बिजुलीको पोल ढलेपछि अशोकधाममा भागदौड, सात भक्तजनको मृत्यु

बिहार । बिहारको लखीसराय जिल्लास्थित अशोकधाम मन्दिर नजिक सोमबार बिहान भागदौड हुँदा कम्तीमा सात भक्तजनको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

जिल्ला प्रशासनका अनुसार रेलवे हाल्ट नजिक बिजुलीको पोल ढलेपछि त्यसबाट विद्युत् प्रवाह भइरहेको तार खसेको हल्ला फैलिएसँगै भीडमा त्रास उत्पन्न हुँदा भागदौड भएको हो । मृतकमध्ये सबै महिला रहेको लखीसरायका जिल्ला मजिस्ट्रेट शैलेन्द्र कुमारले बताए ।

मजिस्ट्रेट कुमारका अनुसार भक्तजनको लाम अशोकधाम हाल्टसम्म पुगेको थियो र त्यहाँ दुईवटा रेल रोकिएका थिए । अचानक पुरुषतर्फको लामनजिक बिजुलीको पोल ढलेपछि त्यसमा रहेको केबल तार खसेको थियो । तारमा विद्युत् प्रवाह भइरहेको हल्ला फैलिएपछि महिलातर्फको लाममा चाप बढ्दा केही भक्तजन एकअर्कामाथि लडेका थिए ।

‘घटना करिब दुई मिनेटको अवधिमा अचानक भएको हो,’, कुमारले भने । उनका अनुसार प्रहरी तथा प्रशासन बिहान ३ बजेदेखि नै घटनास्थलमा खटिएका थिए ।

लखीसरायका एसडीपीओ शिवम कुमारले सात जनाको मृत्यु भएको पुष्टि गर्दै पोल ढलेपछि करेन्ट लागेको प्रारम्भिक जानकारी आए पनि घटनाको वास्तविक कारण’bout अनुसन्धान भइरहेको बताए ।

बिहारका मन्त्री विजयकुमार सिन्हाले घटनाप्रति दुःख व्यक्त गर्दै विद्युत् प्रवाह भइरहेको तार खसेको हल्लाका कारण भागदौड भएको बताए । उनले गलत हल्ला फैलाउने व्यक्तिको पहिचान गरी कारबाही गरिने जानकारी दिए । ‘तार खसेपछि करेन्ट फैलिएको हल्ला फैलियो र त्यसले भागदौडको स्थिति निम्त्यायो,’ उनले भने ।

केन्द्रीय मन्त्री राजीव रञ्जन (लालन) सिंहले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरे ।

घाइतेहरूलाई तत्काल लखीसराय सदर अस्पताल तथा नजिकका स्वास्थ्य केन्द्रमा लगिएको छ । घटनास्थलमा प्रहरी, जिल्ला प्रशासन र आपत्कालीन सेवाका टोली परिचालन गरिएको थियो ।

यसैबीच, बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । मुख्यमन्त्री सम्राट चौधरीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सरकार पीडित परिवारको साथमा रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थ मन्त्रालयमा