बलिउडका चर्चित निर्माता निर्देशक पहलाज निहलानीको निधन

मुम्बई । बलिउड चलचित्र निर्माता निर्देशक एवम् ‘केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी)का पूर्व अध्यक्ष पहलाज निहलानीको ७६ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । कलेजो समस्याबाट पीडित उनलाई उपचारको क्रममा बुधवार राती अस्पताल भर्ना गरिएकोमा बिहीबार बिहान निधन भएको हो ।

निर्माता निर्देशक निहलानीको निधन प्रति बलिउडकर्मीहरूले दुःख व्यक्त गरेका छन् । निर्देशक निहलानीको बिहीबार अपराह्न मुम्बईको सान्ताक्रुज हिन्दु श्मशान गृहमा अन्त्येष्टि गरियो । उनलाई सो श्मशान घाटमा पुगेर अभिनेताहरू गोविन्द, चंकी पाण्डे, वरुण धवन, फरन अख्तर, निर्माता बोनी कपुर, निर्देशक डेभिड धवन, अभिनेत्री नेहा धुपिया, मलाइका अरोरा, अमृता अरोरासहित धेरै चलचित्रकर्मीहरूले श्रद्धाञ्जली अर्पण गरे । कतिपय चलचित्रकर्मीहरूले घरमै पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

निहलानीले १९८० को दशकको सुरुवातमा चलचित्र निर्माताको रूपमा आफ्नो करियर सुरु गरेका थिए । १९८२मा पहिलो चलचित्र ‘हथकडी’ बनाएका उनले त्यसपछि १९८५ मा ‘आँधी तुफान’, ‘इल्जाम’ निर्माण गरे । ‘इल्जाम’बाटै गोविन्दाको अभिनय करियर सुरु गरेका थिए । अभिनेता गोविन्दाले आफूलाई माथि ल्याउनमा पहलाज निहलानीको मुख्य हात रहेको बिहीबार श्रद्धाञ्जलीका क्रममा बताए ।
गोविन्दाका अनुसार ‘आँधी तुफान’मा पहलाजले मिथुन चक्रवर्ती र शत्रुघ्नलाई सँगै अभिनय गर्न चाहेका थिए । तर, उनीहरूले पहलाजलाई मागेको समय दिएनन् । त्यसपछि त्यो चलचित्रको निर्माण पछि सारेर उनले नयाँ चलचित्र निर्माणको घोषणा गरे ।

त्यति बेला गोविन्दाले उनीसँग यो चलचित्रमा काम मागेका थिए । जबकि त्यति बेला पहजालले गोविन्दासँग काम गर्न चाहेका थिएनन् । पछि गोविन्दाले आफ्नो डान्स र फाईटको भिडियो नै ल्याएर उनलाई देखाएपछि पहलाजले उनलाई चलचित्र ‘इल्जाम’मा लिएका थिए । यो पहिलो चलचित्र नै सुपर हिट भएपछि आफू बलिउडमा व्यस्त भएको पनि गोविन्दाले स्मरण सुनाए । यसपछि पहलाजले गोविन्दासँग ‘शोला और शबनम’ ‘आँखे’ जस्ता सुपर हिट चलचित्र बनाए । अभिनेत्री दिव्या भारतीलाई पनि पहलाजले चलचित्रमा अघि बढाएका थिए ।

यस्तै उनले १९८७ मा चलचित्र ‘आग ही आग’ बाट अभिनेता चंकी पाण्डेलाई पनि चलचित्र उद्योगमा ल्याएका थिए । बिहीबार श्रद्धाञ्जली सभामा चंकी पनि निकै भावुक भए । यसपछि उनले आफ्नो निर्माता निर्देशनमा ‘पापकी दुनियाँ’, ‘गुनाहोका फैसला’, ‘मिट्टी और सोना’, ‘आंधियाँ’, ‘शोला और शवनम’, ‘आँखे’, ‘अन्दाज’, ‘दिल तेरा दिवाना’, ‘उलझन’, ‘तलास’, ‘रंगिला राजा’ ‘जुली २’ जस्ता चलचित्र बजारमा ल्याए । उनले बलिउडका चल्तीका धेरै अभिनेता अभिनेत्रीहरूलाई आफ्नो चलचित्रबाट डेब्यु गराएका थिए । उनले धर्मेन्द्र, शत्रुघ्न सिन्हा, मिथुन चक्रवर्ती सहित त्यो समयका थुप्रै अभिनेताहरूसँग काम गरेका थिए ।

उनी २०१५ देखि २०१७ सम्म तीन वर्ष सीबीएफसीको अध्यक्ष थिए । चलचित्रलाई सेन्सरमा खुकुलोपनालाई कस्दै उनले चलचित्रमा अपशब्द, धूम्रपान दृश्य, अश्लीलता र राजनीतिक रूपमा संवेदनशील संवादलाई पूर्ण रूपमा सेन्सर गर्न लगाएका थिए । उनी पछिल्लो समय पनि नयाँ चलचित्रको निर्माणको लागि परियोजना बनाउँदै थिए । तर कलेजो सम्बन्धी समस्या आएपछि उनको स्वास्थ्य बिग्रँदै गयो र यही समस्याले उनको निधन भयो ।-एजेन्सी

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

विश्व वातावरण दिवसमा सुन्दरहरैँचामा वृहत बाँस वृक्षारोपण कार्यक्रम सम्पन्न