इलाम । इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । चालु आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममा अपाङ्गता भएका नागरिक घरपरिवारलाई बीमा कार्यक्रम समावेश गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको हो ।
कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १२ लाख विनियोजन गरेको छ । अपाङ्गता भएका व्यक्ति र उनको परिवारको पाँच जनासम्मको स्वास्थ्य बीमाबापतको रकम गाउँपालिकाले तिरिदिने माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले बताए ।
‘अपाङ्गता भएका व्यक्ति र उनको परिवारको सदस्यसमेत गरी बढीमा पाँच जनासम्म सदस्यको वार्षिक प्रतिपरिवार तीन हजार ५०० गाउँपालिकाले तिरिदिनेछ’, उनले भने, ‘तोकिएको सीमासम्म बिमितले निःशुल्क सेवासुविधा पाउनेछन् ।’
स्वास्थ्य बीमाले पाँच जनाको परिवारलाई एउटा एकाइ मानेको र पाँच जनाभन्दा बढी सदस्य रहेको हकमा प्रतिव्यक्ति ७०० थप्नुपर्नेछ । गाउँपालिकाले थालेको अपाङ्गता भएका नागरिक घरपरिवारलाई बीमा कार्यक्रमले अपाङ्गता भएका विपन्न तथा गरिब परिवारलाई राहत पुग्ने अपाङ्ग एकता समाज माङसेबुङका अध्यक्ष धनकुमार आङदेम्बेले बताए ।
‘अपाङ्ता भएका व्यक्तिलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु हुनु सकारात्मक कदम हो’, उनले भने, ‘आर्थिक अभावमा उपचारको समस्या झेल्दै आएका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमाले उपचारमा पहुँच बढाउनुका साथै परिवारमाथिको आर्थिक भारसमेत कम गर्नेछ ।’
गाउँपालिकामा ३५५ अपाङ्गता भएका व्यक्ति रहेको माङसेबुङका अपाङ्गता सहायता सहजकर्ता मनिहाङ्मा लिम्बूले जानकारी दिए । उनीहरुमध्ये ‘क’ वर्ग अर्थात् पूर्ण असक्त अपाङ्ता भएका व्यक्तिको सङ्घीय सरकारले नै स्वास्थ्य बिमा गर्दै आएको छ । गाउँपालिकाले अन्य वर्गका अपाङ्गता भएका व्यक्ति र उनको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिनेछ ।
सम्बन्धित समाचार
कोशीमा विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’bout नीति संवाद
मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन
अलैँची रोप्न व्यस्त इलामका किसान
विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने
बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक






