काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विपद्मा परी ९ सय ७७ जना अझै बेपत्ता रहेको जनाएको छ ।
भोटेकोशी बाढी अपडेट
प्राधिकरणको प्रतिवेदनअनुसार बाढी र पहिरोका कारण चितवनमा सबैभन्दा बढी २ सय २१ जनाको शव फेला परेको छ । त्यस्तै, नवलपरासी पूर्वमा १ सय ३४, गोरखामा ४६ (विभिन्न मानव अंगसहित), नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ । विपद्मा परी ७३ जना घाइते भएका छन्, जसमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना रहेका छन् ।
बाढीका कारण सम्पर्कविहीन हुनेको सङ्ख्या ९ सय ७७ पुगेको छ । यसमा सुरक्षा निकायका ८६ जना (नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३), भन्सारका १५ र अध्यागमनका ४ जना कर्मचारी रहेका छन् । बेपत्ता हुनेमा ५ सय १७ जना विदेशी नागरिक र नेपाल घुम्न आएका १ सय २७ जना गैरआवासीय नेपाली समेत रहेका छन् । रसुवाबाट मात्रै १ सय ६१ जना बेपत्ता भएको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
खोज तथा उद्धार कार्यका लागि सरकारले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । हालसम्म १४ हजार ८२९ सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन्, जसमा नेपाली सेनाका ६ हजार ६९८, नेपाल प्रहरीका ४ हजार ४७३ र सशस्त्र प्रहरी बलका ३ हजार ६ सय ५८ जना रहेका छन् ।
उद्धार टोलीले हालसम्म ३ हजार ७ सय ४२ जनाको जीवितै उद्धार गरेको छ, जसमा २५ जना विदेशी नागरिक समेत छन् । उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ७८ वटा हवाई उडान भरिएको जानकारी दिइएको छ ।
नेपाल सरकारले प्रभावित जिल्लाहरूका लागि तत्काल नगद राहत उपलब्ध गराएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । राहत सामग्री अन्तर्गत ३० ट्रक खाद्यान्न, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र कम्बल प्रभावित क्षेत्रमा पठाइएको छ । साथै, दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत ४ पटक खाद्यान्न र गैरखाद्यान्न सामग्री ढुवानी गरिएको छ । प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन थप सञ्चार सेटहरू समेत पठाइएको छ ।
नुवाकोटमा अत्यावश्यक इन्धनको पर्याप्त मौज्दात रहेको प्राधिकरणले जनाएको छ । त्यहाँका विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात छ भने हवाई उडानका लागि ९ हजार लिटर हवाई इन्धन तयारी अवस्थामा राखिएको छ । थप इन्धन आवश्यक परेमा तत्काल पठाउने व्यवस्था मिलाइएको छ ।
प्राधिकरणले बेपत्ता भएका विदेशी नागरिक, उपचाररत व्यक्ति र उद्धार गरिएकाहरूको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिएको जनाएको छ ।
सम्बन्धित समाचार
रोकिराखेको बस आफैं गुडेर भीरबाट खस्दा २ महिलाको मृत्यु
जाजरकोटको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जनाको खोजीकार्य जारी
मोरङ कारागार बिहानैदेखि अशान्त, कैदीबन्दीद्वारा नाराबाजी
रहेनन् ‘फूलको आँखामा फूलै संसार’ गीतका सर्जक जनकवि दुर्गालाल श्रेष्ठ
स्कारपियो दुर्घटनामा घाइते लक्ष्मी बडुको निधन
यस्तो छ मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा, २० भदौमा मनाइने
भोटेकोशीमा बाढी आउँदा प्रहरी र सशस्त्रका २८ जना सम्पर्कविहीन
भेटिएनन् आफन्त, रोकिएनन् आँशु






