अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित

काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको खेलमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । अन्नपूर्णले पहिलो सेट २५–२३, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–२३ ले जित्यो ।

दुई खेल खेलेको अन्नपूर्णको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग ३–१ ले पराजित भएको थियो ।

काठमाडौं रेड्सको भने दुई खेलमा यो पहिलो हार हो । रेड्सले पहिलो खेलमा मधेश वारियर्सलाई ३–२ ले पराजित गरेको थियो । अन्नपूर्णका उरनबायर खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

नेपाल भलिबल संघको सहयोग तथा केडिया ग्रुपको आयोजनामा भइरहेको प्रतियोगितामा ६ पुरुष टोली सहभागी छन् । सहभागी टोलीले सिंगल राउन्ड रोबिन लिग खेल्नेछन् । लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् ।

प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । यो नेपाली भलिबलको इतिहासमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि हो । प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपालमा पहिलोपटक आयोजना भएको हो । आइतबारको दोस्रो तथा अन्तिम खेलमा कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित