क्लियन एम्बाप्पे र ओस्मान डेम्बेलेले १–१ गोल गरेपछि फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ।
शुक्रबार बिहान बोस्टनमा रहेको गिलेट स्टेडियममा भएको खेलमा एम्बाप्पेले ६०औँ मिनेटमा प्रतियोगिताको आफ्नो आठौँ गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि डेम्बेलेले अर्को गोल थपेर फ्रान्सको जित सुनिश्चित गरे।
यस जितसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले सेमिफाइनलमा स्पेन वा बेल्जियममध्ये एकसँग टेक्सासको आर्लिङ्टनमा नेपाली समयअनुसार बुधबार बिहान खेल्नेछ।
अफ्रिकी च्याम्पियन मोरक्कोले फ्रान्सलाई कडा चुनौती दिने अपेक्षा गरिएको थियो। तर खेलभर फ्रान्सले नियन्त्रण कायम राख्यो र मोरक्कोले प्रभावशाली प्रदर्शन गर्न सकेन।
मोरक्कोले खेलको ८३औँ मिनेटसम्म गोलतर्फ कुनै पनि प्रहार गर्न सकेको थिएन। त्यसबेला अजेद्दिन ओउनाहीले प्रहार गरेको फ्रिकिकलाई फ्रान्सका गोलरक्षक माइक मेन्यानले बचाए।
फ्रान्सले सुरुदेखि नै दबाब बनाए पनि पहिलो गोल गर्न केही समय कुर्नुपर्यो। २८औँ मिनेटमा एम्बाप्पेले पाएको पेनाल्टीलाई मोरक्कोका गोलरक्षक यासिन बोनोले रोकेका थिए।
नुस्साएर माजराउईको फाउलपछि फ्रान्सले पेनाल्टी पाएको थियो। तर भिडियो सहायक रेफ्री (भिएआर) मार्फत् केही समयसम्म निर्णय जाँच गरेपछि मात्र एम्बाप्पेलाई पेनाल्टी प्रहार गर्न अनुमति दिइएको थियो।
पहिलो हाफसम्म मोरक्कोले बराबरी कायम राखे पनि फ्रान्सको लगातारको दबाब अन्ततः सफल भयो। ६०औँ मिनेटमा एम्बाप्पेले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट घुमाउरो प्रहार गर्दै गोल गरे।
६६औँ मिनेटमा डेम्बेलेले मिडफिल्डबाट बल अघि बढाउँदै तल्लो कुनामा उत्कृष्ट गोल गरेपछि फ्रान्सले २–० को सहज जित निकाल्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्यो।
सम्बन्धित समाचार
नेदरल्यान्ड पराजित, मोरक्को अन्तिम १६ मा प्रवेश
हाल्यान्डको २ गोलमा ब्राजिल स्तब्ध, (ब्राजिल १–२ नर्बे)
मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा
एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ टोलीको टाइटल स्पोन्सर
अर्जेन्टिनाको रोमाञ्चक जित
पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा






