सुनसरी घटना शान्त पार्न ९ दलको साझा अपिल

शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न आग्रह, कोशी सरकारद्वारा मृतक परिवारलाई २ लाख राहत

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको प्रदर्शन र त्यसपछिको हिंसात्मक झडपले उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै प्रमुख ९ राजनीतिक दलले शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गरेका छन् ।

संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सातबुँदे साझा अपिल जारी गर्दै देशभर शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षलाई आग्रह गरेको हो ।

देवानगञ्जमा आइतबार बोलबम यात्राको तयारीका क्रममा बाजागाजालाई लिएर सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत हुँदा एक जनाको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको थियो । घटनापछि विभिन्न जिल्लामा समेत तनाव फैलिन सक्ने आकलनका बीच राजनीतिक दलहरूले संयुक्त रूपमा संयमताको सन्देश दिएका हुन् ।

संयुक्त वक्तव्यमा सदियौँदेखि कायम रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र पारस्परिक भाइचारालाई कमजोर बनाउने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा अफवाह र उत्तेजनाबाट टाढा रहन सबै नागरिकलाई आग्रह गरिएको छ। दलहरूले आवेग र मुठभेडबाट समस्याको समाधान ननिस्कने, बरु परिस्थिति थप जटिल बन्ने भएकाले संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्ने तथा नागरिकमा विश्वासको वातावरण निर्माण गर्न दलका तल्ला कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ । स्थानीय प्रशासन, धार्मिक अगुवा र नागरिक समाजसँग सहकार्य गर्दै शान्ति कायम राख्न सक्रिय भूमिका खेल्न पनि आह्वान गरिएको छ ।
सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न आग्रह गर्दै दलहरूले अपुष्ट सूचना, उत्तेजक सामग्री र द्वेष फैलाउने गतिविधिबाट टाढा रहन सबैलाई अनुरोध गरेका छन् ।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत तथा जसपा नेपालका नेता प्रकाश अधिकारी सहभागी थिए ।

सभामुख र उपराष्ट्रपतिबाट संयमताको आग्रह

घटनापछि प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई देशवासीका नाममा सम्बोधन गरी नागरिकमा विश्वास जगाउन आग्रह गरेका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि विज्ञप्ति जारी गर्दै सबै नागरिकलाई संयम अपनाउन, सामाजिक सद्भाव कायम राख्न र सहअस्तित्वको भावना बलियो बनाउन अपिल गरेका छन् ।

कोशी सरकारद्वारा राहत घोषणा

कोशी प्रदेश सरकारले सुनसरी घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । साथै आगजनीबाट क्षति भएका घर पुनर्निर्माणका लागि प्रति परिवार ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराइने निर्णय पनि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको सम्बोधन माग

सर्वदलीय बैठकमा सहभागी दलहरूले प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गरी परिस्थिति सामान्य बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए । रास्वपा सभापति रवि लामिछानेले पनि प्रधानमन्त्री वालेन्द्र शाहलाई औपचारिक सम्बोधन गर्न आग्रह गरेका थिए भने सभामुख अर्यालले समेत सम्बोधनका लागि आग्रह गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले भने मंगलबार राति सार्वजनिक गरिएको प्रधानमन्त्रीको सामाजिक सञ्जालमार्फत व्यक्त धारणा नै सरकारको आधिकारिक धारणा भएको बताएको छ । सर्वदलीय बैठकपछि सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी दलहरूको साझा धारणा जानकारी गराएका थिए । स्रोतका अनुसार उनले वर्तमान संवेदनशील परिस्थितिमा राष्ट्रपतिबाट पनि अभिभावकीय भूमिका निर्वाह गर्दै देशवासीलाई शान्ति र संयमका लागि सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।

छानबिन समिति घटनास्थलमा, स्थानीयसँग बयान

घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति बुधबार घटनास्थल पुगेको छ । टोलीले घटनास्थलको स्थलगत अध्ययनसँगै स्थानीय बासिन्दा, प्रत्यक्षदर्शी र सरोकारवालासँग सोधपुछ तथा बयान संकलन थालेको छ ।

दुई समूहबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समिति सोमबार नै विराटनगर पुगेको थियो । पहिलो चरणमा टोलीले उपचाररत घाइतेहरूलाई भेटेर घटना’bout बयान लिएको थियो । त्यसपछि बुधबार बिहान घटनास्थल पुगेर झडप भएको क्षेत्र, सुरक्षा परिचालनको अवस्था तथा घटनाक्रमको स्थलगत अवलोकन गरेको हो ।

समितिले स्थानीय बासिन्दा, प्रत्यक्षदर्शी, जनप्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीसँग पनि छुट्टाछुट्टै छलफल गर्दै घटनाको वास्तविक कारण, गोली चलाउनुपरेको अवस्था तथा त्यसअघिका परिस्थिति’bout जानकारी संकलन गरिरहेको जनाएको छ । समितिले संकलित प्रमाण, बयान र स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार गरी एक साताभित्र गृह मन्त्रालयमा बुझाउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

गृहमन्त्री पदबाट सुधनलाई हटाउन जेन–जी समूहको माग