काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत अधिकांश ठाउँमा अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिएको भएपनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिका अनुसार आजै क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार विगत दुई दिन अत्यधिक वर्षा भएको र आज तथा भोलि पनि भारी वर्षा हुने पूर्वानुमानका आधारमा १३ असोजभित्र अनुकूलता अनुसार अधिवेशन सम्पन्न गर्न सकिने गरी विकल्प दिइएको छ । निर्वाचन समितिले विकल्प दिएपछि विशेषगरी पहाडी जिल्लाका अत्यधिक वर्षा भएका र बाटो अवरुद्ध बनेका केही निर्वाचन क्षेत्रमा भोलि र पर्सि अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ । आजदेखि पुनः मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै र बाँकीमा भोलि तथा पर्सिसम्ममा अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
उनका अनुसार क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै अवरोध वा समस्या नदेखिएकाले सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको छ । संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन् । पालिका सभापति र प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति भने संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य र स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । पदेन सदस्यलाई मतदान गर्ने अधिकार भएपनि उम्मेदवार बन्ने अधिकार भने नहुने कांग्रेसको विधानमा उल्लेख छ ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एक जना रहने व्यवस्था छ । यस समितिमा उपसभापतिको व्यवस्था गरिएको छैन । यस्तै, कार्यसमिति सदस्यमा १८ जना निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख छ । ती १८ जनामध्ये दुवै प्रदेश सभा क्षेत्रबाट एक महिला र दुई खुलासहित तीन–तीन जनाको दरले क्षेत्र ‘क’ र ‘ख’ बाट कुल ६ जना निर्वाचित हुनेछन् । त्यसैगरी खुलातर्फबाट एक महिलासहित चार जना, युवामध्येबाट एक महिलासहित २ जना, जनसंख्याका आधारमा समानुपातिक तर्फबाट ६ जना निर्वाचित हुनेछन् भने अन्य ६ जनालाई क्षेत्रीय कार्यसमिति सदस्यमा मनोनयन गर्न सकिने व्यवस्था छ ।
क्षेत्रीय अधिवेशनबाटै चयन हुने महाधिवेशन प्रतिनिधिमा भने महिला ४, खुला १०, एक महिलासहित तीन युवा, जनसंख्याका आधारमा समानुपातिकतर्फ १० जना निर्वाचित हुनेछन् । साथै श्रमिक, पेसागत विज्ञ, अपांगता भएका व्यक्ति, मुस्लिमसहित अल्पसंख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक–एक जना चयन हुने व्यवस्था गरिएको छ । यसरी हरेक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना संघीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।
संघीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा एक र जनसंख्याका आधारमा बाँडफाँट हुने समानुपातिकतर्फ चार गरी कुल १२ जना छनोट हुनेछन् ।
त्यसैगरी आजै हुने प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनले ‘क’ र ‘ख’ दुवै तर्फका लागि प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गर्नेछ । प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना चयन हुनेछन् । कोषाध्यक्ष भने प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा एक जनालाई मनोनयन गर्ने व्यवस्था छ ।
प्रदेश सभा क्षेत्रीय कार्यसमिति सदस्यका रूपमा २ महिला, एक दलित, एक युवा, तीन खुला र जनसंख्याका आधारमा समानुपातिकतर्फबाट ६ जना निर्वाचित हुनेछन् । यसबाहेक थप ७ जनालाई कार्यसमितिमा मनोनयन गर्न पाइनेछ । सोही अधिवेशनले प्रदेश प्रतिनिधिका रूपमा दुई महिला, ८ खुला, एक महिलासहित दुई युवा, जनसंख्याका आधारमा हुने समानुपातिकतर्फ ६ जना चयन गर्नेछ । त्यसैगरी पेसागत विज्ञ, श्रमिक, अपांगता भएका व्यक्ति, अल्पसंख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक–एक जनालाई प्रदेश प्रतिनिधि चयन गर्न सकिने व्यवस्था गरिएको छ ।
कांग्रेसको अधिवेशन शृंखला यही ३ असोजमा वडा अधिवेशनबाट सुरु भएको हो । वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको र अब क्षेत्रीय अधिवेशन सकिएलगत्तै केन्द्रीय महाधिवेशन हुन लागेको छ । केन्द्रीय महाधिवेशन यही १६ देखि १९ असोजसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न गर्ने गरी तीव्र तयारी भइरहेको कांग्रेसले जनाएको छ ।
सम्बन्धित समाचार
देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार
संसदीय समिति बनाउने र प्रधानमन्त्रीले बेवास्ता गर्ने अवस्था नबनोस्ः गगन
ओली हटाउने एजेन्डामा गुन्डुमै बैठक जारी
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री
अमेरिका जानुअघि प्रधानमन्त्रीले भेटे विश्वप्रकाश र भीष्मराज
अध्यक्ष–महासचिव टकराब केन्द्रीय कमिटीमा छताछुल्ल
सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि
पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत






