काठमाडौं । राजधानी उपत्यकामा महिला तथा वृद्धालाई लक्षित गरी सुनका सिक्री र बहुमूल्य गरगहना लुटपाट गर्दै आएको आरोपमा प्रहरीले ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा भएका सिक्री लुटपाट घटनामा संलग्न रहेको आरोपमा समूहका सदस्यहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिएको हो।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा आपराधिक पृष्ठभूमि भएको ‘कर्मा समूह’ उपत्यकामा भइरहेका लुटपाटका घटनामा सक्रिय रहेको खुलेपछि उनीहरूको खोजी सुरु गरिएको थियो। खोजतलासका क्रममा काठमाडौंका कोटेश्वर, नयाँ बानेश्वर, टोखा तथा काभ्रेको बनेपामा भएका घटनामा प्रत्यक्ष संलग्न चार जनालाई बनेपाबाट पक्राउ गरिएको थियो।
थप अनुसन्धानपछि समूहका नाइके सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका ३४ वर्षीय कर्मा तामाङलाई शनिबार राति बूढानीलकण्ठ–१३, चुनिखेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा कर्मा तामाङले आफूसँग रहेको खुकुरी प्रहार गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गर्दा पनि उनी मोटरसाइकलमा भाग्न खोजेपछि प्रहरीले घुँडामुनि एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ। घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घटनास्थलबाट एउटा मोटरसाइकल, एउटा खुकुरी, पाँच थान नम्बर प्लेट तथा मोटरसाइकल चोरीमा प्रयोग हुने टी–लक, मास्टर कीलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका अनुसार समूहले महिला तथा वृद्धाको गतिविधि निगरानी गरी उनीहरूलाई निशाना बनाउने, प्रतिकार गरे घाँटी थिच्ने, लछारपछार गर्ने वा कुटपिट गरेर सुनका सिक्री तथा गरगहना लुट्ने गरेको खुलेको छ।
प्रहरीका अनुसार समूहले मुख्य रूपमा २२० सीसीका पल्सर मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर लुटपाटमा प्रयोग गर्ने र घटना सम्पन्न भएपछि पुनः स्वरूप परिवर्तन गरी उपत्यकाबाहिर सस्तो मूल्यमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार शान्तिनगर, नरेफाँट, धुलिखेल–बनेपा र धापासीलगायत क्षेत्रमा भएका सिक्री लुटपाटका घटनामा पनि यही समूहको संलग्नता रहेको प्रहरीको दाबी छ। ती घटनामा पीडितलाई बाटो सोध्ने बहानामा रोक्ने, पछाडिबाट आक्रमण गर्ने र सुनका सिक्री लुटेर मोटरसाइकलमार्फत फरार हुने शैली अपनाइएको थियो।
यस प्रकरणमा पक्राउ पर्नेमा समूहका नाइके कर्मा तामाङ, प्रतिमान गोले, पासाङ घिसिङ, आले गुरुङ र सुन व्यवसायी मनोज तामाङ रहेका छन्।
प्रहरीका अनुसार प्रतिमान गोले डाँका तथा चोरी मुद्दाका अभियुक्त हुन् भने पासाङ घिसिङ काठमाडौं उपत्यकामा २० भन्दा बढी मोटरसाइकल चोरीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस्तै, मनोज तामाङले लुटिएका सुनका गरगहना गलाएर स्वरूप परिवर्तन गरी बिक्री गर्ने गरेको आरोप प्रहरीले लगाएको छ।
प्रहरीले कर्मा तामाङ यसअघि पनि चोरी तथा डाँका सम्बन्धी विभिन्न मुद्दामा पक्राउ परेको, प्रहरी हिरासतबाट फरार भएपछि पुनः सिक्री लुटपाटमा सक्रिय भएको जनाएको छ। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
सम्बन्धित समाचार
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
खैरो हेरोइनसहित चार जना पक्राउ
विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
सशस्त्र प्रहरीद्वारा झण्डै १५ लाख रुपैयाँबराबरका अवैध सामानसहित एक जना पक्राउ
‘बाँदर हेरालु’का लागि जागिर खुल्यो, मासिक तलब कति ?
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन निर्देशन
नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने






