बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य, ग्यासको भने यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो । साउन १८ गते बिहान १ बजेदेखि लागू हुने गरी निगमले मूल्य बढाएको हो । निगमको यो मूल्यवृद्धि कार्यान्वयनमा आइसकेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट १५ साउनमा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २०.१९ रुपैयाँ र डिजेलमा ३९.६७ रुपैयाँ बढेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यून दरमा मात्र मूल्य बढाइएको निगमको दाबी छ ।

निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ३, डिजेल र मट्टितेलमा २ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले मूल्यवृद्धि भएको हो ।

योसँगै पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७, दोश्रो वर्गका लागि प्रतिलिटर १९९ र तेश्रो वर्गका लागि २०० रुपैयाँ पुगेको छ । यसअघि क्रमशः पहिलो, दोश्रो र तेश्रो वर्गका लागि १९४, १९६ र १९७ रुपैयाँ मूल्य कायम रहेको थियो । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७, दोश्रो वर्गका लागि १९९ र तेश्रो वर्गका लागि प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ ।

यसअघि डिजेल र मट्टितेल क्रमशः पहिलो, दोश्रो र तेश्रो वर्गका लागि प्रतिलिटर रु १९२, १९४ र १९५ रुपैयाँ कायम थियो ।

त्यस्तै, हवाई इन्धनको मूल्य २२९ रुपैयाँबाट बढेर प्रतिलिटर २४९ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २०६० रुपैयाँ यथावत राखिएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा पनि १५ दिनमै झण्डै डेढ अर्ब रुपैयाँ घाटा हुने दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

epaper

ताजा समाचार

यी प्रदेशका केही स्थानमा आज भारी वर्षाको पूर्वानुमान