जुरिच । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले लक्षण नै नदेखिएको तर कोरोना पुष्टि भएका व्यक्तिबाट अर्को ब्यक्तिमा संक्रमण सर्ने सम्भावना न्यून रहेको बताएको छ । लक्षण नदेखिएका व्यक्तिबाट संक्रमण सरेको घटना दुर्लभ भएको डब्लुएचओले बताएको छ । लक्षणविहीन बिरामीबाट अर्को व्यक्तिमा भाइरस सरेको भेटिएको छैन, डब्लुएचओको आपतकालीन रोग तथा जुनोसिस युनिटकी प्रमुख डाक्टर मारिया भान क्रेकोभले भनिन्, लक्षणविहीन संक्रमित भाइरस सर्नुको प्रमुख माध्यम र कारण नरहेको अध्ययनले देखाएको छ ।
संक्रमण फैलिएका मुलुकका लक्षण बिहिन विरामीहरुको कन्ट्रयाक ट्रेसिङ गर्दा उनीहरुवाट संक्रमण सरेको घटना एकदमै दुर्लभ पाइएको उनले बताइन् । लक्षण विहीन संक्रमितबाट दोस्रो व्यक्तिमा भाइरस सर्छ भन्ने प्रमाणका लागि अझ धेरै अनुसन्धानको खाँचो देखिएको उनको भनाइ छ । विशेषगरी युवा र स्वस्थ व्यक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिए पनि उसमा हत्तपत्त लक्षण देखिने गरेको छैन ।






