युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान

सुन्दरहरैंचा (मोरङ) । नेपाली सङ्गीत क्षेत्रमा फरक विषयवस्तु र नयाँ शैलीको प्रयोग गर्दै गणितीय अङ्कलाई आधार बनाएर तयार गरिएको एक लोक–आधुनिक गीत सार्वजनिक भएको छ। सिर्जनात्मक सोच, सशक्त सङ्गीत तथा आकर्षक दृश्य संयोजनका कारण गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताको ध्यान खिच्न थालेको छ।

युवा गायक युवेन्द्र शाक्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा युवेन्द्र शाक्य र चर्चित गायिका गङ्गा गौतम आचार्यको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द गङ्गा गौतम आचार्य, युवेन्द्र शाक्य , कुमारजङ्ग कार्की र ज्ञानेन्द्र कार्कीले संयुक्त रूपमा सिर्जना गरेका हुन्। लय सङ्कलनमा पनि युवेन्द्र साक्य, कुमारजङ्ग कार्की र ज्ञानेन्द्र कार्कीको योगदान रहेको छ भने सङ्गीत संयोजन राजु कार्कीले गरेका छन्।

गीतकी निर्माता चन्दा श्रेष्ठ हुन्। गीतको रेकर्डिङ कार्य पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो भने रेकर्डिस्टको भूमिका रुद्र श्रेष्ठले निर्वाह गरेका छन्। अनुभवी साङ्गीतिक तथा प्राविधिक टोलीको समन्वयले गीतलाई थप परिष्कृत र श्रवणयोग्य बनाएको छ।

गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। भिडियोको कोरियोग्राफी केशव दियालीले गरेका छन् भने निर्देशन रोशन कमल पराजुलीले गरेका हुन्। छायाङ्कन तथा सम्पादनको जिम्मेवारी ब्रज क्रियसनका रिकेश बज्राचार्यले सम्हालेका छन्। आधुनिक प्रविधि र प्राकृतिक सौन्दर्यको संयोजनले भिडियोलाई जीवन्त र दर्शनीय बनाएको छ।

भिडियोको छायाङ्कन सुनसरीको धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको चतरा क्षेत्रअन्तर्गत चकरघट्टीस्थित बोराबाँधमा गरिएको हो। हरियाली वातावरण, प्राकृतिक सौन्दर्य र रमणीय दृश्यहरूले गीतको भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्।

नृत्य प्रस्तुतीकरणतर्फ इटहरीस्थित युनाइटेड थर्टिन डान्स एकेडेमीका कलाकारहरूको ऊर्जावान सहभागिता रहेको छ। कलाकारहरूको आकर्षक नृत्य, भावपूर्ण अभिनय र कलात्मक अभिव्यक्तिले भिडियोको स्तरलाई थप उचाइ दिएको छ।

सङ्गीत, शब्द, स्वर, नृत्य र दृश्य संयोजनको उत्कृष्ट समिश्रण रहेको यस गीतले नेपाली सङ्गीत क्षेत्रमा नयाँ प्रयोगको सम्भावना उजागर गरेको छ। विशेषगरी गणितीय अङ्क जस्तो असामान्य विषयलाई सङ्गीतमार्फत कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयासलाई नेपाली सङ्गीत क्षेत्रको सिर्जनात्मक उपलब्धिका रूपमा हेरिएको छ। सार्वजनिक भएसँगै गीतले सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ भने आगामी दिनमा अझ व्यापक दर्शक–श्रोतामाझ पुग्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान