स्कारपिओ दुर्घटना हुँदा विद्युत् प्राधिकरणका २ कर्मचारीको मृत्यु

इटहरी । इटहरीमा नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको स्कारपिओ दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सोमबार राति करिब ११ः४० बजेतिर इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा सेउती पुलबाट करिब दुई सय मिटर दक्षिण तरहरातर्फ जाँदै गरेको बा १ ञ १६५१ नम्बरको स्कारपिओ आफैं अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुर्घटनामा चालक धरान उपमहानगरपालिका–१३ निवासी करिब ३३ वर्षीय बिर्खबहादुर राई र गाडीमा सवार धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले राति १२ः४५ बजेतिर दुवै जनालाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा धरान–२० निवासी ३२ वर्षीय पदम राई घाइते भएका छन्। उनको निधार र छातीमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेका छन् र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा स्कारपिओ तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ। दुर्घटनाग्रस्त गाडी इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख हरिराम पोखरेलका अनुसार राति ९ः५४ बजेतिर दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी टोली परिचालन गरिएको थियो। प्रसारण लाइनमा समस्या देखिएपछि विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने उद्देश्यले टोली खटाइएपनि गन्तव्यमा पुग्नुअघि नै दुर्घटना हुँदा दुई कर्मचारी गुमाउनुपरेको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु