फास्ट ट्रयाक निर्माणमा मुख्यमन्त्रीकै कम्पनीको मनोमानी

मकवानपुर । तराई–मधेश द्रुतमार्ग काममा ढीलाइ गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निर्माण कम्पनीलाई नेपाली सेनाले कारवाही प्रक्रिया अन्तरगत फेरि नोटिस् टु करेक्ट पत्र पठाएको छ ।

सेनाले दियो ३० दिनभित्र व्यवस्थापन परिवर्तनदेखि कार्यतालिका बुझाउनेसम्मको अन्तिम समय

राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गतको सीपी बी प्याकेज निर्माण गरिरहेको चिनियाँ ठेकेदार एक्ससीजीसी–हनुमान–बनियाँ जेभीलाई कार्य सम्पादन सच्याउन दोस्रोपटक चेतावनी दिएको हो ।

कमजोर कार्यसम्पादनपछि परामर्शदाता इन्जिनियरले अन्तिम अवसरस्वरूप ‘नोटिस टु करेक्ट’को अवधि थप्दै ७ र १४ दिनभित्र पूरा गर्नुपर्ने कडा सर्तसहित निर्देशन दिएको छ । तोकिएको अवधिमा सुधार नआए थप कारबाही गर्ने र आवश्यक परे ठेक्का अन्त्यसम्मको प्रक्रिया अघि बढ्न सक्ने संकेत गरेको छ ।

योशिन इन्जिनियरिङ कर्पोरेसन नेतृत्वको परामर्शदाताले २० जुलाई र त्यसको ९ दिनपछि २९ जुलाई २०२६ मा जारी दुई फरक पत्रमार्फत ठेकेदारलाई कार्यसम्पादन सुधार्न अन्तिम चेतावनी दिएको हो ।

परामर्शदाताले १६ जुन २०२६ मा जीसीसीको उपधारा १५.१ अनुसार पहिलो पटक ‘नोटिस टु करेक्ट’ जारी गर्दै ३० दिनभित्र कम्तीमा ३ प्रतिशत भौतिक प्रगति गर्न निर्देशन दिएको थियो । तर सो अवधिको अन्त्यसम्म ठेकेदारले ०.१७२ प्रतिशत मात्र भौतिक प्रगति गरेको पत्रमा उल्लेख छ । ठेकेदारले १९ जुनमा ०.५६ प्रतिशत प्रगति गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यो लक्ष्यसमेत पूरा हुन सकेन ।

पत्रमा इन्जिनियरले ठेकेदारले असफल दायित्वहरू सच्याउन नसकेको, कुनै पनि सुधार इन्जिनियरको सन्तुष्टिअनुसार नभएको तथा कार्यसम्पादन अत्यन्त कमजोर रहेको निष्कर्ष निकालेको छ । यद्यपि विभिन्न छलफलका क्रममा ठेकेदारले व्यवस्थापन परिवर्तन गरी सुधार गर्ने प्रतिबद्धता जनाएपछि अन्तिम अवसरस्वरूप अवधि थप ३० दिन बढाइएको आयोजना प्रमुख नेपाली सेनाका उपरथी धर्मेन्द्र झाले बताए ।

जसमा ७ दिनभित्र प्रतिबद्धतापत्र, १४ दिनभित्र व्यवस्थापन परिवर्तनको सर्त राखिएको छ । पत्रमा इन्जिनियरले समयसीमासहित चार वटा अनिवार्य सर्त तोकेका छन् ।

७ दिनभित्र संयुक्त उपक्रमका सबै साझेदार कम्पनीको मुख्य कार्यालयबाट हस्ताक्षरित प्रतिबद्धतापत्र पेश गर्नुपर्नेछ । तोकिएको प्रगति हासिल गर्न नसकी रोजगारदाताले ठेक्का अन्त्य गरेमा कुनै पनि साझेदार कम्पनीले रोजगारदाताविरुद्ध क्षतिपूर्ति वा अन्य कुनै दाबी नगर्ने ग्यारेन्टी हुनुपर्नेछ ।

त्यस्तै दोस्रो सर्तमा १४ दिनभित्र हालको अयोग्य परियोजना व्यवस्थापन टोलीलाई हटाई सक्षम र जिम्मेवार नयाँ व्यवस्थापन टोली नियुक्त गर्नुपर्नेछ । नयाँ टोलीको संगठनात्मक संरचना तथा जिम्मेवारी म्याट्रिक्स इन्जिनियर तथा रोजगारदाताको स्वीकृतिका लागि पेश गर्नुपर्ने सर्त राखिएको छ। साथै, सबै संयुक्त साझेदार कम्पनीको सक्रिय सहभागिता पनि सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।

तेस्रो सर्तको रुपमा ७ दिनभित्र आगामी तीन साताको विस्तृत कार्यतालिका तयार गरी इन्जिनियरलाई बुझाउनुपर्नेछ । त्यसपछि प्रत्येक दुई सातामा स्वमूल्यांकन, लक्ष्यअनुसारको प्रगति समीक्षा तथा ढिलाइ भए त्यसको पूर्ति गर्ने क्याच–अप योजनासहित प्रतिवेदन नियमित बुझाउनुपर्ने उल्लेख गरिएको छ ।

