रसुवा । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड आउने तीर्थयात्रीलाई लक्षित गरी पदमार्गमा खोलिएका होटल तथा ‘लज’ को सेवा शुल्क निर्धारण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वयमा सरोकारवाला पक्षसमेतको सहभागितामा गत वर्षको जस्तै चिया, नास्ता, खाना तथा लजवापतको शुल्क निर्धारण गरिएको हो ।
निर्धारित शुल्कअनुसार धुन्चे–घट्टेखोला आसपासमा प्रति कप रु ३० हुँदै गोसाइँकुण्डमा रु ८५, दालभात–तरकारीको रु २७५ हुँदै रु ६०० तथा सुतेको रु ३०० हुँदै रु ६०० सम्म शुल्क लाग्ने छ । बजार अनुगमन समितिका संयोजक एवं रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार तोकिएकोभन्दा बढी रकम लिन नपाइने र सबैले देख्ने गरी सेवा शुल्क टाँस्नुपर्ने व्यवस्था गरिएको छ ।
यात्रुसँग बढी शुल्क लिएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गर्दै उनले भने, “पवित्र गोसाइँकुण्ड मेला भर्न आउने तीर्थयात्रुको पक्षमा निर्णय गरिएको छ । सरोकारवाला सबै पक्षको सहयोग र सहकार्यमा सुरक्षा, स्वास्थ्य, यातायात, सरसफाइ तथा खाद्यान्न व्यवस्थापनलगायतका तयारी पूरा भएको छ । वर्षाको समयमा मौसम ख्याल गरी आउनुहुन सबैमा अनुरोध छ ।”
यसवर्ष १० हजारभन्दा बढी यात्रु गोसाइँकुण्ड मेला भर्न आउने अपेक्षा गरिएको धुन्चेस्थित बौद्ध धर्मगुरू लामा रेञ्जन घलेले जानकारी दिए । यसैगरी, संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले सरकारी, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज र पेसा व्यवसायीको समेतको सहयोग, समन्वयमा र सहकार्यमा तीर्थयात्रुलाई राहत दिनेगरी आवश्यक व्यवस्था मिलाइसकिएको बताए ।
सम्बन्धित समाचार
ठेकेदारको लापरवाहीले वर्षौंदेखि अलपत्र छ फास्ट ट्रयाक
दाङमा सकियो ९४ प्रतिशत रोपाइँ
शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित
माछापालनबाट मासिक २५ लाख आर्जन
अलैँची रोप्न व्यस्त इलामका किसान
मूल बीउका लागि कोदोखेती
साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
खपटे किरोे र सिलसाको सङ्क्रमणले मौरीका घार रित्तिँदै






