थकाली भान्साघर संघ नेपाललाई कलेक्टिभ ट्रेडमार्क लोगोसहित सर्टिफिकेट प्रदान

काठमाडौं । थकाली भान्साघर संघ नेपालले उद्योग विभागबाट आधिकारिक रूपमा कलेक्टिभ ट्रेडमार्क सर्टिफिकेट र लोगो प्राप्त गरेको छ। संघले ‘थकाली भान्साघर संघ नेपाल’ नाममा कलेक्टिभ ट्रेडमार्कसहितको प्रमाणपत्र प्राप्त गरेको हो ।

संघका अध्यक्ष विवेक तुलाचनका अनुसार करिब तीन वर्षको निरन्तर प्रयासपछि संघले उक्त लोगो प्राप्त गर्न सफलता हासिल गरेको हो ।

सोमवार उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए । उनका अनुसार यो लोगोले नेपालभर रहेका संघमा आबद्ध सदस्य थकाली भान्साघरहरूलाई आधिकारिक पहिचान दिनेछ ।

अब संघमा आबद्ध प्रत्येक सदस्यले आफ्नो होटल वा रेस्टुरेन्टमा आधिकारिक कलेक्टिभ ट्रेडमार्क लोगो प्रयोग गर्न सक्नेछन् । यसबाट ग्राहकले प्रमाणित तथा आधिकारिक थकाली भान्साघर सजिलै चिन्ने अपेक्षा गरिएको तुलाचनले बताए ।

बजारमा थकाली नाम प्रयोग गर्ने धेरै व्यवसाय सञ्चालन भइरहेका कारण वास्तविक तथा प्रामाणिक (अथेन्टिक) थकाली भान्साघर कुन हो भन्ने विषयमा अन्योल रहेको अध्यक्ष तुलाचनले बताए । यही अन्योल हटाउन र आधिकारिक थकाली भान्साघरको पहिचान स्थापित गर्न कलेक्टिभ ट्रेडमार्क लोगो प्राप्त गरिएको उनले स्पष्ट पारे ।

उनका अनुसार लोगो प्रयोग गर्ने सदस्य संस्थाले ग्राहकले अर्डर गरेअनुसारको गुणस्तरीय तथा निर्धारित सेवा उपलब्ध गराउनुपर्नेछ । यदि लोगो प्रयोग गर्ने संस्थाले निर्धारित मापदण्डअनुसार सेवा वा खाना उपलब्ध गराउन नसके आवश्यक कारबाहीको व्यवस्था पनि गरिने उनले जानकारी दिए ।

कलेक्टिभ ट्रेडमार्क प्राप्त भइसकेपछि उक्त नाम र लोगो अन्य व्यक्ति वा संस्थाले अनधिकृत रूपमा प्रयोग गर्न नपाउने बताए । यसले थकाली भान्साघरको मौलिकता, विश्वसनीयता र ब्रान्ड पहिचानलाई थप मजबुत बनाउने उनको विश्वास छ।

संघले यसअघि पनि आधिकारिक रूपमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको भए पनि कलेक्टिभ ट्रेडमार्क प्राप्त भएपछि अब कानुनी रूपमा पनि यसको पहिचान थप सुदृढ भएको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

नाइमा एक्स्पो २०२६ मा ५१ स्टल र ४० भन्दा बढी नयाँ सवारी लन्च हुने