चौथो सर्तको रुपमा मनसुन अवधिमा पहुँच मार्ग मर्मत तथा पुनःस्थापना गरी सम्भव भएसम्म निर्माण कार्य अघि बढाउनुपर्नेछ । साथै प्रतिमहिना औसत कम्तीमा ३ प्रतिशत भौतिक प्रगति सुनिश्चित हुने प्रणाली विकास गर्न पनि निर्देशन दिइएको छ ।

पहिलो पत्रका केही सर्तप्रति ठेकेदारले असहमति जनाउँदै २६ जुलाईमा पत्राचार गरेपछि परामर्शदाताले २९ जुलाईमा संशोधित पत्र जारी गरेको हो । मूल सम्झौताअनुसार १ हजार दिनभित्र आयोजना सम्पन्न गर्न अझै पनि औसत मासिक ३ प्रतिशत भौतिक प्रगति अनिवार्य रहेकोले सो सर्त राखिएको हो । संशोधित निर्देशनअनुसार विस्तारित अवधिभर पहुँच मार्ग सञ्चालनयोग्य अवस्थामा राख्नुपर्नेछ र मनसुन सकिएपछि मासिक ३ प्रतिशत प्रगति सुनिश्चित हुने प्रणाली र कार्यगत गति विकास गर्नुपर्नेछ ।

बहाना होइन, परिणाम
सेनाको संशोधित पत्रमा ठेकेदारले दिएको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै कडा भाषा प्रयोग गरेका छन् । पत्रमा ठेकेदारका अधिकांश कारणलाई काम नगर्न खोजिएको बहाना भन्दै त्यस्ता बहानाले ढिलाइबाहेक अर्को उद्देश्य पूरा नगर्ने उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ, ‘यदि ठेकेदार वास्तवमै परिवर्तन र प्रगति चाहन्छ भने सबै बहाना त्यागेर अहिले उपलब्ध स्रोत र साधनबाटै काम सुरु गर्नुपर्छ । बहानालाई निरन्तर दोहो¥याउनु भनेको आगो लागेको घरभित्र सामान सारिरहनुजस्तै हो ।’

इन्जिनियरले विस्तारित अवधिभर ठेकेदारको कार्यसम्पादन तोकिएका सर्त र समयसीमा पालना नभए तथा निर्माण प्रगतिमा उल्लेखनीय सुधार नआए ठेक्का सम्झौताअनुसार थप कारबाही, आवश्यक परे ठेक्का अन्त्य सम्मको प्रक्रिया अघि बढाइने छ ।

मकवानपुरको सिस्नेरी खण्डमा पर्ने द्रुतमार्गको कामको लागि उक्त कम्पनी सम्झौता अनुसार काम नगरेपछि अहिले समस्या भइरहेको छ ।
प्याकेज ‘नाइन ए’ मा सुरुङ निर्माणको काम छैन । यहाँ ठुला ४ वटा पुल (दुबैतर्फ गरी ८ वटा) छन् भने केही साना पुलहरु छन् । यो क्षेत्रमा ग्यालरी टनेल छ भने कुल २ किलो मिटर ५३२ मिटर लम्बाइमा काम गर्नुपर्ने छ । साँढे ७ अर्बको ठेक्का सम्झौता भएकोमा नियम अनुसार २ प्रतिशत काम समेपछि पाउने पहिलो किस्ता रकमको भुक्तानी समेत भइरहेको छ । त्यसपछि काम अघि बढेको छैन ।

प्याकेज नाइन ए भन्दा नाइन बीको अवस्था झनै नाजुक छ । कुल १ हजार दिनको लागि ठेक्का लिएको निर्माण कम्पनीले ७५० दिन सकिदा १ प्रतिशत मात्रै काम गरेको छ । यो बीचमा कम्तिमा ७५ प्रतिशत काम सक्नुपर्ने थियो ।

कुल ७ अरब ६४ करोडको ठेक्का सम्झौता भएकोमा १ प्रतिशत मात्रै काम भएकोले पहिलो चरणको भुक्तानी पनि भएको छैन । यो क्षेत्रमा पनि ४ वटा ठुला पुल (दुइतर्फगरी ८ वटा) निर्माण गर्नुछ । यो क्षेत्रमा २ किलो मिटर ७२० मिटर लम्बाइमा काम गर्नुपर्नेछ ।
तोकिएको समयमा काम नसकिएमा पहिलो चरणमा एक महिनाभित्र ३ प्रतिशत कामको टर्गेट दिएको सेनाले उक्त टार्गेट अनुसार प्रगति नभएपछि अर्को पत्र पठाएको हो । अब चरणबद्ध रुपमा कारवाहीको प्रक्रिया अघि बढ्ने जनाएको छ । जसमा सम्झौता रद्ददेखि कम्पनीलाई कालोसूचीमा राख्नेसम्म हुनसक्छ ।

दु्रुतमार्ग निर्माणको लागि तोकिएको समयसीमा २०८३ चैतमा सकिदै छ । नेपाल सरकारबाट २०८३ चैत मसान्तसम्मको समयसीमा प्राप्त त्यो बीचमा निर्माण सक्ने रफ्तारमा सेना छ ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

epaper

ताजा समाचार

चितवनका थपलिया बागमतीमा मुख्यमन्त्री पक्का