नेपाल कृषिप्रधान देश हो, यसमा शंकै छैन । देशको कुल जनसंख्याको करिब ६० प्रतिशतभन्दा बढी नागरिक प्रत्यक्ष वा अप्रत्यक्षरूपमा कृषि पेशासँग जोडिएका छन् । गाउँघरको जीवनशैली, अर्थतन्त्र, संस्कार र सामाजिक संरचना खेतबारी, पशुपालन, उत्पादन र श्रमसँग गाँसिएको छ । नेपाली समाजको आधार नै कृषि हो । तर, विडम्बना के छ भने यही कृषि क्षेत्र आज सबैभन्दा बढी उपेक्षित बनेको छ । राज्यले हरेक आर्थिक वर्षमा कृषि क्षेत्रका नाममा बजेट विनियोजन गरे पनि त्यसको प्रभाव किसानको जीवनमा अनुभूत हुन सकेको छैन । परिणामस्वरूप मुलुक दिनप्रतिदिन आयातमुखी बन्दै गएको छ भने कृषकको अवस्था झन् कमजोर र दयनीय बन्दै गइरहेको छ ।

आज गाउँघरका हजारौं रोपनी खेतबारी बाँझै छन् । कुनै समय हराभरा देखिने फाँटहरू उजाड बनेका छन् । उत्पादनमूलक श्रम गर्ने युवापुस्ता विदेश पलायन भएका छन् । कृषिमा श्रम गर्ने जनशक्ति घट्दै गएको छ । भएका किसानहरू पनि आधुनिक प्रविधि, मल, बीउ, सिँचाइ र बजार अभावमा परम्परागत शैलीमै खेती गर्न बाध्य छन् । कृषि पेशाप्रति युवाको आकर्षण घट्नु, राज्यको कमजोर नीति, वैज्ञानिक योजनाको अभाव र कृषि उत्पादनको उचित मूल्य नपाउनु जस्ता कारणले नेपालको कृषि क्षेत्र संकटग्रस्त अवस्थामा पुगेको हो ।

नेपालमा खेतीयोग्य जमिनको अभाव छैन । हिमाल, पहाड र तराईका धेरै भूभाग उर्वर र उत्पादनशील छन् । समस्या जमिनको होइन, व्यवस्थापनको हो । यदि राज्यले वैज्ञानिक कृषि नीति बनाएर प्रभावकारी कार्यान्वयन गर्ने हो भने नेपाल खाद्यान्न उत्पादनमा आत्मनिर्भरमात्र होइन, निर्यातमुखी देश बन्नेमा आंशका छैन । हावापानी, माटो, भौगोलिक विविधता तथा जैविक सम्पदाको आधारमा कृषि प्रणालीलाई
आधुनिकीकरण, यान्त्रीकीकरण, व्यावसायीकरण र बजारीकरण गर्नसके निश्चितरूपमा ग्रामीण अर्थतन्त्र सुदृढ हुनेछ ।

महात्मा गान्धीले भनेका थिए, ‘कृषि मानव जीवनको आधार हो, यसको उपेक्षा राष्ट्रको भविष्यको उपेक्षा हो ।’ नेपालको वर्तमान अवस्था हेर्दा गान्धीको यो भनाइ अत्यन्त सान्दर्भिक देखिन्छ । कृषिप्रधान देशका नागरिक आज दैनिक उपभोगका खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दाल, तेल, चिनी, प्याज, लसुनसम्मका लागि विदेशमा निर्भर हुनुपरेको छ । उत्पादन घट्दै जाँदा देश परनिर्भर हुँदै गएको छ । यो आर्थिक समस्यामात्र नभएर राष्ट्रिय स्वाभिमान र भविष्यसँग जोडिएको गम्भीर विषय पनि हो ।

