भुक्तानीको चक्करले घण्टाघरका घडी धर्म छोड्दै

वीरगन्ज । शहरको शालीन संरचना त्यसका चारै पाटामा जडित घडी । ती चार वटै घडीले देखाउने एउटै समय मनमोहक धरोहर ‘घण्टाघर’ को पहिचान हो । यसो भनिरहँदा वीरगन्जको मुटुमा रहेको घण्टाघरको हकमा भने सहि नहुन सक्छ । कारण वैभव संरचना र मनमोहक धरोहर भएर पनि यसका चार दिवालमा जडित घडीको भने धर्म ढल्पलाएको छ । अर्थात घण्टाघरका चारवटै घडीको एउटै समय छैन ।

‘वीरेन्द्र प्रभात घडी’ का नामले चिनिने वीरगन्जको घण्टाघरका घडी पछिल्लो समय स्थानीय सरकारको मातहतमा हेलचेक्र्याईमा परेका छन् । यसको नियमित रेखदेख र उचित व्यवस्थापन ‘वीरगन्ज महानगर सरकार’को जिम्मामा छ । तर महानगरको चासो कम भएको स्थानीयको गुनासो छ । मर्मत, संचालन र रेखदेखको जिम्मेवारी दोस्रो पक्षसँग सम्झौता गरी महानगरले बाराको कलैया उपमहानगरपालिकाका हृदयराज गौतमलाई दिएको छ । तर महानगरले भुक्तानी नदिएपछि गएको बैशाखदेखि लिखित जनाऊ दिई भुक्तानी कुरेर बसेको उनले बताए । आफ्नो पैसा पाए निरन्तरता दिन आफूलाई कुनै समस्या नभएको पनि उनको भनाइ छ ।

सम्झौता अनुसार महानगरले कुल ६ लाख ९२ हजार भुक्तानी नगर्दा गौतमले अब वीरगन्जको घण्टाघरको घडी रेखदेख र मर्मत गर्न छोडेको खुलेको छ । पारिश्रमिक वापतको २ लाख ४० हजार र मेसिन वापतको ४ लाख ५२ हजार रुपैयाँ नपाएको गौतमको जिकिर छ ।

कमजोरी हटाई घडी संचालन हुन्छ : नगरप्रमुख आलम
महानगरको अहिले नेतृत्व सम्हालिरहेका महानगर प्रमुख इम्तियाज आलमले वीरगन्जको घण्टाघरको घडी महानगरले चलाउने दावी गरे । कुनै कारणवश बन्द हुन थालेको हुन सक्छ, त्यो समस्यालाई न्यूनिकरण गरी घडीको धर्म निर्वाह हुने गरी महानगर अगाडी बढ्छ उनले भने । महानगरवासीले यस बिषयमा चिन्ता लिन नपर्ने उनको तर्क छ । बर्षात्को समयमा केही गढवढी भएको हुन सक्ला उनले तर्क गरे । अन्य समस्या भए बुझेर हल हुन्छ उनले बताए ।

घडीको साइनो जापानी विद्यार्थीको खाजा खर्चसम्म
जापानको तोत्तोरि प्रिफेक्चरको पश्चिमी भागमा रहेको सुन्दर सहर ‘युनागो’ का विद्यार्थीहरूले एक दिनको खाजा खर्च कटाएर संकलित रकमबाट खरिद गरिएका ४ वटा घडी जापान जेसिजले यहाँका तत्कालिन जेसी सागरमान श्रेष्ठ नेतृत्वको टोलीलाई हस्तान्तरण गरेको यहाँका ज्येष्ठ नागरिकहरु मध्ये मधेश विश्व विद्यालयका उपकुलपति समेत रहेका प्राध्यापक डा.दीपक शाक्यले राजधानी दैनिकसँग बताए ।

वीरगन्जका चर्चित समाजसेवीहरु भुपेन्द्रलाल नेपाली, बाबुलाल चाचान लगायतको अगुवाईमा तत्कालिन वीरगन्ज नगरपालिकाको साथ लिइ सन् १९७९ फेब्रुअरी ८ तारिखमा घण्टाघर निर्माण भएपछि जापानबाट ल्याइएका ती घडी जडित गरिएको उनको भनाइ छ । तब घण्टाघरले वीरगन्जमा मात्र नभई आसपासका नागरिकलाई पनि प्रत्येक घण्टा आवाज सहित समय बताउने गरेको यहाँका ज्येष्ठ नागरिकहरु अझै बताउँछन् । तीन दशक बढी निरन्तर चलेका घडी विस्तारै मर्मत गर्न पर्ने भएपछि नेपाली मर्मतकर्ताको रेखदेखमा परेका हुन् ।

जापानीज घडिको अवशेष जेनजीको रापमा ध्वस्त
२०७२ साल पछि ठप्पै रहेका वीरगन्जको घण्टाघरका घडी त जसोतसो बाराका गौतमले चलाए । तर जापानी साइनो भने मेटाएर नयाँ मेसिन छिमेकतिरबाटै व्यवस्था गरी उनले चलाएको उनले पनि स्वीकारे । जापानी घडीका ओरजिनल पार्टपूर्जा भने नगरपालिकाकै जिम्मा लगाएको गौतमको भनाइ छ । तर महानगरले ऐतिहासिक धरोहरको पहिचान बोकेका घडीको इतिहास बचाउन सकेन । गतवर्षको जेनजी आन्दोलनले महानगरको सम्पूर्ण संरचना ध्वस्त बनाउँदा ती पुराना घडी पनि जलेको महानगरको दावी छ ।

कर्मचारीले स्थानीय तह हाँकेका समयमा सुरुमा नेपाल टेलिकमले र २०७८ सालमा वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगीको सकृयताले घण्टाघरका घडीले समय दिंन थालेको वीरगन्जका अगुवा प्रायः सबै जानकार छन् । ०७९ सालको निर्वाचनपछि महानगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि पुनः ०८१ साल मंसिर २५ गते घडीको नियमित चेकजाँच, आवश्यक मर्मत–सम्भार र सञ्चालन गर्ने थप सम्झौता उनै बाराका गौतमसँग भएपछि वीरगन्जको घण्टाघरका घडीले आफ्नो धर्म निर्वाह गरिरहेका थिए ।

महानगर र गौतम बीचको सम्झौता
महानगरपालिकाले घडीको मर्मत–सम्भार र नियमित सञ्चालन गर्न वार्षिक २ लाख ४० हजार रुपैयाँमा सम्झौता गरेको उल्लेख छ । सम्झौतामा ०८१ साल मंसिर २५ गतेदेखि एक वर्षको म्याद तोकिएको छ । तथापि काम सन्तोषजनक भए करार अवधि थप गर्दै जाने भनिएको छ ।

प्रथम र दोस्रो पक्षका बीच भएका विभिन्न १० वटा बुँदे सम्झौतामा मर्मत–सम्भारका क्रममा आवश्यक पर्ने सामग्री महानगरपालिकाले उपलब्ध गराउने प्रष्टै भनिएको छ । यस्तै, मानवीय नियन्त्रणभन्दा बाहिरका घटना भूकम्प, चट्याङ, विद्युत् आपूर्तिमा समस्या, हावाहुरी वा इलेक्ट्रिक सर्ट भएर घडी सञ्चालनमा समस्या आएमा त्यसको जिम्मेवारी महानगरपालिकाको नै हुने पनि सम्झौतामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने चेतावनी