काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि ३५ हजार २२१ पदमा उम्मेदवार छनोट गर्न नयाँ मापदण्ड सार्वजनिक गरेको छ । पार्टीले ‘उम्मेदवार छनोट रूपरेखा, २०८३’ जारी गर्दै उम्मेदवार छनोटलाई अंकभार, योग्यता परीक्षण, पूर्वप्रशिक्षण र प्रारम्भिक निर्वाचनमा आधारित बनाउने भएको हो ।
‘क्यान्डिडेट क्लब’मा सूचीकृत भएर प्रतिस्पर्धा गर्नुपर्ने, सहकारी अपचलनदेखि गुट बनाउनेसम्म अयोग्य
रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार स्थानीय तहमा सुशासन, विकास र दूरदर्शितासहितको भिजनपत्र प्रस्तुत गरी उम्मेदवार बन्न इच्छुक व्यक्तिले ‘क्यान्डिडेट क्लब’मा सूचीकृत भएर प्रतिस्पर्धा गर्न सक्नेछन् ।
पार्टीले उम्मेदवार छनोट प्रक्रिया पूर्णतः पारदर्शी, वैज्ञानिक, मेरिटमा आधारित र प्रविधिमैत्री बनाउने दाबी गरेको छ । टिकट वितरणमा सीमित व्यक्तिको निर्णय, पहुँच, चाकडी, नातावाद, गुटगत प्रभाव तथा पैसा र बाहुबलको प्रभाव रोक्ने उद्देश्यले नयाँ विधि ल्याइएको रास्वपाको भनाइ छ ।
रास्वपाले उम्मेदवार छनोटका लागि चार मुख्य आधार निर्धारण गरी कुल १०० अंकमा मूल्यांकन गर्ने भएको छ । मूल्यांकनमा लिडरसिप एकेडेमी, अनिवार्य पूर्वप्रशिक्षण तथा योग्यता परीक्षण, राजनीतिक सामिप्यता, निर्वाचन जित्ने सम्भावना, जनसम्बन्ध, सार्वजनिक आचरण, पेशागत तथा सामुदायिक अनुभव, सामाजिक परीक्षण र सदाचारलगायतका पक्षलाई समेटिएको छ ।
उम्मेदवारको प्राप्तांकका आधारमा प्रारम्भिक निर्वाचनसमेत गरिने र त्यसमा ब्लकचेन प्रविधि प्रयोग गर्ने पार्टीले जनाएको छ ।
समावेशिता १० प्रतिशत
रास्वपाले उम्मेदवार छनोटमा समावेशितालाई १० प्रतिशत अंकभार छुट्याएको छ । संविधानको समानुपातिक समावेशी सिद्धान्तलाई आधार बनाउँदै महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, ४० वर्षमुनिका युवा, वैदेशिक रोजगारीबाट फर्किएका उद्यमी, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा दुर्गम र सीमान्तकृत भूगोलका आकांक्षीलाई थप अंक प्रदान गरिने भएको छ ।
प्रत्येक स्थानीय तहको विशिष्टता, उम्मेदवारको चुनाव जित्ने सम्भावना, जनसम्बन्ध, सार्वजनिक आचरण, पेशागत तथा सामुदायिक अनुभव र सामाजिक परीक्षणलाई समेत मूल्यांकनको आधार बनाइएको छ ।
सहकारी अपचलन गर्ने अयोग्य
रास्वपाले स्थानीय तहको उम्मेदवार बन्नका लागि कडा पूर्वसर्तसमेत निर्धारण गरेको छ । सहकारी अपचलन, मिटरब्याज, सट्टेबाजी, हप्ता असुली, ढुकुटी, हुन्डी तथा अन्य अवैध कारोबारमा प्रत्यक्ष वा परोक्ष संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने भएका छन् ।
घरेलु हिंसा, यौन दुव्र्यवहार, साइबर बुलिङ, चरित्रहत्या, अनलाइन ठगी वा अन्य डिजिटल दुव्र्यवहारमा संलग्न नरहेको स्वघोषणा पनि गर्नुपर्नेछ ।
उम्मेदवारले आफ्नो उम्मेदवारी दिन चाहेको क्षेत्रमा निर्माण, ठेक्कापट्टा, खरिद, उपभोक्ता समिति वा सार्वजनिक आपूर्तिमा आफू वा एकाघरका परिवारको प्रत्यक्ष व्यावसायिक संलग्नता नरहेको स्वघोषणा गर्नुपर्नेछ ।
शैक्षिक प्रमाणपत्र सक्कली रहेको, अद्यावधिक सम्पत्ति विवरण र प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न मन्जुर हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।
नवप्रवेशीलाई ९० दिन ‘कुलिङ पिरियड’
चुनावको मुखमा अन्य दलबाट आएका व्यक्तिलाई तत्काल उम्मेदवार बन्न नदिन रास्वपाले ‘कुलिङ पिरियड’को व्यवस्था गरेको छ ।
पहिलोपटक रास्वपाको सदस्यता लिएका व्यक्तिका लागि कम्तीमा ४५ दिन र अन्य दल परित्याग गरी रास्वपा प्रवेश गरेका व्यक्तिका लागि कम्तीमा ९० दिन सदस्यता पूरा भएको हुनुपर्ने मापदण्ड बनाइएको छ ।
तर समाजका प्रतिष्ठित, विज्ञ वा विशेष क्षमता भएका व्यक्तिका हकमा माथिल्लो कमिटीको लिखित सहमतिमा कुलिङ पिरियडमा छुट दिन सकिने व्यवस्था गरिएको छ । यसलाई ‘ल्याटरल इन्ट्री’का रूपमा प्रस्ताव गरिएको छ ।
वडाका लागि पालिका वा जिल्ला, पालिकाका लागि जिल्ला वा प्रदेश तथा महानगर र उपमहानगरका लागि केन्द्रीय कमिटीको स्वीकृतिमा यस्तो प्रवेश गराउन सकिनेछ । तर ल्याटरल इन्ट्रीबाट आएका व्यक्तिले पनि लिडरसिप एकेडेमीको प्रशिक्षण तथा उम्मेदवार छनोटका अन्य चरण अनिवार्य रूपमा पार गर्नुपर्नेछ ।
टिकटका लागि आर्थिक लेनदेन निषेध
रास्वपाले उम्मेदवारी प्राप्त गर्ने वा गराउने उद्देश्यले मूल्यांकन प्रभावित पार्न कुनै पनि प्रकारको आर्थिक लेनदेन, चन्दा, सहयोग, उपहार, सुविधा, प्रत्यक्ष वा परोक्ष प्रलोभन वा भौतिक लाभ दिन–लिन पूर्ण रूपमा निषेध गरेको छ ।
क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी, राजनीतिक सामिप्यता मूल्यांकन, समावेशिता अंक, प्रारम्भिक निर्वाचन, आन्तरिक मतदान, तथ्यांक संकलन, प्रमाणीकरण तथा स्कोरकार्ड प्रणालीमा जाली मत खसाल्ने, तथ्यांक तोडमोड गर्ने, प्रणालीमा अनधिकृत पहुँच गर्ने, नक्कली कागजात प्रयोग गर्ने वा अनुचित प्रभाव पार्ने कार्यलाई धाँधली मानिने भएको छ । यस्ता कार्यमा संलग्न हुनेलाई पार्टी सदस्यबाटै निष्कासन गर्न सकिने व्यवस्था गरिएको छ ।
गुट भेला गरे कारबाही
उम्मेदवारीका लागि टिकट वितरण गर्ने आधिकारिक संयन्त्रबाहिर गुटगत भेला गर्ने, समानान्तर संरचना खडा गर्ने, दबाब समूह निर्माण गर्ने वा पार्टीको आधिकारिक निर्णय प्रक्रियालाई अवरुद्ध गर्न खोज्ने कार्यमा समेत कडा कारबाही गर्ने रास्वपाले जनाएको छ ।
पार्टी संरचना वा मूल्यांकन संयन्त्रविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भ्रामक सूचना, मिथ्या आरोप, दुष्प्रचार वा चरित्रहत्या गर्ने कार्यलाई अनुशासनहीनता मानिने भएको छ ।
रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटलाई नेतृत्वको तजबिजभन्दा तथ्य, मापनयोग्य आधार र प्रविधिमा आधारित बनाउने दाबी गरेको छ । यसका लागि क्यान्डिडेट क्लबदेखि प्रशिक्षण, मूल्यांकन, समावेशिता अंक र प्रारम्भिक निर्वाचनसम्मका विभिन्न चरण पार गरेपछि उम्मेदवार छनोट गर्ने रूपरेखा अघि सारिएको हो ।
सम्बन्धित समाचार
प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता, दबाबमा ३ न्यायाधीश
सांसदलाई स्वकीय सचिव राख्ने निर्णय यथावत्
संघीय संसदमा पेश गर्न ९ विधेयक स्वीकृत
साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड
गृहमन्त्री जाने भएपछि सिरहामा तनाव
शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला
धनुषामा गृहमन्त्रीसँग हिन्दू सम्राट सेनालगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी
गुन्डुमा ढल्ने पालो अब हिक्मत कार्कीको !