भारतले कृषि क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गरेको छ । वैज्ञानिक कृषि नीति, आधुनिक प्रविधि, सिँचाइ, अनुसन्धान र कृषक प्रोत्साहनका कारण भारत खाद्यान्न उत्पादनमा आत्मनिर्भर मात्र होइन, निर्यातक देशसमेत बनेको छ । नेपालले पनि भारत, इजरायल, नेदरल्यान्ड, न्युजिल्यान्ड, जापानजस्ता देशको कृषि विकासको अनुभवबाट सिक्न आवश्यक छ । कृषि क्षेत्रमा लगानी, अनुसन्धान र परिणाममुखी योजना बिना आत्मनिर्भरता सम्भव छैन ।

नेपालले हरेक वर्ष अरबौं रुपैयाँबराबरको धान, चामल, गहुँ, दाल, चिनी, फलफूल, तरकारी, तेल, प्याज, लसुन लगायतका वस्तु आयात गर्दछ । भारतबाट खाद्यान्न आपूर्ति बन्द हुने हो भने नेपालका धेरै गाउँबस्तीमा खाद्य संकट उत्पन्न हुन सक्ने अवस्था छ । यस्तो परनिर्भरता दीर्घकालीन रूपमा राष्ट्रका लागि अत्यन्त खतरनाक हुन्छ । त्यसैले अब कृषि क्षेत्रमा वास्तविक क्रान्ति आवश्यक छ । कागजी योजना, भाषण र नाराले मात्र समस्या समाधान हुँदैन । उत्पादनमुखी नीति, लगानी र कार्यान्वयन आवश्यक छ ।

राज्यले कृषि आधुनिकीकरणका नाममा हरेक वर्ष बजेट त छुट्याउँछ, तर त्यसको प्रभावकारी उपयोग हुन सकेको छैन । धेरै योजना कागजमै सीमित छन् । कृषि अनुदान पहुँचवालाको हातमा पुग्ने, वास्तविक किसान लाभबाट वञ्चित हुने अवस्था विद्यमान छ । किसानले सस्तो ब्याजदरमा ऋण पाउँदैनन् । कृषि बिमा प्रभावकारी छैन । मल, बीउ र औजार समयमै उपलब्ध हुँदैनन् । बजारको उचित व्यवस्था नहुँदा किसानले उत्पादनको मूल्यसमेत पाउँदैनन् । फलतः किसान निराश बन्छन् । देश खाद्यान्नमा परनिर्भर हुनुका पछाडि परम्परागत कृषि प्रणाली, सिँचाइ अभाव, अनुसन्धान कमी, कृषि शिक्षाको कमजोरी, जमिनको खण्डीकरण, बजार व्यवस्थापन अभाव तथा राज्यको उदासीनता प्रमुख कारण हुन् ।

अमेरिकाका तेस्रो राष्ट्रपति थोमस जेफर्सनले भनेका थिए, ‘राष्ट्रको समृद्धि खेतबारीको हरियालीसँग जोडिएको हुन्छ ।’ नेपालजस्तो देशको विकास ठूला भवन, सडक र राजनीतिक भाषणले मात्र सम्भव छैन । विकासको वास्तविक आधार उत्पादन, श्रम, किसान र आत्मनिर्भर अर्थतन्त्र हो भन्ने कुरा राज्यले बुझ्न आवश्यक छ ।

आज नेपालको अर्को ठूलो समस्या भनेको कृषि योग्य जमिनको बाँझोपन र युवाहरूको विदेश पलायन हो । गाउँमा श्रम गर्ने युवाशक्ति घट्दै गएको छ । विडम्बना, नेपालका युवापुस्ता आफ्नै देशमा कृषि गर्न नचाहेर विदेशका खेतबारीमा श्रमिक बनेर पसिना बगाइरहेका छन् । आफ्नै देशको माटो बाँझो छाडेर विदेशी भूमिमा श्रम गर्नु पर्ने अवस्था राष्ट्रिय कमजोरीको संकेत हो । यदि यही अवस्था निरन्तर रहने हो भने भविष्यमा खाद्य संकट अझ भयावह बन्न सक्छ ।

अमेरिकी दिगो विकास चिन्तक वेन्डेल बेरीले भनेका छन्, ‘भूमि केवल माटो होइन, त्यो राष्ट्रको जीवन र भविष्य हो ।’ वास्तवमा माटो नै उत्पादनको आधार हो । माटोको उचित उपयोग गर्न सके देश समृद्ध बन्न सक्छ । त्यसैले राज्यले हरेक स्थानीय तहको हावापानी, माटो, भूगोल र उत्पादन सम्भावनाको वैज्ञानिक अध्ययन गरी क्षेत्रअनुसार उत्पादन योजना लागू गर्नु पर्दछ । जहाँ फलफूल उपयुक्त हुन्छ, त्यहाँ फलफूल, जहाँ तरकारी सम्भव छ, त्यहाँ व्यावसायिक तरकारी खेती, जहाँ पशुपालन उपयुक्त हुन्छ, त्यहाँ दुग्ध, मासु तथा पशुपालन उद्योग विकास गर्न आवश्यक छ । त्यसो त, कृषि क्षेत्र अन्न उत्पादनमै सीमित छैन । पशुपालन, मौरीपालन, मत्स्यपालन, फूलखेती, जडीबुटी उत्पादन, कृषि पर्यटन, जैविक खेती, दुग्ध उद्योग, कृषि प्रशोधन उद्योगजस्ता क्षेत्र पनि ग्रामीण अर्थतन्त्रका महत्वपूर्ण आधार हुन् । यी क्षेत्रको विकासबाट गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । युवालाई कृषि उद्यमशीलतामा आकर्षित गर्न सकिन्छ । कृषि उत्पादनसँग जोडिएका घरेलु तथा साना उद्योगहरू सञ्चालन गर्न सके आयात प्रतिस्थापनमात्र होइन, निर्यातसमेत सम्भव हुन्छ ।

राजनीतिक दलले हरेक निर्वाचनमा कृषि क्रान्तिको नारा त दिन्छन्, तर व्यवहारमा कृषक सधैं उपेक्षित नै छन् । चुनावी घोषणापत्रमा कृषि आधुनिकीकरण, किसानको जीवनस्तर सुधार, उत्पादन वृद्धि, अनुदान, बिमा, सिँचाइ, बजारजस्ता आकर्षक कार्यक्रम उल्लेख गरिन्छन् । तर, निर्वाचन सकिएपछि किसान फेरि बिर्सिन्छन् । विगत तीस वर्षको अवस्था हेर्ने हो भने नेपालको कृषि क्षेत्र अझ कमजोर बन्दै गएको छ । कुनै समय अधिकांश गाउँ खाद्यान्नमा आत्मनिर्भर थिए । अहिले गाउँ उत्पादनविहीन र रित्तो बन्दै गएका छन् ।
राज्यले अब कृषि शिक्षालाई प्राथमिकता दिनु अत्यावश्यक छ । प्रत्येक स्थानीय तहमा कृषि प्राविधिक, कृषि विज्ञ तथा कृषि विद्यालयको व्यवस्था हुनुपर्दछ । किसानलाई आधुनिक खेती प्रणाली, नयाँ प्रविधि, उन्नत बिउबिजन, जैविक खेती, रोग नियन्त्रण, पशुपालन, बजार व्यवस्थापनलगायत विषयमा तालिम दिनुपर्छ । कृषि क्षेत्रलाई सम्मानजनक र लाभदायक पेशाका रूपमा विकास नगरेसम्म युवालाई कृषिमा फर्काउन सकिँदैन ।

किसानलाई सहुलियत ऋण, कृषि बिमा, मलखाद, सिँचाइ सुविधा, भण्डारण केन्द्र, चिस्यान केन्द्र, कृषि बजार तथा न्यूनतम समर्थन मूल्यको व्यवस्था गर्नुपर्छ । किसानले उत्पादन गरेको वस्तु उचित मूल्यमा बिक्री गर्न पाउनुपर्छ । उत्पादनको लागतभन्दा कम मूल्य पाउने अवस्थाले कृषकलाई निरुत्साहित बनाएको छ । राज्यले कृषि उत्पादनको बजार सुनिश्चित नगरी कृषिमा क्रान्ति सम्भव हुँदैन ।
कृषि र पशुपालनलाई आधुनिकीकरण, विविधीकरण र यान्त्रीकीकरण गर्न ठोस राष्ट्रिय योजना आवश्यक छ । साना किसानलाई सहकारी प्रणालीमार्फत संगठित गरी सामूहिक खेती प्रणाली विकास गर्न सकिन्छ । बाँझो जमिन उपयोग गर्ने नीति ल्याउनुपर्छ । विदेशबाट फर्किएका युवालाई कृषि उद्यममा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ । कृषि उत्पादनमा आधारित उद्योग स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक छ ।

नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन उत्पादनमुखी नीति अनिवार्य छ । केवल रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र दीर्घकालीनरूपमा दिगो हुन सक्दैन । कुनै पनि राष्ट्रको वास्तविक आर्थिक मेरुदण्ड आफ्नै उत्पादन, श्रम र आत्मनिर्भरता हो । त्यसैले अब राज्यले कृषकलाई उपेक्षा गर्ने होइन, सम्मान र प्राथमिकता दिने समय आएको छ । कृषि क्षेत्रलाई उपेक्षा गरी मुलुकलाई आयातमुखी बनाउनु दुर्भाग्यपूर्ण अवस्था हो । किसान राष्ट्रका अन्नदाता हुन् । उनीहरूको श्रम, पसिना र योगदानको सम्मान नगरी राष्ट्र समृद्ध हुन सक्दैन । अब राज्यले कृषकका समस्या पहिचान गरी व्यवहारिक समाधानका उपाय लागू गर्न ढिलाइ गर्नु हुँदैन । कृषि र कृषकलाई नारामा होइन, व्यवहारमा प्राथमिकता दिनुपर्छ । जबसम्म नेपालको माटो हराभरा हुँदैन, तबसम्म देशको भविष्य पनि उज्यालो बन्न सक्दैन ।

समृद्ध राष्ट्रले अपनाएका उपाय
विश्वका समृद्ध राष्ट्रले कृषिमा आधुनिक प्रविधि व्यापक प्रयोग गरेको देखिन्छ । कम्प्युटर प्रणाली, कृत्रिम बुद्धिमत्ता, उड्ने उपकरण, स्वचालित मेसिन तथा विभिन्न विद्युतीय उपकरण प्रयोगले कृषि प्रणालीलाई अझ प्रभावकारी बनाएको छ ।

संयुक्त राज्य अमेरिकामा किसान भू–उपग्रह प्रणालीजडित ट्र्याक्टर, बाली निरीक्षण गर्ने उड्ने उपकरण तथा स्वचालित सिँचाइ प्रणाली प्रयोग गर्छन् । माटोको अवस्था, तापक्रम, आद्र्रता र बालीको स्वास्थ्य परीक्षण कम्प्युटरमार्फत गरिन्छ । यसले उत्पादन लागत घटाउनमात्र होइन, उत्पादन वृद्धि गर्न पनि ठूलो मद्दत गरेको छ ।

जापानले सीमित खेतीयोग्य जमिनलाई अत्यधिक उत्पादनशील बनाउन आधुनिक प्रविधि उपयोग गरेको छ । त्यहाँ स्वचालित रोबोटद्वारा खेती गर्ने प्रचलन बढ्दो छ । माटोबिना पानीमा गरिने खेती तथा काँचघरभित्र गरिने खेती प्रणाली धेरै लोकप्रिय छ । वृद्ध जनसंख्या बढ्दै जाँदा श्रमिक अभाव भएको अवस्थामा रोबोटिक प्रविधिले कृषि उत्पादनलाई निरन्तरता दिएको छ । यसले देखाउँछ कि आधुनिक प्रविधि
प्रयोगले कम जमिन र कम जनशक्तिबाट पनि धेरै उत्पादन गर्न सकिन्छ ।

