सांसद रविन्द्र पटेलको निर्देशनमा रास्वपाको उम्मेदवारको सिफारिश

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटको कटहरिया नगरपालिकामा आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको विषयलाई लिएर आन्तरिक विवाद चर्किएको छ । रास्वपा कटहरिया नगरपालिकाका नगर सभापति भिखारी पण्डितले पार्टीले आफूहरूले भनेबमोजिम टिकट नदिए चुनावमा अर्को दललाई जिताउन लाग्ने खुला चेतावनी दिएका छन् ।

रास्वपा रौतहट–३ का सांसद रविन्द्र पटेलको निर्देशनमा उम्मेदवारहरूको नाम टुंगो लगाइएको छ । नगर सभापति पण्डितद्वारा हस्ताक्षरित एक पत्र सार्वजनिक भएसँगै रास्वपाभित्रको यो विवाद सडकमा आएको हो । सांसद पटेलको निर्देशनमा सिफारिस भएको उम्मेदवारलाई पार्टीले टिकट नदिए निर्वाचनमा अर्को दलका उम्मेदवारलाई बिजयी गराउँने खुल्ला चेतावनी समेत दिइएको छ ।

सार्वजनिक पत्रअनुसार कटहरिया नगरपालिकाको मेयर पदमा रास्वपाबाट स्वयं नगर सभापति भिखारी पण्डितलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यसैगरी, मधेश प्रदेश सभाका लागि मधेश प्रदेश कमिटी सदस्य राकेश दासलाई उम्मेदवार बनाउने निर्णय भएको पत्रमा उल्लेख छ ।

पत्रमा चुनावी रणनीति र उम्मेदवारको नाम सिफारिस मात्र गरिएको छैन, पार्टी नेतृत्वलाई सिधै चेतावनी समेत दिइएको छ । नगर सभापति पण्डितले पत्रमा लेखेका छन्, ‘यदि राष्ट्रिय स्वतन्त्र पार्टीले मेयरको टिकट भिखारी पण्डित र विधायकको टिकट राकेश दासलाई नदिएमा अर्को दललाई चुनाव जिताउन लाग्ने जानकारी गराउन चाहन्छु ।’

२०८४ को वैशाख, जेठमा पालिका र प्रदेश सभाको निर्वाचन गर्ने तयारी प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारले गरेको छ । तर निर्वाचनको मिति घोषणाा नहुँदै रास्वपाका नगर सभापतिले नै पार्टी नेतृत्वलाई यसरी दबाब दिँदै अन्तर्घात गर्ने धम्कीपूर्ण पत्र लेखेपछि रौतहट रास्वपामा तरंग पैदा भएको छ ।

पार्टी केन्द्रले तल्लो तहका कमिटीहरूलाई उम्मेदवार सिफारिस वा छनोटको कार्यमा नगर्न र आफूखुशी उम्मेदवार घोषणा नगर्न स्पष्ट निर्देशन यसअघि दिइसकेको छ । तर रौतहटमा रास्वपा सांसद रविन्द्र पटेलकै निर्देशनमा विभिन्न पालिकामा अहिले उम्मेदवार छनोट गर्दै टुंगो लगाउँने काम भइरहेको छ । रौतहटको कटहरिया नगरपालिकामा केन्द्रको निर्देशन खुला रुपमा उल्लंघन गर्दै टिकटका लागि दबाब दिइएको छ ।

रास्वपा सांसद पटेलको निर्देशनमा कटहरिया नगरपालिकाका नगर सभापति पण्डितले पार्टीको निर्देशन र स्थापित पद्धति विपरीत उम्मेदवारको नाम घोषणा मात्र गरेका छैनन्, आफूहरूले भनेबमोजिम नभए चुनावमा अर्को दललाई जिताउनेसम्मको खुला चेतावनी दिएका छन् ।

रास्वपाले टिकट वितरणमा पुरानो राजनीतिक अभ्यास तोड्दै नयाँ प्रणाली अपनाउने घोषणा गरिरहँदा स्थानीय तहबाट आएको यो धम्कीपूर्ण पत्रले पार्टीभित्र खैलाबैला मच्चाएको छ ।

केन्द्रको ‘उम्मेदवार सिफारिसको काममा नलाग्नू’ भन्ने स्पष्ट निर्देशनलाई लत्याउँदै पार्टी हितविपरीत अन्तर्घातको धम्की आएपछि रौतहट रास्वपामा आन्तरिक द्वन्द्व थप उत्कर्षमा पुगेको छ । यस अनुशासनहीन कदम र निर्देशन उल्लंघनको विषयमा रास्वपाको केन्द्रीय अनुशासन आयोगले चाल्ने कदमलाई चासोका साथ हेरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल