काठमाडौं । नयाँ सत्तासमीकरणको सहमतिपछि कोशी प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रालय भागबन्डामा सहमति गरेका छन् । केन्द्रीय नेतृत्वको हस्तक्षेपछि ९ वटा मन्त्रालय रहेको कोशीमा ५–४ को सहमति गरेका हुन् ।
कोशी प्रदेशमा नेकपाले ४ वटा मन्त्रालय र एउटा राज्यमन्त्रीमा दाबी गरेको थियो । तर, नेकपा एमाले भने ३ वटा मन्त्रालय र एउटा राज्यमन्त्रीको जिम्मेवारी दिन तयार थियो । प्रदेश तहमा नेताहरूबीच छलफल हुँदा सहमति नभएपछि केन्द्रीय तहबाटै सहमति भएको हो ।
नेकपा एमाले स्रोतका अनुसार, कोशीमा मन्त्रालय भागबन्डा मिलाउन नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई फोन समेत गरेका थिए । ‘साथीहरूले साह्रै चित्त दुखाए भनेपछि उहाँ (केपी शर्मा ओली)ले मिलाउला भन्नु भएछ,’ एमाले स्रोतले भन्यो, ‘त्यसपछि ४ वटा दिएर मिलाउनु भनेर मुख्यमन्त्रीलाई भन्नु भएको छ ।’
मन्त्रालयको संख्या टुङ्गो लागे पनि कुन-कुन मन्त्रालय लिने भन्ने टुङगिन बाँकी छ । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको छलफलपछि सबै विषय टुङ्गो लाग्ने बताए । नेकपाले नेपाली कांग्रेस सरकारबाट बाहिरिँदा छाडेको मन्त्रालय बाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय माग गरिरहेको छ ।
कांग्रेसले भौतिक पूर्वाधारसहित चार वटा मन्त्रालय पाएको थियो । नेकपाले आर्थिक मामिलासहित चार वटा मन्त्रालय खोजिरहेको हो । आइतबारसम्म भागवण्डा टुङ्गो लगाएर सोमबार नयाँ मन्त्रीको शपथ गराउने तयारी दुई दलको छ । नेकपा दलका नेता आङ्बोले सोमबारसम्म सरकार विस्तार गर्ने तयारी भएको बताए ।
प्रदेशमा ४ वटा मन्त्रालय पाउने भएपछि नेकपाले पनि आन्तरिक भागबन्डा गरेको छ । नेकपाभित्र रहेको माओवादी केन्द्र पक्षले ३ र पूर्वनेकपा एकीकृत समाजवादीले १ मन्त्रालय लिने सहमति गरेका हुन् ।
सम्बन्धित समाचार
हट्यो लहानमा लगाइएको कर्फ्यु, गोलबजारको भने यथावत्
गोलबजारको कर्फ्यु हटाइयो
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?
प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दै
मन्त्रिपरिषद् बैठकका ५ निर्णय
साढे ५ महिनापछि पूर्वप्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै, भव्य स्वागतको तयारी





