कालिकोट । जिल्लाको रास्कोट नगरपालिका–२ की १८ वर्षीया पूजा बमलाई स्कुल जान अहिले कुनै समस्या छैन । महिनावारी भएको बेला उनको स्कुलमा महिनावारी आराम कक्ष थिएन । हरेक महिनावारी समय र बिरामी हुँदा उनी विद्यालयमा नियमित स्कुल जानबाट वञ्चित हुने गरेकी थिइन् ।
अहिले विद्यालयमा महिनावारी कक्ष स्थापना भएपछि पूजा नियमित स्कुल जान थालेकी छन् । उनले भनिन्, ‘हरेक महिनाको ५ दिन स्कुल गयल हुन्थेँ, किताब समेत छुन मिल्थेन । स्कुलमै पढ्दै गर्दा पेट दुख्ने, रिंगटा लाग्ने हुन्थ्यो । यस्तो अवस्थामा बीचमा पढाइै नै छाडेर घर जानु पथ्र्यो, अहिले स्कुलमै महिनावारी आराम कक्ष स्थापना भएपछि नियमित स्कुल जान थालेकी छु । यस्ता समस्या भएमा विद्यालयकै आराम कक्षमा आराम गर्न पाएका छौं ।’ उनले विद्यालय नर्समार्फत उपचारसमेत पाउँदा आफूहरू भाग्यमानी भएको बताइन् ।
रास्कोट नगरपालिका–५ की १५ वर्षीया रश्मी बम पनि अहिले अत्यन्तै खुसी छिन् । महिनावारी हुँदा, पेट दुख्दा पढाइ छाडेर घर जानु पर्ने उनको पनि बाध्यता थियो । अहिले स्कुलमै आराम कक्ष स्थापना हुँदा सहज भएको उनले बताइन् ।
आराम कक्षमा आवश्यक स्यानिटरी प्याड, सफा पानी, प्राथमिक उपचार सामग्री, आराम गर्ने बेड तथा सरसफाइका सामग्री व्यवस्था हुँदा स्वास्थ्यमा सहज र नियमित स्कुल जान थालेको उनले बताइन् । किशोरी विद्यार्थीलाई महिनावारी भएको समयमा सहज वातावरण प्रदान गर्न विद्यालयमै महिनावारी आराम कक्ष स्थापना गरिएको बडिमालिका माविका प्रधानाध्यापक पुष्पराज बरालले बताए । महिनावारीका बेला हुने शारीरिक असहजता, पेट दुख्ने, कमजोरी तथा मानसिक तनावलाई मध्यनजर गर्दै विद्यालयमा आराम कक्ष सञ्चालनमा ल्याउँदा अहिले किशोरीहरू नियमित स्कुल आउन थालेको बरालको भनाइ छ ।
रास्कोट नगरपालिकाका ४ वटा मावि र ६ वटा आधारभूत विद्यालयमा महिनावारी आराम कक्ष स्थापना गरिएको रास्कोट महिनावारी स्वास्थ्य र खानेपानी तथा सरसफाइ स्वच्छता सुधार परियोजनाका संयोजक सूर्यबहादुर रोकायाले बताए । उनका अनुसार आराम कक्षमा आवश्यक स्यानिटरी प्याड, सफा पानी, प्राथमिक उपचार सामग्री, आराम गर्ने बेड तथा सरसफाइका सामग्रीको व्यवस्था गरिएको छ । यसले किशोरीहरूलाई विद्यालय नछोडी नियमित पढाइमा सहभागी हुन सहयोग पुगेको छ ।
विद्यालयमा सुरक्षित र मैत्रीपूर्ण वातावरण निर्माण गर्न यस्तो पहल प्रभावकारी बनेको रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाहीले बताए । स्थानीय तह तथा विद्यालय व्यवस्थापन समितिले किशोरी स्वास्थ्य र महिनावारी स्वच्छतामा विशेष ध्यान दिन आफूले निर्देशनसमेत दिएको शाहीले बताए । रास्कोट नगरपालिका शैक्षिक सुधारमा पहिलो प्राथमिकता राखेर आगाडि बढेको प्रमुख शाहीको भनाइ थियो ।
प्लान इन्टरनेसनल नेपालको सहयोग तथा मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको सहजीकरणमा सञ्चालित रास्कोट महिनावारी स्वास्थ्य र खानेपानी तथा सरसफाइ स्वच्छता सुधार परियोजनाअन्र्तगत रास्कोट नगरपालिकाका सामुदायिक विद्यालयभित्र सुरक्षित खानेपानी, शौचालय निर्माण जस्ता जनचेतनामूलक गतिविधिहरू सञ्चालनमा आइरहेका छन् ।
सम्बन्धित समाचार
ठाटीकाँध गाउँपालिकामा विद्यालय समायोजन लागू
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
‘छायानाथ ट्रेलरअल्ट्रा म्याराथन २०२६’ सुरु
प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड
तरकारी खेती र स्वरोजगारमार्फत आत्मनिर्भर बन्दै रौतहटका महिला
विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार
चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा






