पोखरेली जेठोबुढो चामल: चर्चा र माग बढ्यो, उत्पादन निराशाजनक

पोखरा । पोखरा महानगरपालिका–१३ आर्बाका ५२ वर्षीय सूर्यराज भण्डारी व्यवसायिक किसान हुन् । मौसमी, बेमौसमी खेती गर्ने भण्डारीले भर्खरै आफ्नो १४ रोपनी खेतमा धान रोपेर सके । उनले पछिल्लो ३० वर्षयता पोखरा उपत्यकाको चर्चित जेठो बुढो धान खेती गर्दै आएका छन् । पोखरा उपत्यकाको हावापानी र माटोमा सुहाउँदो भएकाले यहाँ जेठो बुढो धानको खेती धेरै गरिन्छ ।

भण्डारी भन्छन्, ‘हजुरबुवाले पनि व्यावसायिकरुपमा धान खेती गर्नुहुुन्थ्यो, हजुरबुवाको पालामा पनि जेठो बुढो महँगो थियो, अहिले पनि यसको बजार मूल्य राम्रो छ ।’

लागतभन्दा उत्पादन र आम्दानी राम्रो हुने भएकाले आफूले जेठो बुढोको खेती गरिरहेको भण्डारीको भनाइ छ । वार्षिक जेठो बुढो धान बेचेर मात्रै ३ लाख ५० हजार रुपैयाँ आम्दानी हुने गरेको भण्डारीले बताए ।

२०५१ सालमा कृषि विभागले भण्डारीले लगाएको खेतको धानलाई मूल्यांकन गरी उनलाई राष्ट्रिय किसान घोषणा ग¥यो । त्यसपछि झन् गौरव लागेर निरन्तर यसकै खेतीमा लागेको भण्डारीको भनाइ छ । पोखराका किसानले आफ्नो खेतमा थोरै भएपनि यो जातको धान रोप्ने गरेका छन् । तर व्यावसायिक खेती गर्ने भने धेरै छैनन् ।

पोखरा–३० सिसुवाकी सबिता अधिकारीले पनि आफ्नो १२ रोपनीमा खेतमा जेठो बुढो धानको जात रोप्ने गरेकी छन् । आफूले खान पनि स्वादिलो, पाहुना आउँदा सजिलो र बेच्दा पनि बढी मूल्यमा जाने भएकाले यसको खेती गरेको अधिकारी बताउँछिन् ।

पोखरा उपत्यकामा यस वर्ष अहिलेसम्म धान रोपाइँको काम ७० प्रतिशत सकिएको महानगरपालिकाले जनाएको छ । खेतमा रोपिएकोमा धान अरु जातका पनि छन् । अब किसानहरु बिस्तारै धान गोडमेल र उत्पादनको पखाईमा हुनेछन् । जेठो बुढो धानको चामल देशभरि नै चर्चित छ । स्वाद र वास्नाका कारण यो चामलको धान अरु भन्दा महँगो पनि छ । यो धानको अहिलेको बजार मूल्य प्रतिमुरी ६ हजार २०० रुपैयाँ छ भने चामल किन्न चाहनेले प्रतिकिलो २५० रुपैयाँ तिर्नुपर्छ ।

जेठोबुढो धानको वैज्ञानिक नाम ओरिजा सेटिभा हो । ओरिजा सेटिभालाई एसियाली चामल पनि भनिन्छ । विज्ञहरुका अनुसार यो चामलको दुई मुख्य उप प्रजातिहरू छन् इण्डिका र जापोनिका । इण्डिका जातको बासना राम्रो हुन्छ । नेपाल बाहेक यो धानको खेती भारत, पाकिस्तान र थाइलैण्डमा पनि गरिन्छ । जापोनिका जात भने छोटो र मध्यम दाना भएको हुन्छ । यो धान धेरै जसो जापान, इटाली र संयुक्त राज्य अमेरिकामा खेती गरिन्छ ।

गण्डकी प्रदेश कृषि कार्यालयका अधिकृत खुबराज बरालका अनुसार जेठो बुढो धान सामुद्रिक सतहबाट ६०० देखि ९०० मिटर उचाइसम्मका फाँटमा लगाउन सकिन्छ । पोखरा उपत्यका यसको लागि उपयुक्त स्थान हो । यसको औषत उत्पादन १८० किलो प्रतिरोपनी रहन्छ भने सिँचाइ भएको चिसो पानी लाग्ने ठाउँ र अलिअलि पानी जम्ने ठाउँमा बढी उत्पादन लिन सकिन्छ ।

जेठो बुढोको संरक्षणमा संस्थादेखि सरकारसम्म
कास्कीमा लगभग ८७ हजार किसान छन् । कृषि विकास कार्यालय कास्कीको तथ्यांकअनुसार लगभग १८ हजार किसान व्यावसायिकरुपमा जेठो बुढो धानको खेती गर्छन् । यो धानको संरक्षणमा लागेको लि बर्ड नामक संस्थाका प्राविधिक कृष्ण लम्सालका अनुसार पोखरा उपत्यकामा गरिने धान खेतीमध्ये लगभग ३५ प्रतिशत जेठो बुढाको खेती हुन्छ ।

साथै पोखरा र यसको आसपासका क्षेत्र स्याङजा, पर्वत म्याग्दी, गोरखा, तनहुँ र लमजुङका फाटँमा पनि यसको बिस्तार भएको छ । लम्सालका अनुसार अन्य चामलको तुलनामा यसको बजार मूल्य तीन गुणा बढी छ । त्यसैले पनि किसानहरु यो जातको धान खेती गर्न चाहन्छन् भने संस्थाले पनि किसानलाई प्रोत्साहनका कार्यक्रम चलाएको छ ।

२०७६ सालदेखि पोखरा महानगरपालिकाले पनि यो धानको खेती गर्ने किसानलाई बीउमा ५० प्रतिशतसम्म अनुदान दिँदै आएको छ । महानगरपालिकाले स्थानीय जातको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले

२०० रुपैयाँ प्रतिकिलो पर्ने जेठोबुढो धानको बीउमा ५० प्रतिशत अनुदान दिने गरेको उनले बताए । यस वर्ष महानगरपालिकाबाट ९ सय किसानले ८ हजार किलोसम्म अनुदानको बीउ लिएका छन् ।

बीउमा अनुदानले यो धानको खेती गर्नेलाई सहज भएको महानगरको दाबी छ ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार अहिले पोखरा महानगरपालिकाभित्र २ लाख ४० हजार रोपनी जग्गामा धान खेती हुने गरेकोमा लगभग ८५ हजार रोपनीमा जेठोबुढो धानको खेती गरिन्छ । जसबाट लगभग २ लाख ५० हजार मुरी जेठो बुढो धानको उत्पादन हुँदै आएको छ । यसको माग धेरै भएपनि उपभोक्ताको मागअनुसार आपूर्ति भने पु¥याउन सकिएको छैन ।

धान फल्ने फाँटमा घर बने, घट्यो उत्पादन
पोखरा वरीपरी प्रर्याप्त धान उत्पादन हुने ठाउँमध्येका बिरुवा फाँट, कुँडहर, लेखनाथको सिसुवा, पटनेरीलगायतका खेती गरिने स्थानमा बस्ती बिस्तार भएका कारण खेतीमा चुनौती थपिएको छ । महानगरको तथ्यांकअनुसार ३५ वर्ष अघिसम्म पोखरा उपत्यकाका करिब २८ हजार हेक्टर जमिनमा खेती हुन्थ्यो । अहिले यो ४२ प्रतिशतले घटेर १२ हजार हेक्टरमा सीमित भएको छ । ‘पछिल्लो २० वर्षमा ४० हजार रोपनी खेतीयोग्य जमिन बसोबासमा परिणत भएको छ,’ कडरिया भन्छन् । धान फल्ने खेतमा घर बनेपछि यो धानको उत्पादन पनि घटेको छ ।

पोखरा आइपुगेका पर्यटक यो चामलको खाना चाहन्छन् । स्वाद चिनेका स्थानीयको रोजाइ पनि जेठो बुढो नै छ । तर खेती र उत्पादन उत्साहजनक छैन । पोखरा–३० सिसुवाकी ४१ वर्षीया शोभा वाग्लेका अनुसार बजारमा मनसुली चामल किलोको १०० रुपैयाँमा पाइन्छ । पोखरेली जेठोबुढो महँगो छ, तर महँगो तिर्छु भन्दा पनि कहिले त पाइँदैन । त्यसैले यो चामलको भात धेरैले चाडबाड र पारिवारिक समारोहमा मात्रै खाने गर्छन् । यो चामलको भात मीठो र पोषिलो हुने विश्वासका कारण सुत्केरी र बालबालिकालाई पनि खुवाउने चलन छ ।

पौष्टिक आहारले भरिपूर्ण, स्वादमा मीठो जेठो बुढो चामलको उत्पादन भने घट्दै गइरहेको छ । स्थानीय सरकारदेखि विभिन्न संघ सस्थाले पनि जेठो बुढो धानको खेती बढाउन पहल गरिरहेका छन् । तर यसको उत्पादन सोचेअनुसारले नबढ्नु दुःखद् भएको स्थानीय राधा ढुंगाना बताउँछिन् ।
प्रशिक्षार्थी

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

उग्रतारा–मेलौली सडक कालोपत्रेले बदल्यो अजयमेरुको चमडा