अस्ट्रिया । नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम दक्षिणपन्थी समर्थकहरूको तीर्थस्थल बन्न नदिन अस्ट्रियाले सो भवनलाई औपचारिकरूपमा प्रहरी कार्यालयमा रूपान्तरण गरेको छ । लामो विवाद र कानुनी प्रक्रियापछि बुधबार नयाँ प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको हो ।
अस्ट्रियाली अधिकारीहरूका अनुसार हिटलरको जन्मघरलाई प्रहरी कार्यालय बनाउने निर्णयले सो स्थानलाई नाजी विचारधाराको प्रतीकका रूपमा प्रयोग हुनबाट रोक्नेछ । साथै, यसले वर्षौंदेखि चलिरहेको ‘यस भवनको भविष्य के हुने ?’ भन्ने विवादको पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।
ब्राउनाउ आम इन सहरको केन्द्रमा रहेको १७औं शताब्दीको सो भवन करिब दुई करोड युरो लागतमा पुनःनिर्माण गरिएको हो । निर्धारित समयभन्दा तीन वर्ष ढिलो सम्पन्न भएको पुनर्निर्माणपछि भवनको स्वरूप पूर्ण रूपमा परिवर्तन गरिएको छ । जर्मन सीमानजिक रहेको सो घरमा एडोल्फ हिटलरको २० अप्रिल १८८९ मा जन्म भएको थियो ।
पहिले पहेँलो रङको रहेको भवनलाई सेतो रङले रंग्याइएको छ भने प्रवेशद्वारमा प्रहरी कार्यालयको चिह्न राखिएको छ । भवनबाहिर रहेको स्मारक शिलालेखमा ‘शान्ति, स्वतन्त्रता र लोकतन्त्रका लागि, फेरि कहिल्यै फासीवाद होइन’ भन्ने सन्देश अझै कायम राखिएको छ ।
सन् १९३८ मा नाजी जर्मनीले अस्ट्रियालाई गाभेपछि करिब ६५ हजार अस्ट्रियाली यहुदी मारिएका थिए भने थप एक लाख ३० हजारभन्दा बढीलाई देशनिकाला गरिएको थियो । यद्यपि, होलोकास्टप्रतिको आफ्नो ऐतिहासिक जिम्मेवारी पूर्ण रूपमा स्वीकार नगरेको भन्दै अस्ट्रिया समय–समयमा आलोचित हुँदै आएको छ ।
यो भवन सन् १९१२ देखि एउटै परिवारको स्वामित्वमा थियो । सन् १९७२ देखि भने अस्ट्रियाली सरकारले भाडामा लिएर अपांगता भएका व्यक्तिहरूको सेवा केन्द्रका रूपमा प्रयोग गर्दै आएको थियो । अन्तिम निजी मालिक गेर्लिन्डे पोमरले भवनको पुनःउपयोगका विभिन्न प्रस्तावको विरोध गर्दै आएका थिए ।
अस्ट्रियाली संसद्ले सन् २०१६ मा विशेष कानुनमार्फत भवन अधिग्रहण गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतले करिब आठ लाख १० हजार युरोमा सो सम्पत्ति खरिद गर्ने सरकारी निर्णयलाई अनुमोदन गरेको थियो ।
भवन भत्काउने, संग्रहालय बनाउने वा अन्य प्रयोजनमा प्रयोग गर्ने विकल्पमाथि लामो छलफल भए पनि इतिहासविद्हरूले भवन ध्वस्त पार्न नहुने धारणा राखेका थिए । अन्ततः विशेषज्ञ आयोगको सिफारिसमा यसलाई प्रहरी कार्यालय बनाउने निर्णय गरिएको हो ।
सरकारले स्थायी प्रहरी उपस्थितिले नाजी विचारधाराप्रति कुनै सहिष्णुता नरहेको स्पष्ट सन्देश दिने र भवनलाई राजनीतिक रूपमा तटस्थ बनाउने विश्वास व्यक्त गरेको छ ।
तर यातना शिविरबाट बाँचेकाहरूको संस्था मौथाउसेन कमिटी अस्ट्रियाका प्रवक्ता रोबर्ट इटरले भने भवनको स्वरूप परिवर्तन गर्दैमा नव–नाजी समर्थकहरूको तीर्थयात्रा रोकिने विश्वास गर्न नसकिने बताए । उनले इतिहासकै कुख्यात नरसंहारकर्तामध्ये एकको जन्मस्थल भएकाले त्यसको ऐतिहासिक पहिचान मेटाउन सम्भव नरहेको धारणा व्यक्त गरे ।
सम्बन्धित समाचार
मेस्सी किन बने टोलीकै सबैभन्दा ठूलो प्रेरणा ?
संविधान संशोधनवारे कांग्रेसको धारणा सार्वजनिक हुँदै
घर झगडाले ‘पुराना’ दल झन् कमजोर
ओमानमा ड्रोन आक्रमण
नयाँ राजनीतिक अध्यायका नायक ?
प्रदेशमा पुराना दलबीच नयाँ गठबन्धनको गृहकार्य
हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र
भागेश्वरको बगरकोट अगाडिसम्म सडक कालोपत्रे






