काठमाडौँ । कम्बोडिया सरकारले भिसा अवधि समाप्त भएपछि पनि त्यहीँ बस्दै आएका ६०२ जना नेपाली नागरिकमाथि लगाइएको जरिबाना शुल्क मिनाहा गरेको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलपछि कम्बोडिया पक्षले उक्त निर्णय गरेको हो, जसले प्रभावित नेपालीलाई स्वदेश फर्कने प्रक्रियालाई सहज बनाएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार हालसम्म ३०२ जना नेपाली अझै कम्बोडियामै रहेका छन् र उनीहरूलाई नेपाल फर्काउने तयारी भइरहेको छ । सम्बन्धित व्यक्तिहरूलाई आवश्यक ट्राभल डकुमेन्ट समेत उपलब्ध गराइसकिएको जनाइएको छ ।
कम्बोडियाको कानुनी व्यवस्थाअनुसार भिसा अवधि समाप्त भएपछि बस्ने विदेशी नागरिकलाई प्रतिदिन १० अमेरिकी डलर जरिबाना लाग्ने प्रावधान छ । दूतावासले भिसा अवधि समाप्त भइसकेका सबै नेपालीलाई एक साताभित्र स्वदेश फर्कन आग्रह गरेको छ । तोकिएको समयसीमा पालना नगर्नेहरूलाई भने त्यहाँको नयाँ कानुनअनुसार थप जरिबाना तथा कैद सजायको व्यवस्था लागू हुने चेतावनी दिइएको छ ।
नयाँ कानुनी प्रावधानअनुसार अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रमा संलग्न हुने वा भिसा समाप्त भएपछि पनि बसिरहने विदेशीलाई ५ लाख अमेरिकी डलरसम्म जरिबाना तथा आजीवन कैदसम्मको सजाय हुन सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
यसैबीच, जरिबाना तथा शुल्क मिनाहा भएका व्यक्तिहरूले स्वदेश फर्कन आवश्यक हवाई टिकटको व्यवस्था आफैँ गर्नुपर्नेछ । टिकट व्यवस्थापन गरेपछि त्यसको जानकारी कम्बोडियाको अध्यागमन निकायमा गराउनुपर्ने प्रावधानसमेत लागू हुने दूतावासले स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार
पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’
‘लाली’ हराएको ‘बजार’
संस्थापक सेयर बिक्रीमा गोल्यान ग्रुपको बदमासी
समृद्ध नेपालको गम्भीर चुनौती
विद्याकै नेतृत्वमा कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने गृहकार्य सुरु
हसिना सिमसारमा शिरिषको वैँस
कसरी ठगिन्छन् उपभोक्ता ?
वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना, सतर्कता अपनाउन आग्रह






