धनकुटा । लाग्ग्छ, ‘भेडेटारको बिहानी अन्य पहाडी बस्तीजस्तो हुन्न ।’ यहाँको मौसम नै यस्तो हुन्छ कि अरु ठाउँ त चटक्कै बिर्साइदिन्छ । कहिले बाक्लो हुस्सुले डाँडाकाँडा छोपेको हुन्छ, कहिले बादलका टुक्रा पहाडका काँधमा आएर अडिएका हुन्छन् । मौसम खुलेको दिन भने टाढासम्म फैलिएका पहाड, तराईका समतल फाँट । अझ पर आकाशसँग जोडिएका हिमशृंखलाले भेडेटारलाई अर्को संसारजस्तो बनाइदिन्छ ।
यही प्राकृतिक सौन्दर्यमा पछिल्लो समय आधुनिक साहसिक पर्यटनको एउटा नयाँ अध्याय थपिएको छ– भेडेटार स्काइवाक । सिसाले बनेको पुल । गहिरो भीर । वरिपरि खुला आकाश । अनि आँखैअगाडि फैलिएको पूर्वी नेपालको विशाल भूगोल ।
पहिलोपटक स्काइवाक पुग्ने पर्यटकका लागि यो दृश्य जति सुन्दर छ, अनुभव त्यति नै रोमाञ्चक बन्छ । सिसामाथि पहिलो पाइला राख्दा कतिपयको मुटुको धड्कन बढ्छ । दोस्रो पाइला चाल्दा तलको गहिराइले झस्काउँछ । केही क्षणपछि डर जितेर पर्यटक पुलको अगाडिसम्म पुग्छ, त्यही डर रोमाञ्चमा बदलिन्छ । अनि सुरु हुन्छ– तस्बिर खिच्ने, भिडियो बनाउने हुटहुटी । यो पल मोबाइलमा कैद गर्नेक्रम त्यसपछि झनै उखरमाउलो बन्छ । भेडेटारको यही नयाँ अनुभव पर्यटक तान्ने शक्तिशाली माध्यम बन्दै छ ।

डर र सुन्दरताबीच
परिवारसहित सुनसरी देवानगन्ज गाउँपालिका–६बाट भेडेटार आएका आनन्दीकुमार चौधरी यसपटकको भ्रमणलाई अघिल्ला यात्राभन्दा फरक मान्छन् । उनी यसअघि पनि भेडेटार आइसकेका छन् । स्काइवाक सञ्चालन भएपछि यहाँको आकर्षणमा नयाँपन थपिएको उनको अनुभव छ । पारदर्शी सिसामाथि उभिएर तल हेर्दा देखिने गहिराइले सुरुमा डर लागे पनि केहीबेरपछि त्यही डर रमाइलोमा परिणत हुने उनी सुनाउँछन् । ‘स्काइवाकमा उभिँदा आकाशमै रहेकोजस्तो महसुस भयो ,’ चौधरी भन्छन् ,‘आकाशमा हिँडे जस्ताे अनु भव हुँदा छुट्टै किसिमको रोमाञ्चकता पाइयो ।’
स्काइवाकमा आउने पर्यटकका व्यवहार पनि फरक–फरक देखिन्छन् । कोही आत्मविश्वाससाथ सिसामाथि हिँड्छन् । कोही एक–एक पाइला निकै सावधानीपूर्वक चाल्छन् । कतिपय भने सिसाको पारदर्शी भुइँ देख्नेबित्तिकै वरिपरि लगाइएको फलामको रेलिङ समातेर अघि बढ्छन् ।
‘कतिपय सिसामाथि हिँड्न नसकेर वरिपरि लगाइएको फलाम समाइरहेका पनि देखिए,’ चौधरीले भने, ‘तर भेडेटार पहिलेदेखि नै राम्रो पर्यटकीय गन्तव्य थियो, अहिले स्काइवाकले त्यसमा नयाँ आकर्षण थपेको छ ।’
पर्यटकका लागि स्काइवाक फलामे संरचनामात्रै भने होइन प्रकृति र साहसमिश्रित अनुभव बन्दै छ । एकैपटक आफू उभिएको ठाउँभन्दा तलको गहिराइ हेर्न पाइन्छ र त्यही समय टाढाको प्राकृतिक सौन्दर्य पनि नियाल्न सकिन्छ ।
दुई वर्षमै तीन लाखबढी पाइला
भेडेटारमा स्काइवाक निर्माण अवधारणा अघि बढ्दा ‘परियोजना कस्तो हुन्छ ?’ भन्ने कौतुहल धेरैमा थियो । अहिले भने यसको लोकप्रियता तथ्यांकमै देखिन थालेको छ । वन्डर्स अम्युजमेन्ट पाक्र्स एन्ड अट्राक्सन प्रालिले निर्माण गरेको स्काइवाक ११ साउन २०८१ देखि सञ्चालनमा आएको हो । ९ फागुन २०७७ मा प्रदेश लगानी प्राधिकरण र विकासकर्ताबीच परियोजना विकास सम्झौता भएपछि निर्माण प्रक्रिया अघि बढेको थियो ।
करिब २० करोड रुपैयाँको लागतमा निर्माण भएको यो संरचना सञ्चालनमा आएको दुई वर्ष पूरा भइसकेको छ । यस अवधिमा ३ लाख ९ हजारबढी पर्यटकले स्काइवाक अनुभव लिइसकेका छन् । पहिलो वर्ष १ लाख ७८ हजार र दोस्रो वर्ष १ लाख ३१ हजार पर्यटक स्काइवाक पुगेको परियोजनाका प्रबन्ध निर्देशक सञ्जीव रोकाहाले जानकारी दिए ।
यसमा अर्को रोचक पक्ष पनि छ । स्काइवाकमा आउने पर्यटकमध्ये करिब ३५ प्रतिशत भारतीय छन् । अर्थात्, भेडेटारको आकर्षण अब नेपालको आन्तरिक पर्यटन बजारमै सीमित छैन ।
सीमापारिका पर्यटकका लागि पनि यो नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । ४१ मिटर लामो र दुई मिटर चौडा पारदर्शी सिसपुलमा हिँड्दै पर्यटकले पूर्वी नेपालको भूगोललाई फरक कोणबाट नियाल्न पाउँछन् ।
स्काइवाक निर्माण गरिएको जग्गा सरकारले २५ वर्षका लागि वन्डर्स अम्युजमेन्ट पाक्र्स एन्ड अट्राक्सन प्रालिलाई उपलब्ध गराएको हो । सम्झौताअनुसार अवधि पूरा भएपछि परियोजना सरकारलाई हस्तान्तरण गर्ने व्यवस्था छ ।

चाल्स टावरबाट स्काइवाकसम्म
अहिले स्काइवाक रहेको ठाउँको आफ्नै इतिहास छ । कुनै समय यही डाँडामा ‘चाल्स टावर’ थियो । बेलायती राजकुमार चाल्स सो डाँडामा चढेपछि सो स्थानलाई ‘चाल्र्स टावर’ नामकरण गरिएको स्थानीय बताउँछन् । समयसँगै पर्यटनको स्वरूप पनि फेरियो । पुरानो टावरको ठाउँमा आधुनिक साहसिक पर्यटनको प्रतीकका रूपमा स्काइवाक उभिएको छ । यस अर्थमा भेडेटारको एउटै डाँडाले दुई फरक समयको पर्यटन देखेको छ । पुरानो पुस्ताको आकर्षण बनेको ‘चाल्र्स टावर’ र नयाँ पुस्तालाई तानिरहेको ‘स्काइवाक ।’ स्काइवाक निर्माणले पुरानो पर्यटकीय पहिचानलाई विस्थापितमात्र गरेको छैन, यसमा नयाँ आयाम पनि थपिएको छ ।
डर जित्ने ठाउँ
