बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वास मत लिने भएका छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा दिएपछि बानियाँ अल्पमतमा परेपछि विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेसको सत्ता गठबन्धन टुटेसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएर अघि बढ्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय गरेको छ ।

बिहीबार ललितपुरमा बसेको दलको बैठकले वर्तमान सरकारलाई निरन्तरता दिन र समर्थन प्राप्त गर्न अन्य दलहरूसँग छलफल गर्ने समेत निर्णय गरेको छ ।

बैठकले सरकारका लागि आवश्यक अन्य राजनीतिक दलहरूसँग समन्वय र संवाद अगाडि बढाउने निर्णय गरेको संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए । महर्जनका अनुसार प्रदेशमा पछिल्लो पटक उत्पन्न राजनीतिक परिस्थितिकाबिच कांग्रेसले सरकारको निरन्तरताका लागि विश्वासको मत लिन उक्त निर्णय गरेको हो। संसदीय दलका नेता समेत रहेका बानियाँको नेतृत्वको बैठकले सरकारको निरन्तरताका लागि प्रदेशसभामा रहेका सबै राजनीतिक दलहरूसँग लिखित वा मौखिक संवाद गर्ने जिम्मेवारी बानियाँलाई तोकेको छ।

बैठकले कांग्रेस नेता पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। यसैगरी कोशी प्रदेशको सुनसरी जिल्लास्थित देवानगञ्जको कप्तानगञ्जमा भएको दुःखद घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै दलले थप हिंसा हुन नदिन र धार्मिक(सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई धैर्य र संयम रहन अपिल समेत गरेको छ। संवादको माध्यमबाटै समस्याको समाधान खोज्न र परिस्थिति थप बिग्रन नदिन सरकारले सक्रिय भूमिका खेल्नुपर्नेमा कांग्रेसले जोड दिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने