न्यायको पर्खाइमा महिला अधिकारकर्मी


वीरगन्ज । पारिवारिक हिंसामा परी मधेशका धेरै महिलाले न्यायका लागि राज्यसँग हारगुहार गरिरहेका घटना नौला होइनन् । तर पारिवारिक हिंसापछि शंकास्पद मृत्यु भएका कतिपय महिलाका घटनामा निष्पक्ष अनुसन्धान र न्यायको माग उठ्दै आएको छ ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ निवासी लक्ष्मी खड्का सिलवालको मृत्यु प्रकरण पनि यस्तै विवाद र न्यायको मागसँग जोडिएको छ ।
पर्साको ठोरी गाउँपालिकाकी चेली लक्ष्मीको ६ साउनमासखुवाप्रसौनी गाउँपालिका–१ स्थित आफ्नै घरमा शंकास्पद अवस्थामा मृत्यु भएको थिया । घटना भएको जानकारी माइती पक्षले ढिलो गरी पाएको भन्दै ठोरी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयले घटनाको निष्पक्ष तथा गम्भीर अनुसन्धान गर्न माग गर्दै आएका छन् । उनीहरू पटक–पटक वीरगन्ज पुगेर प्रहरी प्रशासनसँग निष्पक्ष अनुसन्धानका लागि आग्रह गरिरहेका छन् ।

महिला अधिकारकर्मीको शव अझै अस्पतालमा

महिला अधिकार रक्षक सञ्जाल पर्साकी कोषाध्यक्षसमेत रहेकी लक्ष्मीको मृत्यु श्रीमान् रेशमबहादुर सिलवालबाट पटक–पटक भएको घरेलु हिंसाको परिणाम भएको आरोप उनका बुबा खड्कबहादुर खड्का, आमा देवकुमारी खड्का तथा अन्य आफन्तले लगाएका छन् । सोमबार वीरगन्जमा आयोजित पत्रकार भेटघाटमा पीडित परिवारसँगै ठोरी गाउँपालिकाका जनप्रतिनिधिले पनि यही दाबी दोहोर्याए ।
उनीहरूका अनुसार मृतकका ६ वर्षीय छोराले ‘बुबाले लात्ताले हाने’ भन्ने आशयको कुरा बताएको छ । तर बालकको भनाइलाई अनुसन्धानमा पर्याप्त महत्व नदिइएको ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र न्याय समिति संयोजक गोकुली रेग्मीको गुनासो छ । ‘लक्ष्मीले न्याय पाउने त परको कुरा भयो, उनको शवले समेत न्याय पाउन सकेको छैन,’ उनीहरूको भनाइ छ ।

घटनास्थलमा फुटेका चुरा, कोठाभित्रको अस्तव्यस्त अवस्था, झुन्डिएको भनिएको डोरीको अवस्था, घटनापछि श्रीमान् घरमा नरहेको अवस्था तथा नारायणी अस्पतालमा ल्याइएपछि शवको बाह्य स्वरूपमा परिवर्तन देखिएको जस्ता विषय अनुसन्धानका आधार हुनुपर्ने ठोरी गाउँपालिकाका जनप्रतिनिधिको भनाइ छ ।

उनीहरूका अनुसार लक्ष्मी केही समयदेखि काठमाडौंमा बस्दै आएकी थिइन् । श्रीमान्को परिवारका सदस्यले सम्झाइबुझाइ गर्ने भन्दै उनलाई घर फर्काएको ११ दिनमै मृत्यु भएको भन्दै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ ।

राज्यसँग निष्पक्ष अनुसन्धानको माग

‘दोषी उम्किन नपाऊन् र निर्दोष नफसून् भन्नेमा हामी स्पष्ट छौं,’ ठोरी गाउँपालिका अध्यक्ष श्रेष्ठले भन । उनका अनुसार लक्ष्मीको न्यायका लागि गाउँपालिका नै सक्रिय हुँदासमेत घटनामा संलग्न दोषी उम्किने हो कि भन्ने चिन्ता बढेको छ ।

न्याय समिति संयोजक रेग्मीले लक्ष्मी लामो समयदेखि घरेलु हिंसाको सिकार हुँदै आएको दाबी गर्दै शंकास्पद मृत्यु भएकाले घटनाको सूक्ष्म अनुसन्धान आवश्यक रहेको बताइन् ।
मृतकका मामा इन्द्रबहादुर बस्नेतका अनुसार श्रीमान्को व्यवहारका कारण लक्ष्मी करिब तीन महिनाअघि भक्तपुरको कौशलटारस्थित आफन्तको घरमा बस्न थालेकी थिइन् । त्यसपछि परिवारका सदस्यले सम्झाइबुझाइ गरी घर फर्काएको केही दिनमै उनको मृत्यु भएको भन्दै सम्बन्धित सबै पक्षमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने उनको माग छ ।

प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन

११ साउनमा लक्ष्मीको मृत्युको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा उनका नाबालक सन्तानको पालनपोषण र शिक्षाको सुनिश्चिततासहित विभिन्न सातबुँदे माग राख्दै १३ वटा सामाजिक संस्थाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

घटनाको १४ दिन बितिसक्दा पनि लक्ष्मीको शव नारायणी अस्पतालको शवगृहमा रहेको छ । पोस्टमार्टम प्रक्रिया र प्रतिवेदनप्रति समेत पीडित पक्षले शंका व्यक्त गरेको छ । पीडित पक्षले स्थानीय प्रहरी निरीक्षक समुन्नत अधिकारीले अनुसन्धान प्रभावित पार्न खोजेको आरोप लगाएको छ । वीरगन्जका एक चिकित्सकमाथि पनि अनुसन्धानलाई असर पर्ने भूमिका खेलेको आरोप लगाइएको छ । यद्यपि पर्सा प्रहरीले ती आरोप’bout प्रतिक्रिया दिँदै घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ । पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

कैलालीमा फायरिङ अभ्यासका क्रममा ह्याण्ड ग्रिनेड विस्फोट, दुई सैनिक घाइते