जसपा नेतृत्व टुंगो लाग्यो, ठाकुर र यादव अध्यक्ष, बाबुराम भट्टराई चौथो वरीयतामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा आइतबार दर्ता भएको छ । नेतृत्वको विवाद टुंगो लगाउँदै जसपा आयोगमा दर्ता भएको हो । यद्यपि, आयोगले आधिकारिकता प्रदान गरेको छैन ।

जसपा अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । वरिष्ठ नेतामा अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन् । आयोगमा बुझाइएको पत्रमा ५१ सदस्यीय केन्द्रीय समिति रहेको उल्लेख छ ।

पदाधिकारीमा पाँच जना नेतालाई राखिएको छ । पहिलो मर्यादाक्रममा ठाकुर र दोस्रोमा यादव रहेका छन् । वरिष्ठ नेतामा तीन जना छन् । तेस्रो, चौथो र पाँचौंमा क्रमशः राई, भट्टराई र महतो रहेका छन् । अन्य नेताको मर्यादाक्रम खुलाइएको छैन ।

संघीय परिषद् अध्यक्ष, संसदीय दलको नेतालगायतका नेतृत्व टुंगो लगाउँन बाँकी रहेको छ । संघीय परिषद्को अध्यक्ष भट्टराईलाई बनाउन खोजिए पनि उनले अस्वीकार गरेका छन् । मर्यादाक्रमलाई लिएर भट्टराईले परिषद् अध्यक्ष अस्वीकार गरेका हुन् । संसदीय दलको नेतामा महतो हुने निश्चित छ । यद्यपि, टुंगो लाग्न बाँकी छ ।

गत १० जैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको थियो । पार्टी एकीकरण गरी त्यसको भोलिपल्ट निर्वाचन आयोगलाई जानकारी दिइएको थियो ।

निर्वाचन आयोगमा पार्टी एकीकरणका लागि निवेदन दिएको शनिबार ४५ दिन पुगेको भोलिपल्ट आइतबार दर्ताका लागि आवश्यक कागजातसहित नेताहरू आयोग पुगेका थिए । ५१ सदस्यीय केन्द्रीय समितिमा राजपाबाट २६ जना र समाजवादीबाट २५ जना नेता रहेका छन् ।

राजपाबाट केन्द्रीय समितिमा ठाकुर, महतोसहित महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ला, वृषेशचन्द्र लाल, गोविन्द चौधरी, जितेन्द्रप्रसाद सोनार, डा. विजयकुमार सिंह, उमाकान्त झा, चन्दा चौधरी रहेका छन् ।

यसैगरी, सदस्यमा लक्ष्मणलाल कर्ण, मृगेन्द्रकुमार सिंह, नवलकिशोर साह, मनीषकुमार सुमन, राजकुमार लेखी, अमृता अग्रहरी, रेशमलाल चौधरी, रामनरेश यादव, केशवकुमार झा, एकबाल अहमद शाह, निर्जला राउत, रमेशप्रसाद यादव र रामकुमार ओझा रहेका छन् ।

समाजवादी केन्द्रीय समितिमा यादव, राई, डा. भट्टराईका साथै राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, परशुराम खापुंग युवराज कार्की, रकम चेमजोङ, रेणुकुमारी यादव, लालबाबु राउत, हिसिला यमी, हेमराज राई, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहायप्रसाद यादव, डम्बरबल्लभ खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी, इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत, प्रशान्त सिंह, भक्तबहादुर शाह, सुशीला श्रेष्ठ र विजयकुमार यादव रहेका छन् ।

पार्टी विधानमा राष्ट्रिय महाधिवेशन, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीति समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, संघीय संसदीय दल, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखापरीक्षण आयोग रहने प्रस्ताव गरिएको छ । यद्यपि, यी निकायको नेतृत्व टुंगो लगाउन बाँकी नै छ ।

शीर्ष नेताका बीचमा आयोगमा केन्द्रीय समिति ५१ सदस्यीय भनेर बुझाइए पनि त्यसलाई कार्यकारिणी समितिका रूपमा राखिनेछ । पार्टीको केन्द्रीय समिति ७ सय १ र राजनीतिक समिति १ सय ५१ सदस्यीय बनाउने सहमति भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 440 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान