काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्ष अघिदेखि सुरु भएको बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश गरेको छ । महाअभियानको ६८९औँ हप्तामा आज सिनामङ्गल क्षेत्रको बागमती नदी किनारमा सफाइ गरिएको छ ।
सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहर लगभग तीन मेट्रिक टन सङ्कलन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । उनका अनुसार सफाइका क्रममा सङ्कलन गरिएको नकुहिने फोहर काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको छ ।
सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष डा. आनन्दसिंह भाट, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, बागमती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहेको उनले बताए ।
अर्को हप्ता साउन १६ गते शनिबारको सफाइ कार्यक्रम गुह्येश्वरी पानी प्रशोधन केन्द्रमुनिको बागमती नदी किनारमा गरिने सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ अभियान सुरु भएको हो । सुरु भएदेखि प्रत्येक हप्ता शनिबार यो अभियानले निरन्तरता पाउँदै आएको छ ।
झरी, गर्मी, जाडो, भूकम्प, कोरोना महामारी, दसैँ तिहारजस्ता चाडपर्वका दिन शनिबार परे पनि सफाइ अभियान रोकिएको छैन । यो अभियानबाट प्रभावित भई काठमाडौं उपत्यकामा बागमतीका सबै सहायक नदीमा पनि सफाइ अभियान सुरु भइसकेका छन् ।
काठमाडौं उपत्यका बाहिरका मुख्य सहर, नदी सभ्यता क्षेत्रमा पनि सफाइ अभियान सुरु भएको छ । हाल देशभर करिब १०८ भन्दा बढी स्थानमा साप्ताहिक रुपमा शनिबार सफाइ अभियान चलिरहेको छ । बागमती सफाइ महाअभियानले देशभर सफाइ जागरण फैल्याएको छ ।
सम्बन्धित समाचार
धनगढी उपमहानगरद्वारा दशरथ चन्द विश्वविद्यालय परिसर सरसफाइ
विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
पहिराले मेची राजमार्ग अवरुद्ध
के हात्तीले वर्षौँसम्म रिस राख्छ ?
अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
खोटाङको जेलमा खाना खाएर सुतेका कैदीको मृत्यु
कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत






