धनगढी । ‘धर्म खोज्न कतै जानु पर्दैन । निस्वार्थ भावनाले समाज र देशको लागि काम गर्ने मान्छे नै सबैभन्दा ठूलो धार्मिक हुन्छ ।’ यो भनाइ हो, धनगढीका सरसफाइ अभियानकर्ता लोकबहादुर खड्काको ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ५, जयभैरव टोलका खड्का हरेक दिन बिहान ४ बजे उठ्छन् । बिहान १० बजेसम्म टोल, छिमेक र सडकमा फालिएका प्लास्टिकजन्य फोहोर टिप्ने उनको दैनिकी हो ।
२०७५ सालदेखि सुरु भएको उनको यो अभियान अहिले जीवनशैली बनेको छ । हातमा लाठी, टर्च, काँधमा माइक र पिठ्युँमा झोला बोकेर उनी धनगढीका वडा नं. ५ र ६ का विभिन्न स्थानमा पुगेर प्लास्टिकजन्य फोहोर टिप्छन् ।
टिपेको फोहोरको झोला उनले उच्च स्थान वा बिजुलीको खम्बामा झुण्डाउने गर्छन् । उनले भने, ‘उपमहानगरपालिकाको फोहोर व्यवस्थापन टोलीले सहजै देखेर उठाउन सकोस् भनेर मैले उच्च ठाउँमा झुण्डाउने गरेको हुँ ।’
पहिले आफैले फोहोर व्यवस्थापन गर्नुपर्ने गरेको सुनाउँदै उनले भने, ‘धनगढीमा नगर प्रमुख गोपाल हमाल निर्वाचित भएपछि काम गर्न धेरै सहज भएको छ । अहिले फोहोर टिपेर देखिने ठाउँमा राख्दा नगरपालिकाले तुरुन्तै व्यवस्थापन गरिहाल्छ ।’
खड्काले आफू कुनै पनि संघसंस्थाबाट तलब नलिने स्पष्ट पारे । ‘म निस्वार्थ रुपमा काम गर्ने मान्छे हुँ । मरुन्जेल गाउँ र समाजको लागि सेवा गर्ने मेरो एउटै लक्ष्य हो,’ उनले भने ।
प्लास्टिकजन्य फोहोर संकलन गर्न थालेको आउँदो कार्तिकमा ८ वर्ष पुग्न लागेको उनले बताए । उनले धनगढी उपमहानगरपालिकाले थप जनशक्ति परिचालन गरेर प्लास्टिकमुक्त शहर निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिए ।
‘धनगढीका वडा नं. ५ र ६ अहिले लगभग प्लास्टिकमुक्त भइसकेका छन् । मेरो एउटै उद्देश्य धनगढीलाई प्लास्टिकमुक्त शहर बनाउनु हो,’ खड्काको भनाइ छ ।
सम्बन्धित समाचार
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागूऔषधसहित काठमाडौंबाट तीन जना पक्राउ
साढे चार करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
कार्यस्थलमा स्तनपान कक्षको अभाव
सुदूरपश्चिमका रास्वपा सांसदले प्रधानमन्त्रीलाई के-के समस्या सुनाए ?
इटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
न्यायको पर्खाइमा महिला अधिकारकर्मी
स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु






