गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान हाल गहुँ काट्न, कुट्न, केलाउन र थन्क्याउनमा व्यस्त छन् ।
चुमभ्यालीको छेकम गाउँका दोर्जे लामाका अनुसार पुरुषले गहुँ काट्ने र कुट्ने तथा महिलाले केलाउने र थन्क्याउने गर्छन् । गहुँ भित्र्याएपछि केही दिनमै तोरी र फापर काट्न, झाँट्न र कुट्न थालिन्छ ।
गत असोजमा लगाइएको गहुँ, फापर र तोरी अहिले भित्र्त्याउने समय भएको लामाले बताउनुभयो। चुमभ्यालीमा साउनको पहिलो सातादेखि गहुँ काट्न सुरु गरिएको हो। यहाँ बाली भित्र्याउनुअघि स्थानीय लामाबाट साइत जुराउने परम्परा छ ।
चुमभ्यालीमा साइत जुराएर बाली भित्र्त्याएमा सहकाल रहने जनविश्वास रहेको स्थानीय प्रमुख लामा पासाङ फुञ्जोले बताए। यहाँ सबै गाउँमा एकैपटक बाली काटिँदैन। छेकम, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, पाङदुन, छुले र निलेका बासिन्दाले आलोपालो गरेर बाली थन्क्याउने गरेका छन्।
भौगोलिक रूपमा गाउँहरू टाढा छन् चार घण्टा पैदल हिँडेर पनि गाउँले एकअर्काको खेतबारीमा काम गर्न पुग्छन् । अबको एक महिनामा चुमभ्यालीका सबै गाउँमा गहुँ, फापर र तोरी भित्र्याइसक्नुपर्नेछ ।
चुमनुब्री–७ छेकम्पार चीनको स्वशासित क्षेत्र सिचाङको सीमा क्षेत्रमा तीन हजार ३०० देखि तीन हजार ५०० मिटरको उचाइमा छ । यहाँ गहुँ पाक्न ११ महिना लाग्छ ।
“यहाँ गहुँ, फापर र आलु मात्र खेती गर्ने गरिन्छ,” प्रमुख लामा फुञ्जोले भने, “बारीमा गहुँ र फापर आलोपालो गरी बालीचक्र मिलाएर लगाउने चलन छ।”
एक वर्षमा एकपटक मात्र खेती हुने चुमभ्यालीमा ११ महिना लगाएर उत्पादन भएको गहुँले स्थानीयको वर्षभरको आवश्यकता धान्ने गरेको छ । यहाँ उत्पादित गहुँ र फापर गुणस्तरीय मानिने भएकाले काठमाडौँ तथा विदेशमा बस्ने लामा गुरुहरूले समेत खरिद गर्ने चलन रहेको प्रमुख लामाले बतए ।
खेतीमा बढ्दो मेसिनको प्रयोग
हिमाली भेगको परम्परागत खेती प्रणालीमा पछिल्लो समय प्रविधिको प्रयोग पनि बढ्दै गएको छ । चुमभ्यालीका किसानले करिब १० वर्षदेखि तिब्बती बजारबाट ल्याइएका मेसिनमार्फत गहुँ काट्ने र कुट्ने गरेका छन् ।
चुमभ्यालीका अधिकांश घरमा गहुँ काट्ने र कुट्ने मेसिन रहेका चुमनुब्री–७ का वडाध्यक्ष टासी दोर्जे लामाले बताए ।
चुमभ्यालीमा उत्पादित गहुँ र फापर मुख्यतः ढिँडो बनाउन प्रयोग हुन्छ। स्थानीयवासीले ढिँडोसँगै रोटी र चम्पा बनाउन पनि गहुँ प्रयोग गर्छन् । याक र नाकको दानाका साथै घरेलु मदिरा उत्पादनमा गहुँ प्रयोग हुने गरेको छ ।
सम्बन्धित समाचार
अलैँची रोप्न व्यस्त इलामका किसान
दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा
अमेरिकी डलर : न बढ्यो, न घट्यो
शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित
कैलालीमा दशैँअघि लालपुर्जा बाँड्ने तयारी
आजबाट सवारीसाधनको कुम्भमेला
आज एक अमेरिकी डलर किन्न तिर्नु पर्छ १५३ रुपैयाँ, अन्य मुद्राको कति ?
स्पेनमा शताब्दीपछिको सूर्यग्रहण






