कांग्रेस रास्वपाको दुश्मन होइन, प्रतिस्पर्धी हो: गगन थापा

काठमाडौँ । कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुश्मन नभएको बताएका छन् । आज (आइतबार) रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा सभापति थापाले यस्तो बताएका हुन । उनले भने, ‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन ।

हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं, ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं । बन्छौं पनि एक दिन ।’तर, रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर आफूहरू अग्लो हुने चाहनामा नभएको बताए ।

‘तर तपाईंहरूलाई सानो बनाएर होइन । तपाईंहरूको खुट्टा काटेर होइन । मन वचन र कर्मले इमानदारितापूर्वक काम गरेर अग्लो हुन चाहन्छौं,’ उनले भने, ‘हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन । हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं ।’

सभापति थापाले रास्वपाका कार्यकर्ता र महाधिवेशन प्रतिनिधिलाई आफ्ना नेतासँग प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरे । “सुशासन तपाईँहरूको मुख्य मन्त्र हो,” उनले भने, “हामीले विगतमा हाम्रा नेतालाई ‘भगवान्’ र ‘बा’ बनाएर गल्ती गरिसक्यौँ । पछि सुधारको प्रयास त गर्‍यौँ, तर निकै ढिला भइसकेको थियो ।

नयाँ शक्तिले विगतका सबै उपलब्धिलाई नजरअन्दाज गर्न नहुने भन्दै उनले इतिहासको जगलाई भुल्न नहुने प्रष्ट पारे। “निलो झन्डा बोकेर विरोध गर्दै गर्दा विगत ३५ वर्षमा देशमा केही पनि भएन भनेर नभनी दिनुहोला,” सभापति थापाले भने,

मुलुकको मुख्य शत्रु गरिबी, अज्ञानता, विभेद र अक्षमता भएको चर्चा गर्दै उहाँले जहाँ विधि मिचिन्छ, त्यहाँ नेपाली काँग्रेसले सधैँ सशक्त प्रश्न उठाइरहने प्रष्ट पारे । सबै राजनीतिक दलले आ-आफ्नो धर्म र जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेमा मात्र देशको राजनीति दरिलो हुने र संविधानको रक्षा हुनसक्ने उनले उल्लेख गरे।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री बालेनका लागि लटौली सेन्चुरी रिसोर्टको १६ कोठा