भीमनारायण गोल्डकपः आयोजक सेमिफाइनलमा

धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप अन्तरगत मंगलबार भएको आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान विजयी भएको छ । मंगलबार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा भारतको जर्जियन फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको १६ औँ मिनेटमा जर्जियन फुटबल क्लबका कुञ्जमान थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ३४ औँ मिनेटमा आयोजकका प्रतिस थापा मगरले गोल गर्दै खेल १–१ को अवस्था पु¥याए । खेलको ५६ औँ मिनेटमा आयोजकका विपिन जबेगुले गोल गर्दै गोल अन्तर २–१ को अवस्था पु¥याएका थिए ।

खेलको ९० मिनेटमा जर्जियनका प्रवेश रोयले मुख्य रेफ्रि मनिष अधिकारीलाई हात हालेका कारण रातो कार्ड पाएर बाहिरिएपछि जर्जियन १० खेलाडीमा सिमित भएको थियो । जर्जियन फुटबल क्लबले गोल गर्ने धेरै अवसर गुमाउँदा पराजित भएको हो । खेलको म्यान अफ द म्याच विजेता टिम आयोजकका विशाल भण्डारी घोषित भए । उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत बुधबार बेलबारी फुटबल क्लब मोरङ र सातदोबाटो फुटबल क्लब ललितपुर बीच पहिलो चरणको अन्तिम खेल हुने आयोजकले जनाएको छ । यस अघि सिराहाको सलहेश फुटबल क्लबले राष्ट्रिय जागृति क्लब सुनसरीलाई हराउँदै र विर्तामोड युनाइटेड क्लब झापाले गाईघाट फुटबल क्लब उदयपुरलाई हराउँदै सेमिफाइनल यात्रा तय गरिसकेको छन् । जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको छ । २०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ । विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा गोली हानी हत्या गरिएको थियो । सरकारले श्रेष्ठलाई २०७४ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ अनलाइन सञ्चार माध्यमलाई पत्रकार आचारसंहिता अभिमुखीकरण