विकसित राष्ट्रले कृषि कार्यलाई लगभग पूर्णरूपमा यान्त्रिक बनाएका छन् । खेत जोत्नेदेखि बाली काट्ने र भण्डारण गर्ने कामसम्म आधुनिक मेसिन प्रयोग गरिन्छ । क्यानाडामा विशाल भूभागमा ठूला मेसिन प्रयोग गरेर खेती गरिन्छ । त्यहाँ अत्याधुनिक ट्र्याक्टर, बाली काट्ने मेसिन तथा अन्न संकलन गर्ने उपकरण प्रयोग गरिन्छन् । यसले श्रम खर्च घटाउने, समय बचत गर्ने तथा उत्पादन वृद्धि गर्ने काम गरेको छ । त्यस्तै, अष्ट्रेलियामा पशुपालन तथा अन्न उत्पादनका लागि अत्याधुनिक यन्त्र प्रयोग गरिन्छन् । हजारौं हेक्टर जमिन व्यवस्थापन कम्प्युटर प्रणालीमार्फत गरिन्छ ।

समृद्ध राष्ट्रले कृषि अनुसन्धानलाई पनि अत्यन्त महत्व दिएका छन् । नयाँ बिउ, रोगप्रतिरोधी बाली तथा उन्नत खेती प्रणाली विकास गर्न निरन्तर अनुसन्धान गरिन्छ । नेदरल्यान्ड्स यसको उत्कृष्ट उदाहरण हो । क्षेत्रफलका हिसाबले सानो राष्ट्र भए पनि यो कृषि निर्यातमा विश्वकै अग्रणी राष्ट्रमध्ये पर्दछ । यहाँ वैज्ञानिक अनुसन्धान, काँचघरभित्र खेती तथा जैविक प्रविधि उच्च प्रयोग गरिन्छ । सीमित जमिनमा धेरै उत्पादन गर्ने प्रणाली विकास गरिएको छ । विशेषगरी ठाडो खेती प्रणालीले कम जमिनमा धेरै उत्पादन सम्भव बनाएको छ । इजरायलजस्तो मरुभूमि राष्ट्रले पनि आधुनिक अनुसन्धान र प्रविधि प्रयोगद्वारा कृषि क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ । थोपा–थोपा गरेर पानी दिने सिँचाइ प्रणाली विकास इजरायलमै भएको हो । यस प्रणालीले कम पानीमा धेरै उत्पादन गर्न सम्भव बनाएको छ ।
विकसित राष्ट्रले आधुनिक सिँचाइ प्रणाली अपनाएर पानी दुरुपयोग रोक्दै उत्पादन वृद्धि गरेका छन् । इजरायलले प्रत्येक बिरुवाको जरामा आवश्यक मात्रामा मात्र पानी पु¥याउने प्रणाली अपनाएको छ । यसले पानी बचत गर्नुका साथै उत्पादन वृद्धि गरेको छ । अमेरिकामा पनि कम्प्युटरद्वारा नियन्त्रित सिँचाइ प्रणाली प्रयोग गरिन्छ । यसले बालीलाई आवश्यक मात्रामा मात्र पानी उपलब्ध गराउँछ र पानी अभाव हुन दिँदैन ।

विश्वका समृद्ध राष्ट्रहरूले कृषिलाई आधुनिक र व्यावसायिक बनाएर आर्थिक उन्नति हासिल गरेका छन् । ती राष्ट्रको अनुभव नेपालका लागि प्रेरणादायी हुन सक्छ । वैज्ञानिक, आधुनिक र व्यावसायिक कृषि प्रणाली अपनाउनसके नेपालले पनि कृषि क्षेत्रबाट आत्मनिर्भरता तथा आर्थिक समृद्धि हासिल गर्न सक्छ ।
(लेखकको यो निजी विचार हो)

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

आयातमुखी मुलुकमा उपेक्षित कृषक