आफ्नै जिल्लामा बजेटको वर्षा, सुदूरपश्चिम सरकारमाथि स्रोत–साधन दुरुपयोगको आरोप

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि ल्याएको बजेटमा सरकारमा रहेका मन्त्रीले आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा अस्वाभाविक रूपमा बजेट केन्द्रित गरेको तथ्य सार्वजनिक भएपछि सरकार आलोचनाको केन्द्रमा परेको छ ।

प्रदेश सरकारले कुल ३७ अर्ब ७० करोड रुपैयाँबराबरको बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले १ असारमा प्रदेशसभामा प्रस्तुत गरेको बजेट तथा वार्षिक विकास कार्यक्रम पुस्तिकाको विवरण हेर्दा कैलाली, बैतडी र डोटीमा अन्य जिल्लाको तुलनामा उल्लेख्य रूपमा बढी बजेट विनियोजन गरिएको देखिएको छ ।

सबैभन्दा धेरै ७ अर्ब २१ करोड ८७ लाख रुपैयाँबराबरका योजना कैलालीमा राखिएको छ । त्यसमध्ये पनि मुख्यमन्त्री कमलबहादुर शाहको निर्वाचन क्षेत्र पर्ने स्थानीय तहमा मात्रै झन्डै दुई अर्ब रुपैयाँबराबरको बजेट केन्द्रित गरिएको देखिन्छ ।

विवरणअनुसार लम्कीचुहा नगरपालिकामा ८७ करोड १७ लाख, मोहन्याल गाउँपालिकामा ५२ करोड ५९ लाख, जानकी गाउँपालिकामा ४० करोड ७६ लाख, टीकापुर नगरपालिकामा ३२ करोड ४७ लाख र बर्दगोरिया गाउँपालिकामा ३१ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसले बजेट वितरणमा समानता र सन्तुलनको सिद्धान्तमाथि प्रश्न उठाएको छ ।

दोस्रो धेरै बजेट पाउने जिल्ला बैतडी हो, जहाँ ३ अर्ब २ करोड १२ लाख रुपैयाँबराबरका योजना समेटिएका छन् । बैतडी भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालको गृह जिल्ला हो । त्यसैगरी डोटीमा १ अर्ब ९२ करोड ७८ लाख, कञ्चनपुरमा १ अर्ब ८८ करोड ५८ लाख, डडेल्धुरामा १ अर्ब ८४ करोड ८५ लाख, अछाममा १ अर्ब ८१ करोड ६४ लाख, बझाङमा १ अर्ब ७२ करोड १७ लाख, दार्चुलामा १ अर्ब २२ करोड ६६ लाख तथा बाजुरामा भने केवल ८२ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटको यो वितरणले प्रदेश सरकारमाथि राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थका आधारमा स्रोत–साधन बाँडफाँट गरिएको आरोप थप बलियो बनेको छ । विकासका आवश्यकता, जनसंख्या, भौगोलिक विकटता तथा समग्र प्रदेशको सन्तुलित विकासलाई भन्दा सत्ता नेतृत्वको निर्वाचन क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै विभिन्न तहबाट आलोचना भइरहेको छ ।

विशेषगरी सबैभन्दा पिछडिएको र भौगोलिक रूपमा कठिन जिल्ला बाजुराले सबैभन्दा कम बजेट पाउनु तथा सत्ताको नेतृत्वमा रहेका व्यक्तिका जिल्ला र निर्वाचन क्षेत्रमा अत्यधिक बजेट केन्द्रित हुनु प्रदेश सरकारको बजेट वितरण प्रणालीमाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ ।

विपक्षी दल तथा सरोकारवालाले बजेट वितरणमा पारदर्शिता, समानुपातिकता र आवश्यकतामा आधारित योजना छनोट हुनुपर्ने माग गर्दै सरकारले बजेटलाई राजनीतिक प्रभावको माध्यम बनाएको आरोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

नेतृत्वसँगै समृद्धिको बाटो : षडानन्दका मेयर उदासको लोभलाग्दो कृषि कर्म