काठमाडौं । आज शुक्रबार दुई जनाको जीवितै उद्धार भएको माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङमा एउटा शव फेला परेको छ ।
आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीले सुरुङबाट एउटा शव निकालेका छन् । शवको पहिचान हुन बाँकी छ ।
त्रिशूली–३ ए जलविद्युत आयोजनामा नेपाली सेना र सशस्त्र प्रहरीसहितको उद्धार टोलीले उद्धार जारी राखेको छ ।
नेपाल विद्युत प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहितको नेपाल सेना र सशस्त्रको टोली त्यहाँ फसेका थप जनशक्तिको उद्धारका लागि पावर हाउसभित्र प्रवेश गरिसकेको छ ।
टनेलको भित्रसम्म पुगेर फर्किएका सशस्त्र प्रहरीका हवलदार पवन तामाङले भित्र एउटा शव फेला परेको यसअघि नै बताएका थिए ।
उद्धारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीका अनुसार टनेलभित्रको सात तल्लामध्ये पाँच तला हिलोले डुबाएको छ । दुई तला मात्रै देखिएको र त्यहीँ शव फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको थियो ।
दुई जनाको जीवित उद्दार गरिएको ठाउँमा सशस्त्र प्रहरीका डिएसपी अमृत थापाको कमान्डमा १८ जना सीएसएसआरसहितको स्पेसल टिमले विगत १० दिनदेखि उद्दारको काम गरिरहेको छ ।
शुक्रबार बिहान सुरुङमा फसेका दुई जनाको जीवित उद्धार गरिएको थियो । नेपाली सेनाले र सशस्त्रका उद्धारकर्मीले भोटेकोशी विपद्पछि सुरुङमा थुनिएका सञ्जय साह र कवीर महर्जनलाई १०औँ दिनमा जीवित उद्धार गरेका हुन् ।
त्रिशूली–३ ए मा उद्धार कन्टिन्यु रहेको नुवाकोटमा बसेर उद्धार समन्वय गरिरहेका सेनाका एक जना उच्च अधिकृतले भने, ‘उद्धार कार्य जारी छ, हाम्रा उद्धारकर्मी बिहान जीवित भेटिएको स्थानभन्दा अगाडि पसेर त्यहाँ फसेकाहरूलाई खोज्ने प्रयास गरिरहेका छन् ।’
त्रिशूली–३ ए आयोजना नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा सञ्चालित छ । आयोजनाको ड्याम रसुवाको भूभागमा पर्छ ।
सम्बन्धित समाचार
बाढी पहिरोका कारण विभिन्न सडक अवरुद्ध, कतिपय राजमार्गमा राति सवारी साधन चलाउन रोक
बिहान ९ बजेसम्म पहिरोले यी यी सडक छन् अवरुद्ध
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
२० वटा हेलिकोप्टर तयारी अवस्थामा, बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालन
बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुग्यो
बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
भोटेकोशी बाढी सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने






