काठमाडौं । राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज भएको कार्यक्रममा कांग्रेस सभापति गगन थापा र राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष नृपेन्द्रकुमार सिंहले पार्टी एकता सम्बन्धी सहमतिमा हस्ताक्षर गरे । लगत्तै सभापति थापाले राष्ट्रिय सद्भावना पार्टीका नेताहरूलाई पार्टीमा स्वागत गरे । सहमतिअनुसार सभापति थापाले नेता अनिल झालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
राष्ट्रिय सद्भावना पार्टीका विभिन्न तहगत संरचनामा रहेका नेता कार्यकर्तालाई नेपाली कांग्रेसमा समायोजनका लागि कांग्रेसका नेता अर्जुननरसिंह केसी र अनिल झा रहेको कार्यदल बनाइएको छ । कार्यदललाई दुई साताको समय दिइएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर अनिलकुमार झाले राष्ट्रिय सद्भावना पार्टी पुनर्गठन गरेका थिए। गत चुनावमा झा कांग्रेसको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका थिए ।
अर्कोतिर आजै राप्रपा महामन्त्री धवल शमशेर राणाले पार्टी छाडेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगको लामो समयको विवादपछि महामन्त्री राणाले पार्टी छाडेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै अब विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने भनेका छन्।
राणासँगै उनी समर्थक राप्रपाका नेता तथा कार्यकर्ताहरुले पार्टी छाडेर नयाँ अभियानमा लाग्ने राप्रपाका नेताहरुले बताएका छन् । राणाले आजै आफू समर्थक केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले अपिल जारी गरेका हुन् । उनले जारी गरेको अपिलमा नयाँ अभियानमा सहभागी हुन आग्रह गरिएको छ ।






