प्रदेशमा दिनहुँ सत्ता उलटफेर

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच् प्देशमा नयाँ सत्तासमीकरण गर्ने सहमति भएसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

बागमतीमा नयाँ सरकार गठनको आह्वान, कोशीमा सरकार पुर्नगठन, लुम्बिनीमा आचार्यलाई विश्वासको मत

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई ४ भदौसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

यता कोशीमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीचको सत्ता सहकार्यअनुसार मन्त्रिपरिषद् पुनर्गठन भएको छ भने लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिएर सरकार जोगाएका छन् ।

बागमतीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले प्रदेशसभाबाट विश्वासको मत लिनुभन्दा राजीनामा दिएर मार्गप्रशस्त गरेका हुन् । सोमबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले आवश्यक बहुमत जुट्ने अवस्था नरहेपछि राजीनामा दिने घोषणा गरेका थिए ।

बानियाँको राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई ४ भदौ अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

यससँगै बागमतीमा नयाँ सरकार गठनका लागि दलहरूबीच सत्ता समीकरणको कसरत सुरु भएको छ । १०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भए पनि दुई दलसँग मात्र आवश्यक बहुमत पुग्दैन । त्यसैले नयाँ सरकार गठनमा १२ सांसद रहेको राप्रपा निर्णायक देखिएको छ । राप्रपाले भने अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने स्पष्ट गरेको छैन ।

बानियाँले राजीनामा दिने घोषणा गरेलगत्तै प्रदेशसभाको विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको थियो । प्रदेशसभा बैठकसमेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

कोशीमा बदलियो सत्ता समीकरण
कोशीमो नयाँ सत्ता समीकरणअनुसार सरकारको स्वरूप बदलिएको छ । एमाले र नेकपाबीच ९ साउनमा भएको तीनबुँदे सहमतिअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएपछि एमाले–नेकपा सहकार्यमा नयाँ सरकारको संरचना तयार भएको हो । मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्री नियुक्ति, हेरफेर तथा कार्यविभाजन गरेका छन् ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर तथा कार्यविभाजन हुने गरी १० मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । केही मन्त्रीको जिम्मेवारी परिवर्तनसमेत गरिएको छ ।

मुख्यमन्त्री कार्कीले खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र तिलचन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय, गोम्फु गिरीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विदुरकुमार लिङ्थेपलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उमाकान्त गौतमलाई स्वास्थ्य मन्त्रालयको राज्यमन्त्री तथा सपना दर्जीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्री बनाइएको छ ।

कोशी प्रदेश सरकारमा सत्ता समीकरण तथा दलगत भागबन्डाका आधारमा समय–समयमा मन्त्रीको जिम्मेवारी हेरफेर हुँदै आएको छ । पछिल्लो सिफारिसले मन्त्रालयको जिम्मेवारीमा समेत परिवर्तन गरेको छ ।

लुम्बिनीमा जोगियो सरकार
लुम्बिनीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन बाध्य भएका मुख्यमन्त्री चेतनारायण आचार्यले बहुमत जुटाएर सरकार जोगाएका छन् ।

सोमबार बसेको प्रदेशसभाको आठौँ अधिवेशनको १९औँ बैठकमा आचार्यको पक्षमा ४५ र विपक्षमा २६ मत परेको थियो । ८३ सदस्यीय प्रदेशसभामा ७१ सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए भने आठ सांसद अनुपस्थित रहे ।

आचार्यलाई एमाले, नेकपा, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदले विश्वासको मत दिएका छन् । कांग्रेसको समर्थन गुमाए पनि सरकारलाई समर्थन गरिरहेका अन्य दलको साथ कायम राख्दै आचार्यले बहुमत जुटाएका हुन् ।

यसरी संघीय सत्ता समीकरणको प्रभावमा बागमतीमा सरकार गठनको प्रक्रिया, कोशीमा सत्ता साझेदारी र लुम्बिनीमा सरकार जोगाउने कसरत एकैपटक अघि बढेको छ । प्रदेशसभाहरूमा बदलिएको शक्ति सन्तुलनपछि अन्य प्रदेशमा पनि सरकारको नेतृत्व फेरबदल हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

मुख्य न्यायाधीश, रजिस्ट्रारको ४ जना परिवारसहित ६ जना सवार स्कारपियो भिरबाट खस्यो