स्काइवाकमा पुग्ने सबै पर्यटक साहसिक गतिविधिका अनुभवी हुँदैनन् । कतिपय पहिलोपटक यस्तो संरचनामा पुग्छन् । त्यसैले यहाँको अनुभवको महइभ्वपूर्ण पक्ष ‘डर जित्नु’ पनि हो । सिसामाथि उभिँदा तल देखिने जमिनले कतिपयलाई केही क्षण रोकिदिन्छ । त्यही व्यक्ति केही बेरपछि विस्तारै अघि बढ्छ । पुलबिच पुग्छ । अनि मोबाइल िन क ा ल ेर तस्बिर खिच्छ । कतिपय परिवारका सदस्य एकअर्काको ह ा त समातेर सिसामाथि हिँडिरहेका देखिन्छन् । बालबालिका उत्साहित हुन्छन् । युवायुवती भिडियो र तस्बिरमा व्यस्त हुन्छन् । ज्येष्ठ नागरिक भने वरिपरिका प्राकृतिक दृश्यमा रमाइरहेका हुन्छन् । यसरी स्काइवाकले फरक उमेर समूहका पर्यटकलाई फरकै किसिमको अनुभव दिइरहेको छ ।
सिसाबाट बाहिर पनि रोमाञ्चकता
स्काइवाकमा पर्यटकका लागि सिसामाथि हिँड्ने सुविधामात्रै छैन । यहाँ थप साहसिक गतिविधि पनि सञ्चालनमा छन् । करिब २० मिटर अग्लो टावरबाट ‘फ्री फल जम्प’ गर्न सकिन्छ । ‘मिनी बन्जी’जस्तै अनुभव दिने यो गतिविधि साहसिक पर्यटन रुचाउनेका लागि थप आकर्षण बनेको छ । त्यस्तै, स्विङ पिङ र सामाजिक सञ्जालका लागि सामग्री बनाउन सकिने ‘टिकटक जोन’समेत निर्माण गरिएको छ । सञ्चालकका अनुसार अब परियोजना अझ विस्तार गर्ने तयारी छ । स्काई साइकलिङ, जिपलाइन र बालबालिकाका लागि छुट्टै मनोरञ्जन पार्क निर्माण गर्ने योजना अघि बढाइएको छ । यसले स्काइवाकलाई एउटा सिसाको पुलमै सीमित नराखी बहुआयामिक मनोरञ्जन तथा साहसिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ ।
भेडेटार बजारमा बढ्दो चहलपहल
पर्यटक कुनै ठाउँमा पुग्दा त्यसको प्रभाव टिकट बिक्रीमै सीमित हुँदैन । उनीहरू खानेकुरा खान्छन्, होटलमा बस्छन्, स्थानीय उत्पादन किन्छन्, सवारी साधन प्रयोग गर्छन् र ’roundका अन्य गन्तव्यमा पुग्छन् । भेडेटारमा पनि स्काइवाकको प्रभाव यहीरूपमा देखिन थालेको स्थानीय व्यवसायी बताउँछन् ।
होटल साविराकी सञ्चालक अनिरा राईका अनुसार बिदा, सार्वजनिक छुट्टी तथा चाडपर्वका समय भेडेटारमा पर्यटकको चाप उल्लेख्य हुने गरेको छ । ‘स्काइवाकले नयाँ पर्यटक तानेको महसुस भएको छ,’ राईले भनिन्, ‘पर्यटक आएपछि होटल, रेस्टुरेन्ट र साना पसलमा पनि त्यसको प्रभाव पर्छ ।’
होटल लावती कर्ननका सञ्चालक तथा होटल एसोसिएसन अफ भेडेटारका पूर्वअध्यक्ष लिलाराज लावती पनि स्काइवाकले स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग गरेको बताउँछन् । ‘प्राकृतिक दृश्यसँगै साहसिक अनुभव लिन चाहनेका लागि स्काइवाक आकर्षण बनेको छ,’ लावती भन्छन्, ‘साना पसलदेखि होटलसम्म यसले सकारात्मक प्रभाव पारेको छ ।’ उनका अनुसार पर्यटकलाई स्काइवाकसम्ममै सीमित नगरी भेडेटारआसपासका अन्य गन्तव्यसम्म पु¥याउन सकिए यसको आर्थिक प्रभाव अझ व्यापक बन्न सक्छ ।

स्काइवाकले खोलिदिएको अर्को सम्भावना
साँगुरीगढी गाउँपालिका पर्यटन सम्भावनाले भरिएको क्षेत्र हो । यहाँ एउटामात्रै होइन, विभिन्न प्रकृतिका पर्यटकीय गन्तव्य छन् । नमस्ते झरना, पाथीभरा मन्दिर, नाम्जे, ध्वजे डाँडालगायत गन्तव्यसँग स्काइवाक जोड्नसके पर्यटकको बसाइ लम्ब्याउन सकिने गाउँपालिका अध्यक्ष जितेन्द्र राईको विश्वास छ । ‘साँगुरीगढीको मुख्य आयस्रोत नै पर्यटन हो,’ राईले भने, ‘स्काइवाक हाम्रो पर्यटनको अर्को महइभ्वपूर्ण गन्तव्य बनेको छ ।
यहाँ आउने पर्यटकलाई गाउँपालिकाका अन्य क्षेत्रमा पनि लैजान सके स्थानीय समुदायले थप लाभ लिन सक्छ ।’
वास्तवमा भेडेटारलाई एउटा प्रवेशद्वारका रूपमा विकास गरेर आसपासका गन्तव्यलाई एउटै ‘पर्यटन सर्किट’मा जोड्ने सम्भावना देखिन्छ । बिहान स्काइवाक, दिउँसो नाम्जे, त्यसपछि ध्वजे डाँडा वा झरना हुँदै स्थानीय खानाको स्वाद दिनसके र ‘पर्यटन प्याकेज’ बनाउन सकिए एकबाट दुई दिनसम्म विस्तार गर्न सकिन्छ । यसका लागि सडक, सूचना केन्द्र, संकेत बोर्ड, सार्वजनिक शौचालय, सरसफाइ, पार्किङ तथा पर्यटकमैत्री सेवा विस्तार जरुरी छ ।
पीपीपीको प्रयोगशाला
स्काइवाक कोशी प्रदेशकै पहिलो सार्वजनिक–निजी साझेदारी अर्थात् ‘पीपीपी मोडल’मा सञ्चालित पर्यटन परियोजनाका रूपमा प्रस्तुत गरिएको हो । सरकारको लगानी तथा निजी क्षेत्रको व्यवस्थापन र सञ्चालन क्षमता जोडेर पर्यटन पूर्वाधार निर्माण गर्ने यो मोडल सफल भए अन्य क्षेत्रमा पनि यस्ता परियोजना अघि बढाउन सकिने आधार बन्न सक्छ । स्काइवाकले पर्यटक तानेको छ । रोजगारी सिर्जना गरेको छ । स्थानीय व्यवसायमा प्रभाव नपार्ने त कुरै छैन । त्यसैले यसको अनुभव आगामी पर्यटन परियोजनाका लागि पनि उपयोगी हुन सक्ने देखिन्छ ।
परियोजनामा २१ कर्मचारी कार्यरत छन् । तीमध्ये करिब ७० प्रतिशत साँगुरीगढी गाउँपालिकाका स्थानीय रहेको प्रबन्ध निर्देशक रोकाहा बताउँछन् । यसले स्थानीय युवालाई रोजगारीसँग जोड्नुका साथै पर्यटनबाट गाउँमै आम्दानी गर्ने वातावरण बनाउनसमेत सहयोग पु¥याएको छ । पर्यटक बढे पनि परियोजनाले करको भारलाई चुनौतीका रूपमा औंल्याएकोमा भने लगानीकर्ताको गुनासो छ ।
नियमित करबाहेक ५ प्रतिशत रोयल्टी र ५ प्रतिशत मनोरञ्जन कर तिर्नुपर्ने भएकाले सञ्चालन लागत बढेको छ । वार्षिक नवीकरण शुल्क, पर्यटन कर, भ्याटलगायत विभिन्न शीर्षकमा कर तथा शुल्क तिर्नुपर्ने अवस्था रहेको प्रबन्ध निर्देशक रोकाहा बताउँछन् । ‘गत वर्ष करिब ९ करोड रुपैयाँकारोबार हुँदा करिब ४५ लाख रुपैयाँ रोयल्टी तिर्नुपरेको थियो,’ रोकाहाले भने, ‘त्यति नै रकम मनोरञ्जन करमा पनि तिर्नुपरेको छ ।’ उनका अनुसार काठमाडौं कमलादीमा सञ्चालित कम्पनीकै स्काइवाकमा मनोरञ्जन करको संरचना फरक छ । कोशी प्रदेशमा अतिरिक्त करको भार बढी भएको उनको दाबी छ ।
पर्यटन परियोजनामा कर लगाउनु स्वाभाविक भए पनि नयाँ लगानी आकर्षित गर्ने र विद्यमान परियोजनालाई दिगो बनाउनेगरी कर नीति तय हुन आवश्यक रहेको रोकाहाको जोड छ । लगानीकर्ता निरुत्साहित भए नयाँ पर्यटन पूर्वाधार निर्माण हुँदैनन् । लगानीमैत्री वातावरण बने नयाँ परियोजना आउँछन् । त्यससगै रोजगारी बढेर पर्यटक वृद्धि भइ राज्यको राजस्वसमेत विस्तार हुने व्यवसायी बताउँछन् ।

अब के खोज्दै छ भेडेटार ?
स्काइवाकले पर्यटक ल्याइदिएको छ । अब भेडेटारको चुनौती ती पर्यटकलाई केही घण्टाका लागिमात्र होइन, लामो समयसम्म यहाँ रोक्नु हो ।
पर्यटक स्काइवाक हेरेर फर्किए भने त्यसको लाभ सीमित हुन्छ । स्काइवाकसँगै स्थानीय खाना, संस्कृति, ग्रामीण जीवन, प्राकृतिक पदयात्रा, झरना, धार्मिकस्थल र अन्य साहसिक गतिविधि जोड्न सकिए भेडेटारको पर्यटन अर्थतन्त्र निकै फराकिलो बन्न सक्ने देखिन्छ । स्थानीय उत्पादनको बजार विस्तार गर्न सकिन्छ । होमस्टे बढाउन सकिन्छ । युवालाई पर्यटनसँग जोड्न सकिन्छ ।
स्थानीय संस्कृति र खानालाई पर्यटकको अनुभवको हिस्सा बनाउन सकिन्छ । भेडेटारलाई एउटा ‘घुम्ने ठाउँ’बाट ‘बस्ने, अनुभव गर्ने र सम्झनामा बोकेर फर्किने गन्तव्य’ बनाउन सकिनेमा स्थानीय जागरुकता अझ बढी आवश्यक छ ।
भेडेटारको आकाशमा नयाँ आयाम
भेडेटारको पहिचान कुनै एकदिन बनेको आयाम होइन । चिसो मौसम, हुस्सु, हरियाली, पहाड र तराईको संगमले दशकौंदेखि यसले पर्यटकका मनमा बास बसेको हो । अहिले त्यसै पहिचानमा एउटा नयाँ पाइला थपिएको छ– स्काइवाक । कुनै पर्यटक सिसामाथि डराउँदै पाइला राख्छ ।
अर्को केही बेरमै हाँस्दै तस्बिर खिच्छ । कोही तलको गहिराइ हेरेर झस्किन्छ । कोही त्यही गहिराइलाई पृष्ठभूमि बनाएर सम्झनलायक तस्बिर बनाउँछ । कोही हिमाल खोज्छ, कोही सप्तकोशी नियाल्छ । कसैका लागि यो साहसिक अनुभव हो, कसैका लागि प्रकृतिसँग नजिक हुने अवसर । सबैका अनुभवको केन्द्रमा भेडेटार नै आउँछ ।
स्काइवाकले भेडेटारको पुरानो पर्यटकीय परिचयलाई मेटेको छैन । यसमा नयाँ पुस्ताको आकर्षण पनि थपिएको छ । प्रकृतिले बनाएको गन्तव्यमा मानिसले बनाएको संरचनाले नयाँ अर्थ थपेको छ । सिसाको ४१ मिटर लामो पुलमा टेकिएका प्रत्येक पाइला पर्यटकको यात्रामात्रै होइन, त्यो भेडेटारको बदलिँदो पर्यटकीय आकर्षण पनि हो ।
हिजो भेडेटार आउने पर्यटकले हुस्सु, चिसो हावा र पहाड हेरेर फर्किन्थे । आज उनीहरू त्यही पहाड आकाशमा झुन्डिएर हेर्न थालेका छन् । सायद यही नै भेडेटारको नयाँ आयाम हो । जहाँ प्रकृतिको सौन्दर्य हेर्नमात्र होइन, त्यसलाई महसुस गर्न आकाशको बाटो रोज्न सकिन्छ ।

सिसाको पुलबाट देखिने पूर्व
स्काइवाकको सबैभन्दा ठूलो सम्पत्ति यसको संरचना र वरिपरिको भूगोल पनि हो । मौसम सफा भएका बेला यहाँबाट सप्तकोशी नदीको दृश्य देखिन्छ । पूर्वी तराईका फराकिला फाँट आँखाअगाडि फैलिएका हुन्छन् । पहाडका बस्ती, हरियाली डाँडाकाँडाबीचको प्राकृतिक संरचना निकै आकर्षक लाग्छ ।
अझ आकाश खुलेका दिन सगरमाथासहित मकालु, कञ्चनजं घा, कु म्भकर्ण लगायत हिमशृ ंखलासमे तदे खिने स्थानीय बताउँछन् । सूर्योदय र सूर्यास्तका समय स्काइवाकबाट देखिने दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ । यहाँको स्काइवाकको सबैभन्दा ठूलो विशेषता यही हो । टावरमाथिबाट हेर्दा हिमाल, पहाड र तराई एकै नजरमा देखिन्छन् । चारैतिरको हरियाली र तलका बस्ती हेर्दा भेडेटार ‘किन यति लामो समयदेखि पर्यटकको रोजाइमा छ ?’ भन्नेझैं लाग्छ ।
भेडेटार समुद्री सतहबाट करिब १ हजार ४ सय मिटर उचाइमा छ । धनकुटा दक्षिणी प्रवेशद्वारका रूपमा परिचित भेडेटार धराननजिक भएकाले पनि पर्यटकको सहज पहुँचमा छ ।
तराईको गर्मीबाट केही घण्टामै चिसो पहाडमा पुग्न सकिने भएकाले भेडेटारको आफ्नै मौसमी आकर्षण छ । यसमा स्काइवाक थपिएपछि प्रकृतिलाई हेर्नेमात्र होइन, त्यससँग प्रत्यक्षजोडिएर अनुभव गर्ने अवसरसमेत थपिएको छ ।
सम्बन्धित समाचार
दुई वर्षदेखि प्रदेश सरकारमै फाइल रोकिँदा धनगढीको अत्याधुनिक बसपार्क निर्माण अन्योलमा
युरेनियम उत्खननको अधिकार सरकारमातहत लैजाने तयारी
भुक्तानीको चक्करले घण्टाघरका घडी धर्म छोड्दै
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
आणविक नीतिमा पुनर्विचारको संकेतपछि जापानमा चिन्ता
‘ब्रोड पिक’मा निधन भएकामध्ये ३ नेपालीको शव काठमाडौं ल्याइयो
मधेश प्रदेशमा प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरूको निर्माण र पूर्वतयारी तीव्र






