जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएका १४ पुरुष र एक महिला कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका हुन् ।
धनुषा, महोत्तरी, सर्लाही र भारत बिहार मधवापुरका संक्रमित घर फर्केको प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक डा. कुलदिप पण्डितले जानकारी दिएका छन् । उनका अनुसार ७ जना नेपाली र ८ जना भारतीय नागरिक घर फर्केका छन् । डिस्चार्ज हुनेमा १८ वर्षदेखि ४५ वर्षका व्यक्ति रहेको डा. पण्डितले बताए । डिस्चार्ज गरिएकाहरुमा कोरोना भाइरस सम्बन्धी कुनै पनि लक्षण नदेखिपछि दोस्रो र तेस्रो पटक स्वाब लिएर १४ दिनमा घर पठाइएको डाक्टर पण्डितले जानकारी दिए ।
प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना संक्रमित भएर आएकामध्ये २३ जना घर फर्किसकेका छन् । अस्पतालमा अहिले एक जना महिलासहित जम्मा १४ जना कोरोना संक्रमितहरु रहेका छन् । कोरोनाको कुनै पनि लक्षण नदेखिएपछि नेपाल सरकारको स्वास्थ्य निर्देशिका अनुसार सबैलाई डिस्चार्ज गरिएको छ । प्रदेश २ मा हालसम्म १९ हजार ९ सय ५९ थ्रोट र नोजल स्वाब परीक्षणबाट ९ सय ८३ जना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए ।
प्रदेश २ मा ९८३ जना संक्रमित रहेका छन् । जसमध्ये रौतहट ३९०, सर्लाही १४९, पर्सा ११४, धनुषा ९२, बारा ७०, सप्तरी ६९, महोत्तरी ५२ र सिरहामा ४७ जना रहेका छन् । जसमध्ये १ सय २३ जना कोरोना संक्रमित व्यक्तिहरु उपचारपश्चात निको भएर घर फर्किेसकेको छ ।






