएको घोटालामा त्यसका सञ्चालक सर्वेश जोशी, सेटिङमा स्मार्टको सामान लिलाम सकारेर एनसेललाई बिक्री गर्ने कम्पनीका सञ्चालकद्वय नरेन्द्र उलक श्रेष्ठ र पालिना श्रेष्ठ पक्राउ परेर छानबिन अघि बढेपछि एनसेल आजियाटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले आफ्नो रणनीति बदलेका छन् । लिलामी सकारेर कम्पनीको नाममा ल्याउन नपाएपछि स्मार्टको स्वामित्व हस्तान्तरण नभए आफूले बैंकमा भुक्तानी गरेको ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्न भन्दै पत्राचार गरेका छन् । एनसेलका प्रमुख कार्यकारी फोलेले एनसेल कम्पनीको खातामा रकम फिर्ता गरिदिन २९ वैशाखमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई पत्र लेख्दै विदेश उडेका हुन् ।
नेपालको सरकारी सम्पत्तिको अनधिकृत बिक्री प्रकरणमा छानबिन हुने भएपछि उनलाई सुटुक्क विदेश पठाउने काम विवादित व्यवसायी आचार्यकै डिजाइनमा भएको दाबी गरिएको छ । आचार्यले सम्पूर्ण रूपमा सत्ता सेटिङ मिलाएको दाबी गरेपछि भुक्तानी व्यवस्था गरेका फोले अनुसन्धानका क्रममा आफू पनि तानिने भएपछि आचार्यकै योजनाअनुरूप उच्च अधिकारीसहित देश छाडेको हुनसक्ने स्रोतको दाबी छ ।
स्मार्ट टेलको सामान लिलामको सम्बन्धमा भएको घोटालामाथिको छानबिनका क्रममा सरकारले अघि बढाएको अनुसन्धान नरोकिएको सीआईबीका एक उच्च अधिकारीले बताए । ‘को को संलग्न छन्, उनीहरूको नेक्सस कहाँसम्म र कस्तो हो भन्ने विषयमा छानबिन भइरहेकाले अहिले केही बोल्न मिल्दैन,’ सीआईबी सम्बद्ध एक अधिकारीले बताए ।
सरकारी स्वामित्वमा गइसकेको भनी प्राधिकरणले सूचना निकालेको कम्पनी र सम्पत्ति लिलामसँग सम्बन्धित बैंकका तीन उच्च अधिकारीहरू अहिले अर्धभूमिगत भएका छन् । विवादमा मुछिएका बैंक अधिकारीसँगै एनसेलका उच्च अधिकारी पनि विदेसिनु संयोग मात्रै मान्न नसकिने पूर्वसुरक्षा अधिकारीहरू बताउँछन् ।
स्मार्ट टेलिकमको अनुसन्धानका क्रममा आफू पनि तानिने डरले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन प्रमुख भूपेन्द्र भण्डारीलगायतका व्यक्तिहरू पनि यस प्रकरणमा चुपचाप बसेका छन् । बैंक अधिकारी पक्राउलगत्तै एनसेलका सीईओ माइकल फोले सुटुक्क सिंगापुर पुगे भन्ने समाचार थाहा पाएका उनीहरू तत्काल उच्च सरकारी अधिकारीमा समन्वय भएन भने आफूहरू समेत पक्राउ पर्न सक्ने भयमा छन् ।
स्मार्ट टेलिकम एनसेललाई बिक्री गराउने डिजाइनका मुख्य योजनाकार अथवा दुवै कम्पनीमा चलखेल गरी लाभ लिइरहेका विवादित व्यवसायी सतीशलाल आचार्यकै डिजाइनमा एनसेलका चिफ फाइनान्स अफिसर इनामुल कबीर, चिफ बिजनेस अफिसर साल्भाडोर एन्टोनियो, चिफ बिजनेस कन्जुमर अफिसर उपङ्ग दत्त, चिफ ह्युमन रिसोर्स अफिसर अफ्रिन हुँदालगायतका एनसेलमा कार्यरत विदेशी अफिसरहरू पनि सिंगापुर वा अन्य देश गएको हुनसक्ने एनसेल उच्च अधिकारी निकट स्रोतले बताएको छ ।
एनसेल र स्मार्ट टेलबीचमा मेलोमेसो मिलाउने सचिनलाल आचार्य पनि सिंगापुर पुगेको बताइएको छ भने स्मार्ट टेलको कर्जाका लागि मौखिक पर्सनल ग्यारेन्टी दिने एनसेलको २० प्रतिशत सेयरकी साहुनी भावना सिंहका पति सतीशलाल आचार्य पनि पक्राउ गर्ने भएबीच सिंगापुर पुगेको स्रोतको दाबी छ ।
नेपालमा लामो समयदेखि आफ्नो राजनीतिक सेटिङमा हरेक सरकार प्रमुख र सञ्चारमन्त्रीलाई प्रभाव पार्दै आएका आचार्यले बालेन शाहसँग सेटिङ गर्न नसके सिंगापुरको नागरिकता लिने सम्भावना उच्च भएको स्रोतले बताएको छ ।
स्मार्ट टेलिकम र एनसेलको सम्बन्ध र सरकारी संरक्षणमा लिलामको नाममा अर्बौंको खेलसम्बन्धी सूचना पछ्याइरहेको स्रोतका अनुसार सतीशलालले सिंगापुरको नागरिकता लिइसकेका छन् भने उनकी श्रीमती भावना सिंह भने नागरिकता त्याग्ने नत्याग्ने विषयमा निर्णय लिइसकेकी छैनन् । एनसेल र स्मार्ट टेलिकम सतीशलालकै योजनामा बनेका एकै घर परिवारका आपसी नातेदारहरूले सञ्चालन गरेका दुई ठूला कम्पनी हुन् ।
सम्बन्धित समाचार
फोटोन इभीमा ६ करोड बढी भन्सार छली
सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड
सहकारी बैंकको सञ्चालकः छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
संस्थापक सेयर बिक्रीमा गोल्यान ग्रुपको बदमासी
सप्तरीको वभनगामा टोलमा आगलागी, १२ घरगोठ जलेर नष्ट
अर्थमन्त्रीद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश संसदमा पेस
किन थन्किन्छन् प्रतिवेदनहरू ?






