‘मधेश ट्राभल मार्ट’ पर्यटन प्रर्वद्धनको अर्को आयाम

वीरगन्ज । पर्यटन प्रवद्र्धनबाट मधेशको समृद्धि सम्भव छ भनी विगतमाभन्दा अझ सशक्त ढंगले ‘मधेश ट्राभल मार्ट’ चलिरहेको छ । नेपाल भारतका होटल तथा पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, नेपाल पर्यटन बोर्ड, लगानीकर्ता र सञ्चारकर्मीसमेतको वृहत सहभागीतामा ‘मधेश ट्राभल मार्ट’ चलिरहेको हो ।

जेठ २८ गतेदेखि चार दिनसम्म सञ्चालन हुने भनिएको मधेश ट्राभल मार्टको दोस्रो दिन बिहानैदेखि संयुक्त रुपमा पर्सा बाराका पर्यटकीय क्षेत्र अवलोकन भ्रमण र पर्यटन प्रवद्र्धनको उद्देश्यमाथि शुक्रबार वीरगन्जमा औपचारिक कार्यक्रम पनि गरिएको छ । पर्या–पर्यटनको विकास विना मधेशको पर्यटन प्रवद्र्धन र समृद्धि सम्भव नरहेको सरोकारवालाको निष्कर्ष पनि छ ।

हिमाल पहाडले नढाकेको भए पनि मधेशमा पर्यटनको प्रचुर सम्भावना रहेको कुरा प्रचार प्रसार गर्दै नयाँ उचाईमा पु¥याउन मधेश ट्राभल मार्टले बल थपेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले बताए ।

छिमेकी मुलुक भारतबाट पनि नीजि क्षेत्रका सरोकारवालाहरुको भव्य उपस्थितिमा ‘बिजनेश टु बिजनेश’ प्यानल डिसकस पनि बाराको सिमरामा गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि भारतीय पर्यटक नै मधेशको आकर्षणको केन्द्र रहेकोले सीमामा नेपाली सुरक्षाकर्मी तथा अरुले पनि उनीहरुलाई गरिने व्यवहार अझ राम्रो हुनुपर्ने दुवै देशका सरोकारवाला तर्क पनि छ ।

‘मधेश ट्राभल मार्ट’ गरी पर्यटन प्रवद्र्धनबाट मधेशकै समृद्धि चाहेको कार्यक्रम संयोजक नेपाल टुर्स तथा ट्राभल्स एशोसिएसन (नाटा) मधेश प्रदेश अध्यक्ष मोहन शर्माले विस्तृतमा बताए । आगामी दिनमा नेपाली पर्यटक भारततर्फ जाँदा र भारतीय पर्यटक नेपाल आउँदा अझ सरल व्यवहार गर्दै दुवै तर्फका होटल तथा पर्यटन व्यवसायीहरुलाई पनि फाइदा पुग्ने गरी पर्यटक विस्तारमा सबैले सजगता अपनाउनु पर्ने दुवै देशका सरोकारवालाहरुको जोड छ ।

मधेश प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक गन्तव्यहरूको पहिचान र प्रचार गरी आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्ने मधेश ट्राभल मार्टको कार्यक्रममा पनि जोड दिइएको छ । नेपाल तथा भारतसहित अन्य देशका पर्यटन व्यवसायी बीच व्यापारिक बिजनेश टु बिजनेश (बि टु बि) सम्बन्ध विस्तार गर्दै अगाडी बढ्ने लक्ष्यमा नेपाल पर्यटन बोर्डको पनि पूर्ण साथ रहेको नेपाल पर्यटन बोर्डका प्रमुख हिकमत सिंह ऐरले पनि प्रष्ट पारे ।

नाटाले पर्यटन प्रवद्र्धनका क्षेत्रमा निरन्तर खबरदारी गरिरहेको प्रति उनले सकारात्मक कदम भएको पनि बताए । नेपाल भारतका सरोकारवालाहरु बीच औपचारिक र अनौपचारिक छलफल र संयुक्त ‘ट्राभल’ संचालन पछि भएको कार्यक्रममा भारतबाट आएका शचिन शर्माले यो राम्रो कदम भएको तर नेपाली बोर्डरमा हुने व्यवहार अझ भारतमैत्री हुन पर्नेमा जोड दिए ।

स्थानीय सरकारको तर्फबाट पनि आगामी दिनमा पर्यटन प्रवद्र्धन गर्न बजेट नै विनियोजन गरी नीतिगत रुपमा पनि साथ दिने जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले बताए । यो प्रदेशको प्रमुख आन्दानीको श्रोत पर्या–पर्यटन पनि भएकोले यसको प्रवद्र्धनमा सबैले लाग्नु पर्ने उनको सुझाव पनि छ ।

मधेश ट्राभल मार्ट भनेको मधेश प्रदेशको पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने तथा पर्यटन व्यवसाय विस्तार गर्ने गतिलो माध्यम भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिकमत सिंह ऐरेले पनि बताए । पर्यटन प्रवद्र्धनका लागि ठोस रुपमा काम गर्ने मुलुकको जिम्मेवार निकाय बोर्ड भएकोले पर्यटक भित्र्याउने विभिन्न कार्यक्रममा बोर्डको साथ रहने उनको भनाइ छ ।

मधेश र देशको समृद्धि पर्यटन प्रवद्र्धन विना सम्भव नभएकोले राज्यपक्ष र गैर राज्यपक्ष सबैको सहकार्यले लक्ष्य प्राप्त गर्नुपर्नेमा उनले जोड दिएका छन् । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले मधेश प्रदेशकै एक मात्र पर्यटकीय पालिका भनी भनिएको ठोरीलाई केन्द्र सरकारले मधेशको पालिका भनी बजेट नदिने र प्रदेश सरकारले पनि ठोरी पहाडी समुदायको बर्चश्व छ भनी बजेटमा कन्जुस्याई गरे पनि सानो बजेटबाट सिलिङ्ग पूरा गर्दै मधेशकै अब्बल पालिका बनेको बताएका थिए ।

शुत्रबार भएको संयुक्त कार्यक्रममा नेपालको तर्फबाट विज्ञापन बोर्डका प्रमुख ऐर, नाटाका कोशी प्रदेश प्रमुख पुण्य प्रसाद भट्टराई, संघका अध्यक्ष गौतम, भारतको तर्फबाट टोलीको नेतृत्व गरी आएका साकेत राय, भारतीय महाबाणिज्य दूतावासका दूत देवी सहाय मिना लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष युवराज खड्का सहित विभिन्न व्यक्तिहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । नाटाले यो भन्दा अगाडी पनि पर्यटन प्रवद्र्धन गर्न सरकोकारवालाहरुलाई नैतिक दवावका कार्यक्रमहरु गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

‘मधेश ट्राभल मार्ट’ पर्यटन प्रर्वद्धनको अर्को आयाम