सरकार र सांसदका व्यवहारले रास्वपा सभापति चिन्तित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारका गतिविधि र पार्टीका सांसद तथा नेताहरूको व्यवहारप्रति चिन्तित देखिएका छन् ।

सरकारका निर्णय, मन्त्रीका अभिव्यक्ति र सांसदका गतिविधिले पार्टीमाथि प्रश्न उठ्न थालेको संकेत गर्दै लामिछानेले आफ्नै पार्टीका नेताहरूलाई लोकतन्त्र र जनविश्वास कमजोर हुने कुनै पनि काम नगर्न सचेत गराएका छन् ।

काठमाडौंमा आइतबार आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारमा रहेका मन्त्री र सांसदलाई जनताले दिएको जिम्मेवारी सम्झाउँदै ‘हाम्रा कारणले लोकतन्त्र खतरामा नपरोस्’ भन्दै सचेत गराएका हुन् ।

रास्वपाले सांसद तथा अगुवा कार्यकर्तालाई पार्टी निर्माण र संगठन विस्तारसम्बन्धी प्रशिक्षण दिइरहेका बेला प्रधानमन्त्री शाह भने अनौपचारिक भ्रमणका क्रममा मुस्ताङमा छन् । लामिछानेले प्रधानमन्त्रीको भ्रमणलाई प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि ‘हामीलाई जनताले किन पठाएका हुन् र हाम्रो प्राथमिकता के हो ?’ भन्ने प्रश्न गर्दै सरकार र पार्टी नेतृत्वलाई सांकेतिक रूपमा ध्यानाकर्षण गराएका छन् ।

उनले जनताले रास्वपालाई दिएको विश्वास, उम्मेदवारीको आवश्यकता र पार्टीले लिएको संकल्प नभुल्न नेताहरूलाई आग्रह गरे । सरकारका निर्णय तथा विभिन्न मन्त्रालयले अघि बढाएका कानुन संशोधनका प्रावधानलाई लिएर राजनीतिक परिवर्तन र लोकतन्त्र कमजोर हुन सक्ने आशंका उठिरहेका बेला लामिछानेको यस्तो अभिव्यक्ति आएको हो ।

प्रशिक्षणका क्रममा लामिछानेले पार्टी र सरकार सञ्चालनमा रहेका नेताहरूलाई पटक–पटक जिम्मेवारीबोध गराएका थिए । रास्वपामाथि जनताले परीक्षणका रूपमा हेरिरहेको भन्दै उनले पार्टीप्रतिको आशंकालाई व्यवहार र गतिविधिबाट चिर्नुपर्ने बताए ।

आफ्ना कारणले पार्टीको शिर नझुक्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै उनले लोकतन्त्र र जनविश्वास जुनसुकै बेला जोखिममा पर्न सक्ने संकेत गरे । ‘विभिन्न संस्थाहरू भत्किए भने लोकतन्त्र कमजोर हुन्छ,’ लामिछानेले भने, ‘तिमीहरूको हातमा लोकतन्त्र गयो भने भन्नेछन्, त्यसमा हामी सचेत हुनुपर्छ ।’

उनले पार्टीका नेता तथा कार्यकर्तालाई विगतको आलोचनामा मात्र अल्झिनुको सट्टा आगामी दिनको योजना बनाउनसमेत निर्देशन दिए । विगत ३५ वर्षका राजनीतिक कमजोरी देखाएर कचकच गर्ने अवस्थामा रास्वपा नरहेको उनको भनाइ थियो । ‘बितेको ३५ वर्षलाई कचकच गर्ने होइन, अबको ३५ वर्षको योजना ल्याउनुहोस्,’ उनले भने ।

पार्टी ठूलो बनेपछि चिन्ता
रास्वपामा विभिन्न क्षेत्र र पृष्ठभूमिका व्यक्तिहरूको प्रवेशले पार्टीप्रति जनताको चासो बढेको लामिछानेले बताए । तर फरक पृष्ठभूमिका व्यक्तिहरूको प्रवेशसँगै पार्टी र सरकार सञ्चालनमा त्यसको प्रभाव पर्न सक्ने जोखिमतर्फ उनले संकेत गरे ।

यद्यपि, पार्टीका नेताप्रति आफू असन्तुष्ट नरहेको उनले स्पष्ट पारे । रास्वपामा क्षमतावान् व्यक्तिहरू रहेकोमा गर्व लागेको उल्लेख गर्दै ठूलो पार्टी बनेपछि जिम्मेवारीसँगै चिन्ता पनि बढेको बताए ।

‘म तपाईंहरूसँग असन्तुष्ट छैन । एकसेएक होनहार हुनुहुन्छ, गर्व गर्छु । तर ठूलो पार्टी भएकाले थोरै चिन्ता चाहिँ लाग्दो रहेछ,’ उनले भने ।

लामिछानेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन केन्द्रमा मात्र सीमित नराख्न निर्देशन दिए । गाउँ, टोल र बस्ती तहसम्म पुगेर संगठन विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

स्थानीय तहमा पार्टी बलियो बन्न नसके जनताका अपेक्षा पूरा गर्न कठिन हुने र त्यसले रास्वपाप्रति थप निराशा पैदा गर्न सक्ने उनले चेतावनी दिए । सरकारमा रहे पनि वा प्रतिपक्षमा रहे पनि जनताको पक्षमा प्रभावकारी राजनीतिक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

सरकारका केही निर्णय विवादास्पद हुन सक्ने भए पनि रास्वपाले सुशासनको पक्षमा निरन्तर आवाज उठाउनुपर्ने उनले बताए । सरकारका कामकारबाही’bout जनताले उठाउने प्रश्नको जवाफ पार्टीसँग हुनुपर्नेमा उनले जोड दिए ।

रास्वपाले अब संगठन विस्तारसँगै स्थानीय तहसम्म राजनीतिक उपस्थिति बलियो बनाउने र जनतासँग प्रत्यक्ष संवाद बढाउने रणनीति लिनुपर्ने लामिछानेको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

हिमालय इङ्गलिस स्कुलमा निःशुल्क आँखा–दन्त शिविर