नेपालगञ्ज । किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण हुन नसक्दा किसान मर्कामा परेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जमा डिएपी, युरिया र पोटास पर्याप्त परिमाणमा मौज्दात रहे पनि प्रदेशस्तरीय मल व्यवस्थापन समितिले वितरणसम्बन्धी निर्णय नगर्दा धानको बीउ राख्ने समयमा किसानले मल पाउन सकेका छैनन् ।
कृषि सामग्री कम्पनीका अनुसार हाल डिएपी ४८४ दशमलव ३०० मेट्रिक टन, युरिया ५०७ दशमलव ५५० मेट्रिक टन र पोटास १०२ दशमलव ४०० मेट्रिक टन मौज्दात छ ।
कम्पनीका प्रमुख पुष्पराज श्रेष्ठले प्रदेशस्तरीय मल व्यवस्थापन समितिबाट निर्णय भई पत्र प्राप्त हुनासाथ मल वितरण सुरु गरिने बताए । उनका अनुसार जिल्लाका लागि छुट्याइएको परिमाणअनुसार सम्बन्धित स्थानीय तहमा मल पठाइनेछ । ‘निर्णय भएपछि जिल्लाको कोटा निर्धारण हुन्छ । त्यसपछि सोहीअनुसार स्थानीय तहमा मल पठाइन्छ’, उनले भने ।
श्रेष्ठले किसानले रासायनिक मलमा ७० प्रतिशत अनुदान पाउने जानकारी दिँदै वितरण प्रक्रिया जटिल भएकाले किसानले समयमा मल प्राप्त गर्न कठिनाइ भोग्नुपरेको स्वीकार गरे ।
‘मल वितरणसम्बन्धी कार्यविधि यस्तै छ, हामीले व्यवस्थापनको काम मात्रै गर्ने हो’, उनले भने । रासायनिक मलको लक्ष्यअनुसार आपूर्ति हुन नसक्दा बेलाबेलामा अभावको अवस्था सिर्जना हुने गरेको उनले बताए ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, नेपालगञ्जका प्रमुख वासुदेव उपाध्यायले निगममा केही परिमाणमा रासायनिक मल मौज्दात रहे पनि वितरण सुरु नभएको जानकारी दिए । प्रदेशस्तरीय निर्णयपछि स्थानीय तहलाई कोटाअनुसार केही दिनभित्रै मल उपलब्ध गराइने उनले बताए ।
उनका अनुसार प्रदेश सरकारले स्थानीय तहका लागि छुट्याएको कोटाअनुसार सम्बन्धित पालिकाले किसानलाई मल वितरण गर्ने व्यवस्था छ ।
यसैबीच, बाँकेमा किसानले धानको बीउ राख्न सुरु गरिसकेका छन् । कृषि ज्ञान केन्द्र, नेपालगञ्जका अनुसार जिल्लाका धान उत्पादनका प्रमुख क्षेत्र डुडुवा, नरैनापुर, खजुरा, जानकी र बैजनाथलगायत स्थानमा धानको बीउ राख्ने काम सुरु भएको छ ।
ज्ञान केन्द्रका अनुसार किसानले राधा–४ सहित स्थानीय तथा ‘हाइब्रिड’ जातका धानको बीउ राखिरहेका छन् । बाँकेका किसान जयपाल मौर्यले गत वर्ष मौज्दात रहेको मल प्रयोग गरेर यस वर्ष धानको बीउ राखेको बताए । तर तरकारीजस्ता लहरे बालीका लागि भने मल अभाव कायमै रहेको उनको गुनासो छ ।
उनका अनुसार केही किसानले गत वर्ष बचत रहेको मल प्रयोग गरेर धानको बीउ राखेका छन् भने केही किसान मल प्रयोग नगरी नै बीउ राख्न बाध्य भएका छन् । ‘धेरै ठाउँमा मल खोजिरहेका छौँ, तर जेठको अन्तिम सातातिर मात्रै आउँछ भन्ने सुनिरहेका छौँ’, उनले भने ।
सम्बन्धित समाचार
पर्यटकीय गन्तव्य बन्दै च्यामा गाउँ
योग समितिमा पुनः डा भट्टराई निर्वाचित
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
मानव अधिकार संरक्षणको सुनिश्चित घरबाटै सुरुआत हुनुपर्छ : मुख्यमन्त्री आचार्य
दाङमा टिपरको ठक्करबाट बाबुछोराकै मृत्यु
लुम्बिनीमा एमालेका चार मन्त्रीले राजिनामा दिने तयारी
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान






