टरिगाउँ विमानस्थललाई हालसम्मकै ठूलो बजेट विनियोजन

तुलसीपुर (दाङ) । दाङको तुलसीपुरस्थित ऐतिहासिक टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि संघीय सरकारले आर्थिक वर्ष २०८३÷८४ मा २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार विमानस्थलको १ हजार ५ सय मिटर धावनमार्ग विस्तार तथा पूर्वाधार सुधारका लागि सो रकम छुट्याइएको हो ।

टरिगाउँ विमानस्थलका लागि एकैपटक यति ठूलो बजेट विनियोजन भएको यो पहिलोपटक हो । वर्षौंदेखि बजेट भाषणमा विमानस्थल विस्तारको चर्चा हुने गरे पनि पर्याप्त रकम अभावका कारण योजना कार्यान्वयनमा जान सकेको थिएन । यसपटक भने बजेट सुनिश्चित भएसँगै दाङवासीमा नयाँ आशा जागेको छ ।

हाल टरिगाउँ विमानस्थलको धावनमार्ग करिब ७५० मिटर मात्र रहेकाले ठूला जहाज सञ्चालन सम्भव छैन । अहिले १९ सिटे ट्विनअटर विमानले सीमित उडान गर्दै आएको भए पनि नियमित सेवा सञ्चालन हुन सकेको छैन । धावनमार्ग विस्तार गरी करिब १ हजार ५०० मिटर पु¥याउन सकिए ७२ सिट क्षमतासम्मका जहाज सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।

यात्रुका लागि सहजता, क्षेत्रीय विकासमा टेवा
टरिगाउँ विमानस्थलमा नियमित र ठूला विमान सञ्चालन हुन सकेमा दाङसहित मध्यपश्चिम क्षेत्रका यात्रुलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ । हाल हवाई यात्रा गर्नुपर्ने अधिकांश यात्रु नेपालगन्ज वा भैरहवा पुग्न बाध्य छन् । विमानस्थल विस्तारपछि समय, खर्च र यात्राको झन्झट कम हुने स्थानीयको अपेक्षा छ ।

२०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थल देशका पुराना विमानस्थलमध्ये एक हो । कुनै समय नेपालगन्ज–टरिगाउँ–चौरजहारी हुँदै काठमाडौंसम्म उडान सञ्चालन हुने गरेको इतिहास बोकेको यो विमानस्थल पछिल्ला वर्षमा भने अपेक्षित विकासबाट वञ्चित रहँदै आएको थियो ।

आशंकाबीच आएको बजेटले बढायो उत्साह
गत १८ जेठमा दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले अर्थमन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै टरिगाउँ विमानस्थलका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको दाबी गरेका थिए । रातो किताब सार्वजनिक हुनुअघि आएको सो जानकारीप्रति धेरैले शंका व्यक्त गरेका थिए । दाङ क्षेत्र नम्बर २ का सांसद विपिनकुमार आचार्यले समेत बजेटको आधिकारिक विवरण नआउँदासम्म हतारमा निष्कर्ष निकाल्न नहुने प्रतिक्रिया दिएका थिए ।

विगतमा पनि विभिन्न सरकार र नेताहरूले विमानस्थल विस्तारको आश्वासन दिएर बजेट सुनिश्चित गर्न नसकेको अनुभवका कारण स्थानीय नागरिक विश्वस्त हुन सकेका थिएनन् । तर मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रममार्फत २५ करोड रुपैयाँ विनियोजन भएको पुष्टि भएपछि दाङवासीको दशकौं पुरानो अपेक्षाले मूर्तरूप लिने संकेत देखिएको छ ।

यसैबीच, बजेट विनियोजनपछि सांसद सुवेदीले टरिगाउँ विमानस्थल अब नयाँ चरणमा प्रबेस गरेको बताएका छन् । ‘धावनमार्ग विस्तारसँगै तुलसीपुरबाट ठूला विमान सञ्चालन हुने बाटो खुल्नेछ, जसले दाङको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा नयाँ सम्भावना सिर्जना गर्नेछ,’ सुवेदीले भने ।

वर्षौंदेखि चर्चा मात्र सीमित रहेको टरिगाउँ विमानस्थल विस्तारको योजना यसपटक बजेटसहित अघि बढेपछि दाङवासीले अब वास्तविक कार्यान्वयनको प्रतीक्षा गरेका छन् । यदि योजना समयमै सम्पन्न भयो भने टरिगाउँ विमानस्थलले केवल आकाशमा जहाज मात्र उडाउने छैन, दाङको विकास र समृद्धिका नयाँ सपनालाई समेत उडान दिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज