काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले एजेण्डाकेन्द्रित कूटनीतिक संवादलाई प्राथमिकता दिँदै नेपालका लागि भारत र चीनका राजदूतसँग अगल अलग भेटवार्ता गरेका छन् ।
छिमेकी देशका राजदूतसँग ‘साझेदारी र सहकार्य’ प्रस्ताव
प्रधानमन्त्री शाहले सोमबार सिंहदरबारस्थित कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग अलग–अलग भेटवार्ता गरेका हुन् । भेटमा दुई छिमेकी मुलुकसँगको सम्बन्ध, पारस्परिक सहकार्य र साझा एजेण्डाका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भारतीय राजदूत श्रीवास्तवसँगको भेटमा भारत सरकारबाट प्राप्त प्रधानमन्त्री शाहको भारत भ्रमणको निमन्त्रणाका विषयमा छलफल भएको छ । राजदूत श्रीवास्तवले भारत भ्रमणको निमन्त्रणा पुनः स्मरण गराउँदै भ्रमणका विषयमा संवाद गरेका थिए ।
चिनियाँ राजदूत माओमिङसँगको भेटमा भने नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विगतमा भएका सम्झौता कार्यान्वयनमा लैजाने तथा विभिन्न क्षेत्रमा सहयोग र विकास साझेदारी बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध र सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए ।
यसअघि प्रधानमन्त्री शाहले विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेटघाट गर्दै आएका थिए । १३ चैतमा प्रधानमन्त्री नियुक्त भएपछि उनले २५ चैतमा नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए ।
त्यसयता प्रधानमन्त्रीले विदेशी कूटनीतिज्ञसँग व्यक्तिगत भेटवार्ता नगर्ने नीति लिएका थिए । तर २३ असारमा एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग भने प्रधानमन्त्री शाहले वान टु वान भेटवार्ता गरेका थिए ।
कूटनीतिक वृत्तमा महत्वपूर्ण एजेण्डामा केन्द्रित छलफल व्यक्तिगत भेटवार्तामार्फत गर्नुपर्ने र औपचारिक प्रकृतिका भेटघाट सामूहिक रूपमा गर्दा पनि हुने सुझाव आउन थालेपछि प्रधानमन्त्री शाहले पुनः वान टु वान संवादलाई अघि बढाएको बताइएको छ ।
प्रधानमन्त्री शाहले मंगलबार अमेरिकी दूतावासका उच्च अधिकारीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
अन्यौलमा ओली–प्रचण्ड सत्ता सहमति
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
विभिन्न पाँच समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा
धुलो टकटक्याएर फेरि उठ्नसक्छौँ, आरोप-प्रत्यारोप छोडौँ : नेपाल
ओली निवासमा जगन्नाथको गला अवरुद्ध मात्र भएको हो : बस्नेत
परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने






