काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको आज बिहान ९ बजेसम्मको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सो स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो, सोही गाउँपालिका–२ लिपिङस्थित सडक भासिएपछि सो राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै, गोसाइकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी, रोल्पाको थवाङ गाउँपालिका–२ लाद्रेमा पहिरो खस्दा सहिद राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । लाद्रेमा आज बिहान पहिरो खसेको हो ।
सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधानकार्यालयले आग्रह गरेको छ ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ ।
सो सडकमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारीसाधन चलाउन नपाइने जनाइएको छ ।
सम्बन्धित समाचार
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए
ग्यासको कालोबजारी रोक्न खटाइयो प्रहरी
सरकारी गाडी चोरेर बेच्ने थुनामा, किन्ने तारेखमा रिहा
जाजरकोटमा बाढीले घर र पुल बगायो
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
जनआस्थाका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सुवेदी र ढकालको संयुक्त इजलासमा
बाढी पहिरोका कारण विभिन्न सडक अवरुद्ध, कतिपय राजमार्गमा राति सवारी साधन चलाउन रोक






