सुनसरी (इनरुवा) । सुनसरीको इनरुवा–७ स्थित ग्रीनसिटी परिसरमा करिब १२ हजार विभिन्न प्रजातिका बिरुवा रोप्ने अभियान सुरु भएको छ। रोटरी क्लब अफ पाटन वेस्टको सन् २०२६–०२७ को वातावरण संरक्षण अभियानअन्तर्गत वृक्षरोपण तथा वृक्ष संरक्षण कार्यक्रम सञ्चालन गरिएको हो।
अभियानमा इनर ह्वील क्लब अफ पाटन सह–आयोजक तथा डीएन ग्रुप अफ कम्पनीज प्रायोजकका रूपमा सहभागी छन्। ग्रीनसिटी परिसरलाई हरियाली तथा वातावरणमैत्री क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम आयोजना गरिएको बताईएको छ ।

कार्यक्रमको अध्यक्षता डीएन ग्रुप अफ कम्पनीजका सञ्चालक नेत्रप्रसाद चम्लागाईंले गरेका थिए। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रो. विष्णुबहादुर कार्की प्रमुख अतिथि रहेका कार्यक्रममा रोटरी क्लब अफ पाटन वेस्टका अध्यक्ष रो. रमेश अधिकारी र इनर ह्वील क्लब अफ पाटनकी अध्यक्ष माया नगरकोटी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रो. विष्णुबहादुर कार्कीले वातावरण संरक्षण वर्तमान पुस्ताको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको जिम्मेवारीसमेत भएको बताए। उनले वृक्षरोपण गरेर मात्र अभियान सफल नहुने भन्दै रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाहमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
रोटरी क्लब अफ पाटन वेस्टका अध्यक्ष रो. रमेश अधिकारीले क्लबको सन् २०२६–०२७ को वातावरण संरक्षण अभियानअन्तर्गत करिब १२ हजार बिरुवा रोप्ने लक्ष्य राखिएको जानकारी दिए। वृक्षरोपणलाई एकदिने कार्यक्रमका रूपमा सीमित नगरी बिरुवाको संरक्षण र वातावरणीय सचेतना विस्तारमा समेत निरन्तर काम गरिने उनले बताए।
इनर ह्वील क्लब अफ पाटनकी अध्यक्ष माया नगरकोटीले वातावरण संरक्षणमा महिला तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। उनले वृक्षरोपणसँगै बिरुवाको संरक्षण र नियमित हेरचाहमा सबै पक्षको सहकार्य हुनुपर्ने धारणा राखिन्।

त्यस्तै, कार्यक्रमका अध्यक्ष तथा डीएन ग्रुप अफ कम्पनीजका सञ्चालक नेत्रप्रसाद चम्लागाईंले ग्रीनसिटी परिसरलाई हरियाली, स्वच्छ र वातावरणमैत्री क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताए। वृक्षरोपणसँगै बिरुवाको संरक्षणमा पनि निरन्तर काम गरिने उनले जानकारी दिए।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणको प्रतिबद्धता जनाएका थिए।
रोटरी क्लब अफ पाटन वेस्टको पहलमा सुरु भएको अभियान अन्तर्गत ग्रीनसिटी परिसरमा करिब १२ हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ। वृक्षरोपणसँगै बिरुवाको संरक्षण, वातावरणीय सचेतना र हरियाली प्रवर्द्धनलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार
गछिया युवा समाजको वार्षिकोत्सवमा ६० विद्यार्थीलाई शैक्षिक सामग्री
इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोपिँदै
शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक, विद्यार्थी पुरस्कृत, चारजना सम्मानित
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन
पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि ३ दिन म्याद थप
बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक
गरिमा हत्या प्रकरण: मध्यरातमा ५ बुँदे सहमतिपछि रोकियो आन्दोलन






