डडेल्धुरा । डडेल्धुराको ऐतिहासिक धार्मिक शक्तिपिठ उग्रतारा भगवतीदेखि बैतडीको प्रसिद्ध मेलौली भगवतीसम्म जोड्ने महत्वाकांक्षी उग्रतारा–मेलौली सडकले अजयमेरु–२ लाई विकासको नयाँ केन्द्रका रूपमा स्थापित गरेको छ । चार दशकअघि देखिएको सपना अहिले कालोपत्रे सडक, पक्की पुल, पुनर्निर्मित ऐतिहासिक दरबार र गाउँ–गाउँ पुगेका विकासका पूर्वाधारका रूपमा मूर्त रूप लिदै गएको छ ।
उग्रतारा–मेलौली सडकको मूल उद्देश्य डडेल्धुराको उग्रतारा भगवती र बैतडीको मेलौली भगवतीलाई सडक सञ्जालमार्फत जोड्दै धार्मिक पर्यटन प्रवद्र्धन गर्नु थियो । तर सडकले केवल दुई शक्तिपीठ मात्र जोडेको छैन, यसले सयौं गाउँबस्तीलाई विकासको मूलधारमा ल्याएको छ ।
महाकाली राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका–७ र ८ को सिमानास्थित उग्रतारा मन्दिर मूनीको रातागौणबाट छुट्ने यो सडक अमरगढी नगरपालिका–६ का विभिन्न बस्ती हुँदै अजयमेरु गाउँपालिकाका सबै ६ वटा वडालाई जोडेर बैतडीको मेलौली नगरपालिकासम्म पुगेको छ ।
हाल यस सडकको २० किलोमिटर बढी भाग कालोपत्रे भइसकेको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख नवदराज रावलले जानकारी दिए । पहिलो चरणमा यस सडकको सुरुवातदेखि १२ करोड ४५ लाख रुपियाँ लागतमा आठ किमि सडक कालोपत्रे गरिएको थियो भने दोस्रो चरणमा करिब २३ करोड रुपियाँ लागतमा १० किमि सडक खण्ड कालोपत्रे भएको थियो । उनले भने, तेस्रो चरणमा चमडा बजारभन्दा अगाडी पनि कालोपत्रे गरिएको छ । १५ करोडको बजेटले चमडा अगाडिको ३ किलोमिटर सडक खण्डमा कालोपत्रे गर्ने काम भईरहेको छ । ‘डीबीएस टी’ प्रविधिमा कालोपत्रे भएको यो सडकको चौडाइ पाँच मिटर रहेको छ ।
सडक कालोपत्रे भएसँगै अजयमेरु गाउँपालिका १ समैजी र वडा नं. २ चमडाका दर्जनौ वस्तिका हजारौ स्थानीयले कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यता हटेकोे छ । यात्राको समय छोटिएसंगै यातायात सहज बनेको र स्थानीय उत्पादन बजारसम्म पु¥याउन किसानलाई ठूलो राहत पुगेको वडा नं. २ का वडा अध्यक्ष शिवराज भट्टले बताए ।
उग्रतारा–मेलौली सडकमा पर्ने नाउलाकोट गाड र पोखार गाडमा केही वर्षअघि नै पक्की मोटरेबल पुल निर्माण भइसकेका छन । हाल बसाना गाडमा पनि मोटरेबल पुल निर्माणको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा हुने यातायात अवरोध हट्ने र सडक वर्षभर सञ्चालनमा रहने वडा अध्यक्ष भट्टले बताए ।
सडक कालोपत्रेसँगै अजयमेरु–२ का भित्री गाउँहरूमा समेत विकासका पूर्वाधार विस्तार भएका छन । वडा भित्रका धेरै ग्रामीण सडक विस्तारसंगै गाउँका बाटोहरू कंक्रिट गरेर व्यवस्थित बनाइएको उनले जानकारी दिए । चमडाको बसाना गाउँमा रहेको प्रसिद्ध बेतालमाण्डौ स्थानीय धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्र मानिन्छ । यसको संरक्षणका लागि पर्खाल निर्माण गरिएको छ । त्यसैगरी यस क्षेत्रका दर्जनौ मठ–मन्दिरको प्राचीन शैलीमै जीर्णाेद्धार गरिएको छ । यसले धार्मिक पर्यटन प्रवद्र्धनसंगै स्थानीय संस्कृतिको संरक्षणमा योगदान पु¥याएको उनको भनाई छ ।
स्थानीय हरी ऐरका अनुसार अहिले अधिकांश बस्ती सडक पहुँचमा पुगेका छन । यसले शिक्षा, स्वास्थ्य, कृषि र अन्य सेवामा पहुँच बढाएको छ । सडक पुगेसंगै बसाना गाउँमा सिँचाइ योजना पनि निर्माण गरिएको छ । सिचाइ सुविधाले खेतीयोग्य जमिनमा उत्पादन बढाउन सहयोग पुगेको उनले बताए ।
सम्बन्धित समाचार
स्याउले बजारमा खानेपानी राहत: ३२० फिट गहिराइमा डिप बोरिङबाट पानी भेटियो
बिना हेलमेट बुलेट चलाएका मुख्यमन्त्री कमलबहादुर शाहलाई ५०० रुपैयाँ जरिवाना
धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने
बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा
पत्रकार खेम भण्डारी पक्राउ
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान






