‘सुरिलो रुख’लाई ४ लाख पुरस्कार

सगरमाथा आरोही ५ चलचित्रकर्मीसहित ३१ चलचित्र सम्मानित

काठमाडौं । चलचित्र विकास बोर्डले विभिन्न चलचित्र एवम् चलचित्रकर्मीलाई सम्मानित तथा पुरस्कृत गर्दै आफ्नो २६ औँ वार्षिक उत्सव मनाएको छ । बोर्डले मंगलवार बोर्डको सभा हलमा २६ औँ वार्षिक उत्सव समारोह आयोजना गर्दै सम्मान एवम् पुरस्कार प्रदान गरेको हो ।

विगत २५वर्ष भित्र सगरमाथा आरोहण गर्ने ५ जना चलचित्रकर्मीलाई समारोहमा सम्मानित गरियो । ‘सगरमाथा आरोहण सम्मान’बाट अभिनेत्रीहरू निशा अधिकारी, कविता नेपाली, रोजिता बुद्धाचार्य, अभिनेता अर्जुन कार्की र मेकअप आर्टिष्ट निलम पौडेललाई समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिना, सञ्चार मान्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत र बोर्ड अध्यक्ष दिनेश डिसीले सम्मानित गरेका हुन् ।

चलचित्र विकास बोर्डले केही महिना अघि लघु चलचित्र, वृत्तचित्र प्रतियोगिताको आह्वान गरेको थियो । सो प्रतियोगितामा सहभागी लघु चलचित्र एवम् वृत्तचित्र मध्येबाट उत्कृष्टलाई सो समारोहमा पुरस्कृत गरियो । लघु चलचित्र तर्फ कमल एक्चै मगर निर्देशित ‘बाछिटा’ले प्रथम हुँदै १ लाख ५० हजार जित्यो । यस्तै लघु चलचित्रमै अमन श्रेष्ठ र डार्विन श्रेष्ठको ‘आई सि यु’ले द्वितीय हुँदै १ लाख रुपैयाँ र कुलुङ चलचित्र संघको कुलुङ भाषाको लघु चलचित्र ‘सिक्खुम’ले तृतीय पुरस्कार र ७५ हजार रुपैयाँ प्राप्त ग¥यो ।

सोही समारोहमा उत्कृष्ट वृत्तचित्रको पुरस्कार १ लाख रुपैयाँ सहित अनुपमा अमात्य निर्देशित ‘काठमाडौँ’ले जित्यो भने बिपना तामाङ भुजेल निर्देशित भुजेल भाषाको वृत्तचित्र ‘चोबो ल्यांम योङ हौ सम्मुख कर्म’ले ७५ हजार रुपैयाँ सहित द्वितीय पुरस्कार र भगवती कुमारी मैनाली उप्रेती निर्देशित ‘योगमाया खोज’ वृत्तचित्रले ५० हजार रुपैयाँसहित तृतीय पुरस्कार हासिल ग¥यो । यो प्रतियोगिताको निर्णायक संयोजकमा रमेश बुढाथोकी एवम् निर्णायकहरूमा करुण थापा, एन.वि. महर्जन, दीपेन्द्र के खनाल, सुचित्रा श्रेष्ठ थिए ।

यस्तै चलचित्र विकास बोर्ड स्थापना भएको वर्ष अर्थात २६ वर्ष यताबाट ७ करोड भन्दा माथिको व्यापार पर्ने ३१ वटा चलचित्रलाई यस वार्षिक उत्सव समारोहमा ‘स्वदेशी चलचित्र प्रवर्धन सम्मान’बाट सम्मानित गरियो । २६ वर्ष यता रिलिज भएर ७ करोड भन्दा माथि व्यापार गरि सम्मानित हुने चलचित्रहरूमा पूर्णबहादुरको सारंगी, कबड्डी ४, १२ गाउँ, परान, छक्का पन्जा ४, जारी, छक्का पन्जा १, महाजात्रा, छक्का पन्जा ५, कोहिनुर, छक्का पन्जा २, आ बाट आमा, शत्रु गते, जेरी अन टप, उनको स्वीटर, कबड्डी कबड्डी, बोक्सीको घर, छ माया छपक्कै, लाली बजार, लुट २ रहेको छ । यस्तै चलचित्र दिमाग खराब, अन्जिला, परदेशी २, छक्का पन्जा ३, प्रेमगीत ३, कबड्डी कबड्डी कबड्डी, पुजार सार्की, महापुरुष, कबड्डी, पशुपति प्रसाद २ (भस्मे डन) र आगोलाई पनि ७ करोड भन्दा माथिको व्यापार गरेबापत ‘स्वदेशी चलचित्र प्रवर्धन सम्मान’बाट सम्मानित गरियो ।

यस्तै स्टोरी बैंकमा उत्कृष्ट भएको स्कृप्ट ‘सुरिलो रुख’लाई ४ लाख रुपैयाँ प्रदान गरियो । यो चलचित्रका निर्माता प्रेम प्रसाद अधिकारी र निर्देशक निराकर भक्त राईलाई सो रकम सञ्चार मन्त्री तिमल्सिनाले वार्षिक उत्सव समारोहमा प्रदान गरेका हुन् । चलचित्र विकास बोर्डका दुई कर्मचारी नासु जागेश्वर नेपाली र खरिदार त्रिलोचन थापालाई सम्मान प्रदान गर्दै समारोहमा मन्त्री तिमल्सिनाले ‘बोर्डको वार्षिक गतिविधि र सिनेपा’ पुस्तक पनि विमोचन गरे । उनले सोही समारोहमा चलचित्र विकास बोर्डद्वारा सञ्चालित ‘सिनेपा : एप’को फुल भर्सनको पनि उद्घाटन गरे ।

समारोहलाई सम्बोधन गर्दै सञ्चार मन्त्री डा. तिमल्सिनाले लामो समयदेखि चलचित्रकर्मीहरूको प्रतीक्षामा रहेको राष्ट्रिय चलचित्र ऐन अब चाँडै प्रतिनिधि सभाबाट पारित हुने बताए । ऐनमा समेट्नु पर्ने भनेर हालै लिइएको सुझावलाई समेटेर यसलाई पारित गर्ने तयारी भइरहेको उनले बताए । नेपाली चलचित्रको प्रवर्धनमा सरकारसँगै चलचित्रकर्मीहरूको साथमा रहेको पनि उनले बताए । उनले बोर्डलाई २६ औँ वार्षिक उत्सवको शुभकामना दिँदै नयाँ ऐन आएपछि बोर्डबाट चलचित्रकर्मीहरूको धेरै समस्या सम्बोधन हुने विश्वास व्यक्त गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफू बोर्डमा नियुक्त भए यता २२ महिनामा गरिएको कार्यहरूको जानकारी गराए । बोर्डमा अब आफू रहनु पर्ने समय निकै कम रहेको र गर्नु पर्ने केही महत्त्वपूर्ण कामहरू बाँकी रहेको स्मरण गराए ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा अनुशासन आयोगको प्रमुखमा पौडेल